Logo
  माघ २२, २०७९ आईतबार

महिलाहरुको पाठेघर खस्ने (आङ खस्ने) समस्या के हो, कसरी हुन्छ र यसबाट कसरी बच्ने ?



डा. रामकृष्ण आचार्य ,इलाम।  विभिन्न प्रजनन रोगहरु झैँ पाठेघर खस्नुपनि प्रजनन स्वास्थ्य सम्बन्धि समस्या हो। सामान्य अवस्थामा रहेको भन्दा केहि तल पाठेघर झरेको वा सरेकोलाई पाठेघर खसेको वा आङ खसेको भनिन्छ। नेपालजस्ता गरिब देशहरुका कयौं महिलाहरुको जटिल समस्याका रूपमा रहेको यस रोग १६ देखि ८० वर्ष सम्मका महिलामा देखिए पनि २५ देखि ५० वर्षकका महिलाहरुमा यो रोगले समात्ने गर्छ। समाजमा चेतानाको स्तर अझै नउक्सिसकेको अवस्थामा यो रोगको संख्या अझै स्पष्टरुपमा थाहा हुन सकेको छैन। रोगलागेका महिलामध्ये एक तिहाई भन्दा कम महिला मात्र आफ्नो समस्याको बारेमा नलजाइ अस्पतालसम्म आइपुग्छन्। नेपालका विभिन्न अस्पतालमा निशुल्क नै पनि यसको अप्रेसन हुने गर्छ।
नेपालमा प्रजनन उमेर समुहका महिलाको १० प्रतिशत भन्दा बढी पाठेघर खस्ने रोग भएका महिला छन्। यस्ता ७-८ लाख महिला मध्ये करिब ३०% अर्थात् २ लाख बढी महिलालाई तुरुन्त उपचारको खाँचो छ। यो समस्या समाधान र यसको बारेको शिक्षा घर घर पुर्याउन पुरुषहरुको साथ भए तपाईं हाम्रै हजुरामा,आमा, दिदिबहिनी, श्रीमतीको रोगको पहिचान र उपचार भइ जीवन सहज र सुखी हुने थियो।
यसरी खसेको पाठेघरसँगै यौनमार्गका साथमा मुत्रथैली र गुद्रद्वारको केहि भाग समेत झर्ने हुन्छ। यस्तो अवस्थामा पाठेघरलाई थाम्ने वा पाठेघरले पाउने भर कम हुँदै गई क्रमशः बाहिर निस्कदैँ जान्छ। सुत्केरी भए लगत्तै गरिने गह्रौ भारी उचाल्ने, कडा मेहनत गर्नु पर्ने काम गर्दा र उचित खानपानको अभावमा समस्यालाई झन् बढाउँदै लगेको हुन्छ।
मेडिकल भाषामा पाठेघर खस्ने विभिन्न चरण हुने गर्छ, अर्थात् खसेको पाठेघर वा आङ खसेको अवस्थालाई विभिन्न ३ आधारमा वर्गीकरण गरिएको हुन्छ।
१. पहिलो चरण: पाठेघरले आफ्नो ठाँउ छोड्छ । यो चरणमा पाठेघर योनि भित्रै हुन्छ, बाहिर निस्किएको हुँदैन वा देखिँदैन यश अवस्थामा पाठेघर योनिमार्गको बिच भन्दा माथी नै हुन्छ।
२. दोस्रो चरण: ठाउँ छोडेको पाठेघर योनिको मुख सम्म आउँछ, योनि भित्र देखिन्छ तर योनि बाहिर भने आउँदैन।
३. तेस्रो चरण: पाठेघर खसेर योनिको मुख बाहिर सम्म आउँछ।
पाठेघर खसेको लक्षणहरु
– तल्लो पेटमा भारी भएको महसुस गर्नु
– तल्लो पेट दुख्नु र कम्मर दुखे
– योनीद्वार खुल्ला हुनु वा रहिरहनु
– संभोग गर्दा धेरै पिडा हुनु वा अप्ठ्यारो महसुस गर्नु वा संभोग हुनै नसक्नु
– बस्दा खेरी भकुण्डो माथी बसेको झैँ भान हुनु, बेलून झ योनिबाट केही घरी घरी बाहिर निस्कनु
– योनिबाट रक्तस्राव हुनु र धेरै मात्रमा फोहोर पानी बगेर जानु
– कब्जियत हुनु, दिसापिसाब गर्न अप्ठ्यारो हुनु र भित्र केही तल झरेको झैँ महसुस हुनु
– पटक पटक पिसाबमा संक्रमण भइरहनु
