Logo
  माघ २५, २०७९ बुधबार

स्थानीय निर्वाचनः अन्तर्घात र पार्टी जीवन



तीर्थराज खरेल–

प्रदेश नं. २ छोडेर ६ वटै प्रदेशमा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको छ । झापामा पनि स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भइरहेका छन् । मतगणनाको रूझान हेर्दा आफ्नै पार्टी भित्र प्रत्यक्ष वा अप्रत्यक्ष घातप्रतिघातको चक्र चलेको स्पष्ट देख्न सकिन्छ । आफ्ना पार्टीका उम्मेदवार विरुद्ध अन्य दलका उम्मेदवारलाई सघाउने गरी अघोषित मोर्चाबन्दी भएका कारण स्थानीय तहको चुनावमा सोचेभन्दा फरक परिणाम आइरहेको छ ।

पार्टीको माथिल्लो तहबाट कठोर कारवाहीको चेतावनी दिइए पनि कार्यकर्ता पंक्तिले त्यसलाई अनुशरण नगरी विपक्षी दलसँग लहसिएको कारण निष्कलंक, पार्टी पक्षीय, इमान्दार कार्यकर्तामा निराशा र आक्रोस बढेको छ । पार्टीहरुले तय गरेको निर्वाचन मापदण्ड र निर्देशिका विपरित भएका क्रियाकलापलाई पुष्टयाइँ गर्न केही प्रयत्नहरु पनि शुरु भएका छन् । तर, त्यस्ता क्रियाकलापको प्रष्टीकरण हुनै सक्दैन ।

पार्टीलाई सहयोग गर्नुपर्ने सबभन्दा अप्ठेरो स्थितिमा पार्टीलाई घात गर्नु भनेको पार्टीको आन्तरिक जीवन विरुद्धमा षडयन्त्र गर्नु हो । सम्बन्धित स्थानको राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य र संभाव्य परिणामका सम्बन्धमा सूक्ष्म विश्लेषण गर्ने र पार्टीमा एकमना एकताका साथ चुनावमा होमिने अन्तरपार्टी निर्देशनहरु फिका बनाइएका छन् । आफ्नो पार्टी विरुद्धमा मोर्चाबन्दी गरिने षडयन्त्रबाट बचाउन र आफ्नो पक्षमा विजयश्रीको ताज पहि¥याउन पार्टी केन्द्रको निर्देशनभन्दा व्यक्तिगत इष्र्या, आग्रह, पूर्वाग्रह र विपक्षीको प्रत्यक्ष–परोक्ष गलत प्रभावमा परेको भनी पार्टीहरुभित्र आरोपप्रत्यारोपको क्रम पनि शुरु भएको छ यतिबेला ।

महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार बन्ने क्रमदेखि नै पार्टीभित्रै एकले अर्को विरुद्ध घातप्रतिघातको सम्भावना देखिएपछि पार्टीहरुले संस्थागत रुपमै कठोर कारवाहीको पूर्व चेतावनीसहितको सर्कुलर सबै कार्यकर्तालाई पठाएर पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्नेमाथि कठोर कारवाहीको चेतावनी दिइए पनि परिपत्रको पूर्णतः पालना नभएको पार्टीहरुमा गुनासा सुनिन्छन् । विरोधी दलका उम्मेदवारसँग साँठगाँठ गर्ने पार्टी सदस्यका कारण मतदाता पनि झुक्किएका र पार्टीले हार बेहोर्नुपर्ने परिस्थिति सृजना हुँदा त्यस्ता कार्यकर्तालाई पार्टी सदस्यताबाट निष्काशित गर्ने सम्मका अनुशासनात्मक कारवाहीका निर्देशन पनि पठाइएको भएता पनि त्यसको प्रभाव धरातलीय यथार्थमा कम देखियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले पार्टी भित्रको गुटबन्दी सबैभन्दा ठुलो अपराध हो भनेका छन् । तर किन दोहोरिरहेको छ यस्ता पार्टी विरोधी काम ? चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको नेतृत्व रहेको पार्टीले अन्तर–पार्टी राजनीतिक जीवनका लागि निर्देशक सिद्धान्तहरु स्वीकृत गरेको छ, जुन आज पनि समय सान्दर्भिक, व्यावहारिक र अनुशरणीय छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय कमिटीको पाँचौ विस्तारित बैठकद्वारा स्वीकृत अन्तर–पार्टी राजनीतिक जीवनका लागि निर्देशक सिद्धान्तहरुका प्रमुख बुँदाहरुमा पार्टीको राजनीतिक तथा सैद्धान्तिक कार्यदिशाहरुप्रति निष्ठावान रहू, सामूहिक नेतृत्वको समर्थन गर, व्यक्तिहरुद्वारा गरिने मनपरी निर्णयहरुको विरोध गर, पार्टीको केन्द्रीकृत नेतृत्वको हिफाजत गर र पार्टी अनुशासनको दृढ रुपमा पालना गर, पार्टी भावनाको समर्थन गर र गुटबन्दीको उन्मूलन गर, साँचो बोल र कुरालाई कामसित मिलाऊ, अन्तर–पार्टी जनवादको प्रबद्र्धन गर, विपरीत विचारहरुप्रति सही दृष्टिकोण अपनाऊ, पार्टी सदस्यका अधिकारहरुमाथि अतिक्रमण नहोस् भन्ने कुरालाई सुनिश्चित पार, निर्वाचनमा मतदाताहरुका इच्छालाई पूर्ण अभिव्यक्ति देऊ, गलत प्रवृत्ति, कुकर्मीहरु र खराब कामको विरुद्ध संघर्ष गर, गल्ती गरेकाहरुप्रति सही दृष्टिकोण अपनाऊ, पार्टी र जनसाधारणबाट हुने पर्यवेक्षणलाई स्वीकार गर, खूब अध्ययन गर र लाल र दक्ष दुवै बन (लालको अर्थ हो सही राजनीतिक दिशाबोध प्राप्त गर्नु ।) लगायतका रहेका छन् ।

पार्टीभित्रको अन्तर्घातको पीडा छातीमा बोकेर एउटा प्रमुख दलका एक कार्यकर्ता भन्छन्–‘पछाडिबाट छुरा हान्नु भन्दा आँट हुनेले अगाडिबाट गोली हान्छ ! अपराध गर्नेहरुले कहिल्यै छुट पाउने छैनन् ! भनिन्छ थुन्सेले छोपुन्जेल अपराध गर्नेहरु रमाउछन् ! डोकोले छोपिएको दिन सबै पर्दाफास् हुनेछ !’ चुनावमा टिकट पाउन प्रयत्न गर्नु राम्रो कुरा हो । तर टिकट नपाएमा आफ्नो पार्टीको उम्मेद्वारका पक्षमा अग्रपंक्तिमा उभिएर प्रचारप्रसारमा लाग्नु हरेक पार्टी कार्यकर्ताको दायित्व हो । यदि यो विधिलाई मानिएन भने हरेक पार्टीमा अराजकता र अनुशासनहीनता उत्पन्न हुन्छ ।

अन्तर्घातको यस्तो रोग झापामा सबैभन्दा बढी नेपाली कांग्रेसमा र केही मात्रामा एमालेमा अनि थोरै मात्रामा माओवादीमा देखिएको छ । गलत कुराको हाकाहाकी आलोचना गर्नु राम्रो हो, तर आफ्नै साथीलाई अन्तर्घात गर्दा भविष्यमा त्यही कुरा अरु कसैले आफूमाथि लागु गर्छ भन्ने सबैले हेक्का राख्नुपर्छ । उम्मेदवारी चयनमा नेतृत्वले सही व्यक्तिको चयन गरेन र पैसा र शक्तिको भरमा उम्मेदवार चयनको काम भयो भन्ने कार्यकर्ताको ठूलो पंक्ति पनि छ, तथापि अहिलेको अन्तर्घात अति नै घातक र पार्टीघाती छ ।

पार्टीभित्रको अन्तर्घातको घाउ धेरै पछिसम्म बल्झिरहन्छ र यसले आउँदा चुनावमा पनि असर पु¥याउँछ । आगामी चुनावमा अहिलेको अन्तर्घातका कारण विजयको सुनिश्चितता हुन सक्दैन । यो यस्तो रोग हो, जसबाट मुक्त हुन सजिलो छैन र यसबाट उत्पन्न पीडा दीर्घकालसम्म चह¥याइरहने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्