Logo
  माघ २१, २०७९ शनिबार

नयाँ शक्ति वैकल्पिक शक्ति होला ?



तारामणि सापकोटा
पार्टी गठन गर्दा डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रुपमा खडा हुने उद्घोष गरेका थिए । भट्टराईले दुई बर्ष अघि दशरथ रंगशालामा पार्टी घोषणा गर्दा नेपालको वैकल्पिक शक्ति हुने दावी थियो । आर्थिक एजेण्डा अघि सारेका डाक्टर भट्टराईको पार्टीले गरिखाने धेरैको अनुमान थियो ।
माओवादी कार्यकर्ता, स्वतन्त्र व्यक्ति, दरवारिया, पूर्वकर्मचारी, अन्य राजनीतिक दलका कार्यकर्ताको समायोजनमा गठन भएको नयाँ शक्ति विचार, सिद्धान्त, संस्कृति, कार्यशैली, संगठन निर्माण लगायतका बिषयमा नयाँ बिकल्प दिने घोषणा गरियो । तर, पार्टी गठन गरेको केहि महिना बित्न नपाउँदै पार्टीमा अन्तरसंघर्ष सुरु भयो ।
पार्टीमा पूर्व माओवादी कार्यकर्ताको बोलवाला अन्यले मन पराउन छाडे, भट्टराई पूर्व माओवादी कार्यकर्ताबाट घेरिएको र उनैको सल्लाहमा चलेको आरोप लगाउँदै कतिपय पार्टीबाट निस्कृय बने, कतिले पार्टी छाडे, पूर्व माओवादी कार्यकर्ता माओवादी केन्द्रमा पर्किए । नयाँ शक्ति गठन हुँदा देखिएको उत्साह केहि महिनामै निराशामा परिणत भयो ।
पार्टी संस्थागत नहुँदै बिघट्न भएको नयाँ शक्तिमा पार्टी संचालनका लागि आर्थिक संकटले कार्यकर्तामा थप निराशा बनायो । निराशाकै बिच स्थानीय तहको निर्वाचनका लागि चुनाव चिन्हसमेत नपाउँदा उपेन्द्र यादवसँग पार्टी एकता गर्ने प्रस्ताव भट्टराई अघि सारे । त्यसको पार्टी भित्रै प्रतिवाद भयो र नयाँ शक्ति बैचारिक रुपले थप कमजोर सावित भयो । नयाँ शक्तिले स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फारमको चुनाव चिन्ह प्रयोग गर्नु पर्ने अवस्था आउँदासम्मको अवस्थाले जनतामा बाबुरामको पार्टी बन्ला र केहि गर्ला भन्ने आशा र अपेक्षा समाप्त भयो । त्यसको परिणाम स्वरुप पहिलो चरणको स्थानीय चुनावमा एक स्थानमा बढी जित्न सकेन ।
नयाँ शक्तिले दोस्रो चरणको निर्वाचनबाट प्रगती गर्ने कुनै छाँटकाँट देखिँदैन । उसले स्थानीय तहमा थप बिजय हाँसिल गर्ने संकेत देखिँदैन । नयाँ र वैकल्पिक शक्ति निर्वाण गर्ने अभियानमा लागेको पार्टी जनस्तरबाट न्यूनस्तरबाट पनि अनुमोदित हुन नसक्नु, नागरिक स्तरमा चर्चाको पात्रसमेत नहुँदा अव के नयाँ शक्ति वैकल्पिक शक्ति बन्ला भन्ने गम्भिर प्रश्न उठेको छ ।
वैकल्पिक शक्ति नहुने मात्र होइन सानो पार्टीको आकार पनि नयाँ शक्तिले नलिने भएपछि डा भट्टराईले पार्टी परित्याक गर्ने योजना सार्वजनिक भएको छ । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण भनेपनि भट्टराईमा आएको निराशाको परिणाम हो । भट्राई उपेन्द्र यादवको संघीय समाजवादी mोरमसँग एकता गरौँ भन्ने देवेन्द्र पौडेलहरु माओवादी केन्द्रसँग एकता गरौँ भन्ने दृष्टिकोण बिचको अन्तरसंघर्षले केहिदिन भित्रै भट्टराई नयाँ शक्ति त्याग गरेभने कुनै आश्चर्य हुँदैन ।
माओवादी कार्यकर्ताको एउटा पङ्ति लिएर गएका, दरवारिया, पूर्व प्रहरी, सेना, कर्मचारी देखि सामाजिक तहको एउटा हिस्सासहित पार्टी गठन गर्दा पनि आखिर किन पत्याएनन् जनताले नयाँ शक्तिलाई ? जनयुद्ध हाँकेका, पूर्व प्रधानमन्त्रीसमेत भइसकेका भट्टराईको व्यक्तित्व र क्षमताबाट जनताले आश मारेका थिएनन् । तरपनि किन वैकल्पिक शक्ति भएन ? नयाँ शक्ति यति कमजोर भएको कार्यकर्ताको दोस हुन सक्छ तर धेरै हदसम्म डा भट्टराई स्वयम् जिम्मेवार छन् । उनको बिचार र सिद्धान्तमा भएको फरकपन नै मुख्य समस्या हो । उनी बढी मनोगतवादी भए । मैले नेतृत्व गरेपछि जनताले साथ दिइहाल्छन् । अव प्रचण्डलाई जनताले पत्याउँदैनन् भन्ने मनोगतवादी निश्कर्षनै उनको सवैभन्दा ठूला कमजोरी हो । उनले नेपाली जनताको मनोविज्ञानलाई बुझ्नै सकेनन् ।