– योनिमा वा योनिबाहिर पाठेघरको मुख देखा पर्नु, हिंड्दा वा भारी उचाल्दा वा निहुरेर काम गर्दा तल्लो पेटमा दबाब पर्न गइ पाठेघरको केही भाग बाहिर निस्केर दुई तिघ्राको बिचमा रगडिए घाउ हुने, कपडा पेटिकोटमा घर्षण भएर पाठेघरको मुखमा पिल्सिएर चोट लाग्ने हुन्छ। जसले दुखाइ र अन्य संक्रमण हुने हुन्छ।
पाठेघर खस्ने कारण
महिलाहरुलाई धेरै अधिकार र लैङि्गक समानताका कानुन बनेतापनि नेपालमा महिला हिंसा र विभेद्का घटनाहरु पढेलेखेका र शिक्षितहरुबाट जानीजानी हुने गरेको प्रशस्तै उदाहरणहरु छन्। शिक्षित र सम्पन्न महिलाहरु आफैं पनि यस्ता भेदभावमा पर्दा र उनीहरु स्वयं चेतनशील नभईदिँदा महिलाहरुमा प्रजनन स्वास्थ्य र अन्य रोगहरुको समस्या झनै बढेको छ। कानुन बनाउनेहरुले महिलाका समस्या बारे महिलाहरु सँगै उचित परामर्श गर्न नसक्नुले महिलाहरु भएका प्रजनन स्वास्थ्य सम्बन्धि सेवाहरुबाट विमुख छन्।
यी त भए नीतिनिर्माताका कुरा,अब कुरा गरौँ पाठेघर खस्ने कारणहरुका बारे।
गर्भधारणको अवस्था (Pregnancy), बच्चापाउने बिराम वा सुत्केरी व्यथा (labor) वा लामो समय लाग्ने यस्तो व्यथा, बच्चा जन्मदा वा बच्चा बाहिर निस्किँदा (Delivery), औजार प्रयोग गरेर गरिने डेलिभरी आदिले पाठेघरलाई शरीरमा अडाएर राख्ने मांसपेशी वा लिगामेन्टहरु कमजोर वा खुकुलो भइ पाठेघरलाई उचित भर दिन नसक्नु पाठेघर खस्ने पहिलो कारण हो। साथै महिलाको उमेर बढ्दै जाँदा एस्ट्रोजेन (Estrogen) नामक हर्मोनको कमिले पनि पाठेघर झर्ने समस्या आउँछ। स्मरण रहोस् नर्मल डेलिभरीमा आङ खस्ने समस्या धेरै भएतापनि अप्रेसन गरि बच्चा जन्माएकामापनि आङ खस्ने समस्या हुने गर्छ।
के कारणले पाठेघरलाई भर दिने मांसपेशी र लिगामेन्टले कमजोर हुन्छन् त आउनुस् बुदागत रुपमा प्रष्ट पारौं:
– सुत्केरी भएको ६ हप्ताभित्रै गह्रौ भारी उठाउनु र गाह्रो काम गर्नु।
– धेरै बच्चा जन्माउनु तथा कम समयको अन्तरालमा बच्चा जन्माउनु
– कम उमेरमै बच्चा जन्माउनु,
– गर्भावस्था र सुत्केरी अवस्थामा चाहिँदो मात्रामा पोषिलो खाने कुरा खान नपाउनु
– असुरक्षित गर्भपतन गराउनु
– प्रसव अवस्थामा बच्चा छिटो जन्मियोस् भनेर महिलाको पेटलाई थिच्नु
– प्रसव अवस्था नहुँदै बढी बल गर्नु
– बच्चा जन्मिसकेपछी आमाको तल्लो पेटमा बेस्सरी थिच्नु
– पाठेघर अडिने गर्भाशयका भित्ता कमजोर हुनु
– बच्चा जन्मिने क्रममा आफसेआफ गर्भाशय भित्ता बाट छुट्टिनु, औजार प्रयोग गरेर बच्चा जन्माउनु, ठुलो बच्चा योनिमार्गबाट नै जन्माउनु
– लामो व्यथा लागेको बेला पेट थिचेर बच्चा जन्माउने कोसिस गर्नु
– गर्भवती हुँदा र सुत्केरी अवस्थामा लगातार खोकी लाग्नु
– गर्भवती अवस्थामा बढी वजन उचाल्नु
– कुपोषण, लामो समय पखाला लाग्नु, रगतको कमि हुनु
– प्रसुतीपछि आराम नगर्नु आदि।
  
 कस्ता महिलाको पाठेघर झर्न सक्दछ?
•पर्याप्त मात्रामा पौष्टिक तत्व भएको खाना खान नपाएका महिलाको
• सुत्केरी भएको ६ हप्ताभित्रै गह्रौ भारी बोक्ने/उचाल्ने महिलाको
• धेरै बच्चा पाएमा र वर्षैपिच्छे बच्चा पाउने महिलाको
• सुत्केरी अवस्थामा चुरोट पिउने (धूम्रपान गर्ने) र धेरै खोकी लाग्ने महिलाको
• कुनैकुनै महिलाको सुत्केरी भएकै बेला र पहिलो बच्चा पाउन साथ पाठेघर तल खस्न सक्दछ। साथै कुनै महिलाको बच्चै नपाइकनै पनि पाठेघर खस्न सक्दछ तर यो अवस्था धेरै कम महिलामा मात्र हुन्छ।
जुनसुकै महिलाको पनि पाठेघर झर्न सक्छ। जस्तै, कलिलो अथवा पाको उमेरकि, दुब्ली-मोटि, तराईमा बस्ने वा पहाडमा बस्ने। तर पाठेघर तल झर्ने समस्यामा थुप्रै कुराले प्रभाव पार्न सक्छ।
अझै विस्तृत चर्चा गरौँ पाठेघर किन झर्छ त?
• महिलाले गह्रौं भारी उठाउँदा तल्लो पेटको मांसपेशीमा बढी जोड पर्न जान्छ, यसै पनि गर्भावस्था र सुत्केरी हुँदा तन्किने यौनअङ्गका मांसपेशी र लिगामेन्टहरु यसरी गह्रौ बोक्दा (घाँस, दाउरा, डोकोमा भारी, पानीको गाग्री बोक्दा) कमजोर हुन्छन् र पाठेघरको भार बहन गर्न असक्षम हुन्छन् फलस्वरूप पाठेघर तल खस्ने गर्छ।
• महिलालाई धेरै लामो समयसम्म सुत्केरी व्यथा लाग्दा र सुत्केरी व्यथा लागेपछि बच्चा पाउने समय नहुँदै धेरै बल गर्न लगाइन्छ वा गरिन्छ यसो गर्नाले पाठेघरका भित्ता र योनि वरपरका मांसपेशीहरुमा धेरै दबाब पर्छ र तन्किन्छन् । यसले गर्दा तत्कालका लागी केही नभएको जस्तो देखिए पनि कालान्तरमा पाठेघर तल झर्न सक्छ।
• बच्चा छिटो निकाल्न कोहि नर्स वा गाउँ घरमा स्वयंसेविका वा अन्यले पेटमाथी थिच्ने गर्दछन् , र त्यस्तै गरि सालनाल निकाल्ने उद्देश्यले पेटमाथी बेस्सरी थिच्ने गर्दछ्न, यसले पाठेघर झर्नुका साथै रक्तस्रावले सुत्केरीको ज्यानै जान सक्छ।
•यहाँसम्मकि दुर्गम तिर त सालनाल नझरे सालको टुप्पोमा बन्चरो झुन्डाएर ज्यानै गएको पनि छ। यी सबै कार्यले अत्यधिक रक्तस्राव हुने र पाठेघरको तुरुन्त अप्रेसन गरेर पुरा पाठेघर फ्याँक्नु बाहेक कुनै उपाय नै नरहने हुन्छ, जुन आफैँमा अर्को जोखिम हो र यसो गर्दै पनि अत्यधिक रक्तस्रावले सुत्केरीको मृत्यु हुन्छ।
•गर्भावस्था एउटा विषेश अवस्था हो, यो बेला आमाले खाने आहार आफुलाई मात्र नभई बच्चाको लागी पनि हो। बच्चाको उचित विकास र वृद्धिमा अत्यधिक पौष्टिक तत्वको आवश्यकता पर्छ। साथै पेटमा बच्चा बोक्ने महिलाले उक्त बच्चाको बहन गर्ने शक्तिका लागी आफैँलाई पनि अत्यधिक पौष्टिक र पर्याप्त मात्रामा खाना खानु पर्छ। यदि यसरी खानु पर्ने आहार र पोषणको कमि भए महिलाको शारीरिक अङ्गहरु कमजोर हुने हुन्छ जस्ले गर्दा पाठेघर खस्ने, रक्तअल्पता हुने, बच्चा खिएर जाने आदि समस्या हुन्छ।
• लामो समय कब्जियत भएर दिसा गर्दा कन्नु पर्ने भए, लामो समय खोकी लागे वा लामो समय उभिएर काम गर्नु पर्ने पेसा भए वा कम्मर खुम्चाएर वा निहुरेर धेरै काम गर्ने गरेको भए पेट तथा कम्मरका मांसपेशीहरु शिथिल र कमजोर हुन्छन् जसले गर्दा पाठेघर खस्ने हुन सक्छ।
• शारीरिक रूपमा सबल नभई कम उमेरमा गर्भवती भए सो महिलाको अपरिपक्व शारीरिक बनावट र पाठेघरको वरिपरिका मांसपेशीको अपरिपक्व बनावटले गर्दा पाठेघर खस्ने हुन्छ। यस्तो अवस्थामा सुत्केरी अवस्थामा मातृशिशुको ज्यान नै जोखिममा पनि पर्ने हुन्छ।  साथै पटकपटक गरिने गर्भपतनले पनि पाठेघर थामेर राख्ने मांसपेशीहरुमा नकारात्मक असर पर्छ तत्काल केही नभए पनि र समय बित्दै जाँदा आङ खस्ने समस्या आउने हुन सक्छ । वर्षेनि बच्चा पाउने, धेरै बच्चा जन्माउने, थोरै अन्तरालमा गर्भवती हुने गर्नले पनि पाठेघर खस्ने हुन्छ।
पाठेघर खसेकि महिला गर्भवती भए के गर्ने?