मनोशास्त्रीका अनुसार नेपाली जनताको मनस्थिति भनेको मास हिस्टेरिया प्रकारको बताउँछन् । कुनै दुखःमा अति संवेदनशील हुने र कुनै घट्नामा अति उत्तेजित हुने वा अभावमा चरम निरास हुने, पुराना कुरा छिट्टै बिर्सने मनोविज्ञान रहेको मनोविज्ञको बिश्लेषण छ । डाक्टर भट्राईले नेपाली जनताको यो मनोविज्ञानलाई नबुझ्दा समस्या भएको हो । कुनै नेताको सानोतिनो कमजोरीमा आक्रोसित हुने र फेरी तिनै नेताले राम्रो काम गरे तिनै नेताको देवत्वकरण गर्ने नेपाली प्रवृति बुझ्नै सकेनन् । प्रचण्डप्रतिको निरासा र आक्रोस सँधै रहन्छ भन्ने बुझाइपनि एक कमजोरी हो । अरु पार्टी प्रतिपनि जनता निराष छन् उनीहरुलाई जनताले लामो समय समर्थन गर्दैनन् भन्ने मनोगत बुझाइ भट्टराई समस्या हो ।
माओवादीमा रहुन्जेल डा भट्टराईले पार्टी र कार्यकर्ता व्यवस्थानको जिम्मेवारी लिनु परेन । उनी सँधै माओवादी भित्र प्रतिपक्ष बने । आफ्नो गुट संचालन गर्ने भन्दा अरु जिम्मेवारीको खासै बोध गरेनन् । उनी मेधावी बिद्यार्थी, माक्र्सवादका अध्यता, बौद्धिक जगतले पत्याएका, मिडियाका आकर्षक व्यक्ति थिए । तर, यि सबैका पछाडी जनयुद्ध जगमा खडा भएको माओवादी पार्टी थियो भन्ने कुरालाई बेवास्था गरे । यो उनको अर्को कमजोरी थियो । म हुनुमा मेरै कारण मात्र बलशाली छन् भन्ने मनोवैज्ञिनिक बुझाई उनको कामजोरी हो । जनताको आवेक र निरासाको जगमा पार्टी निर्माण गर्ने उनको सोँचमै खोट थियो ।
आम आद्मी पार्टी (आप)ले भारतको दिल्लीमा छोटो समयमा पाएको सफलताबाट डा भट्टराई प्रभावित थिए । उनले पनि त्यहि रुपमा नयाँ शक्ति स्थापित गर्ने सोँच बनाए । तर, नेपाली र भारतीय जनताको मनोविज्ञानमा भएको फरकपनलाई छुट्याउने प्रयास गरेनन् । सबैतिर अनुकुलता मात्र देखेका डाक्टर भट्टराईको त्यस अनुकुलको एजेण्डा, कार्यशैली, कार्यकर्ताको पंत्ति भएनन् ।
नेपालको संविधान घोषणालाई भारतले अस्वीकार गर्दै नाकाबन्दी लगाएको संकटपूर्ण अवस्थामा त्यसको जमेर प्रतिवाद गर्नु पर्ने अवस्थामा उनले माओवादी पार्टी छाडेर नयाँ शक्ति गठनको अभियान चलाए । मेधेसी दलको बिखण्डनको नारामा संकास्पद अभिव्यक्ति दिनु, नेपाली जनताले नाकाबन्दी र मधेसी दलको आन्दोलनबाट भोगेको कष्टको प्रतिवाद गर्नु पर्नेमा समर्थनशैलीमा अभिव्यक्ति दिए । पार्टी गठन नहँदै भट्टराइर्का यस्ता बिचार शंकाको घेरामा परेको थियो । उनको यस्तो अभिव्यक्तिले जनतामा उर्जा होइन निराशा र आक्रोस पैदा गर्यो । पार्टी संघीय समाजवादी फोरमसँग एकता गर्ने उनको प्रस्तावको मक्सदले पार्टीप्रतिको आकर्षण लगभग समाप्त भएको हो ।
वैकल्पिक शक्ति निर्माण उदेश्यले नयाँ शक्ति गठन गरेका डाक्टर भट्टराईले अव के गर्लान ? धेरैले यो प्रश्न गरेका छन् । अन्य साना पार्टीसँग एकता गर्ने, माओवादी केन्द्रसँग पार्टी एकता गर्ने, मोहनबिक्रम सिंहको जस्तो अध्ययन गर्ने लेख लेख्ने, पार्टी नेतृत्व कसैलाई जिम्मा लगाएर अध्ययन गर्ने पुस्तक लेख्ने, प्राध्यापन गर्ने जस्ता बिकल्प खुला रहेका छन् । उनले के गर्छन त्यो भने पर्खनै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्