पाठेघर खसेका महिलाले सकेसम्म चिकित्सकको सल्लाह र नीग्रानीमा मात्र गर्भधारणको योजना बनाउन पर्छ। बच्चा खेर जाने, अत्यधिक रक्तस्रावहुने खालका समस्याहरु आउने, पाठेघरको संक्रमण हुने जस्ता जटिलता उत्पन्न हुन्छ। पाठेघर झरेकि महिला गर्भवती भए र बच्चा जन्माउने समय भए सामान्य भन्दा कठिन हुन्छ। लामो व्यथा लाग्ने हुनाले सके सम्म अस्पतालमा बच्चा जन्माउने वा तालीम प्राप्त दक्ष स्वास्थकर्मिको सहयोग लिनु अनिवार्य हुन्छ।
 पाठेघर खस्ने समस्याबाट बच्न के गर्ने?
•पोषिलो खाना सागपात, गेडागुडी, दुध, फलफूल आदि खानेकुरा खाने, झोलिलोकुरा अत्यधिक खाने ताकि कब्जियत भएर दिसा गर्दा बल गर्नु नपरोस्।
• गह्रौ चिज नउठाउने , निहुरेर धेरै काम नगर्ने। गर्भवती हुँदा आवश्यकता अनुसार पर्याप्त आराम गर्ने, हल्का खालका कामहरु मात्र गर्ने।
• सुत्केरी गराउन दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोग लिने, व्यथा १२ घण्टा भन्दा लामो भए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिने। अनावश्यक बल र पेट थिच्ने नगर्ने।
• सुत्केरी भइसकेपछि कम्तीमा ६ हप्तासम्म आराम गर्ने, गह्रौ सामान नउठाउने।
पाठेघर खसे उपचार के त?

दक्ष चिकित्सकको सल्लाह र मद्दतबाट पाठेघर खसेको चरण १/२/३ वर्गीकरण गरि, उमेर, शारीरिक अवस्था, अन्य भएका रोगहरुलाई ख्याल गर्दै चिकित्सकले उपचारका विधिहरुको सुझाव दिन्छन्। योनि भित्रपट्टी पाठेघरको मुखमा रबरको चुरा (रिङ्ग पेसरी) लगाएर वा अप्रेसन गरेर यसको उपचार गरिन्छ। रबरको चुरा तालिम प्राप्त स्वास्थ्यकर्मीले एकपटक लगाइदिए पछि ३/३ महिनाको अन्तरालमा परिवर्तन गर्नु पर्छ।

पाठेघर पुरै खसेको र बाहिरै निस्किएको भए रबरको चुरा लगाउँदा अडिदैँन जस्को समाधान उमेर र बिरामीको अवस्था अनुकूल भएको खण्डमा शल्यक्रिया हो। शल्यक्रियागरेर पाठेघर झिकी सके पछि महिलाको महिनावारि हराएर जान्छ। आफ्नो शरीरको अवस्थाका बारेमा आफुनै चनाखो भए रोगहरु बाट बच्न सकिन्छ। नलजाइ कुनै संकोच बिना आफ्ना र आफुलाई लागेका समस्याहरुका बारेमा तुरुन्त चिकित्सकको सल्लाह लिनु पर्छ। महिला हिंसा र महिलाहरु प्रती हुने भेदभाव अनि शारीरिक यातनाको तत्काल न्यूनीकरण गर्नु हामी सबै नेपाली नागरिकको कर्तव्य हो। पुरुष तब मात्र हुन्छ जब एउटा महिलाले प्रसव पिडा सहेर उसलाई संसार देखाउँछे। आफ्नो वरिपरिका आमाहरु दिदिबहिनीहरुको शारीरिक र मानसिक अवस्था प्रति सहानुभूति मात्र हैन, उहाँहरु प्रति हुने अन्यायको बारे खुलेर आवाज उठाउँ।
डा. रामकृष्ण आचार्य, सामुदायिक अस्पताल, सिङ्फृङ, इलाम
प्रतिक्रिया दिनुहोस्