Logo
  माघ २५, २०७९ बुधबार

नेपाल भारतको सम्बन्धमा राष्ट्रवाद



तारामणि सापकोटा
पृथ्वीनाराण शाहले नेपालको एकीकरण गर्दा आजको बिसाल भारत बनेकै थिएन । भारतीहरु अंग्रेजका पराधिन थिए । अंग्रेजले आफ्नो साम्राज्य बिस्तार गर्ने क्रममा आजको वृहक भारत निर्माण भएको हो । अंग्रेजको साम्राज्य बिस्तार र नेपालको एकीकरणको अभियानमा जम्काभेट हुँदा नेपाल र अंग्रेज बिच युद्ध भएको हो ।
नेपाल र भारतको निर्माणको पृष्ठभूमी फरक फरक देखिन्छ । नेपाल स्वाधीन रह्यो भने भारत लामो समय पराधीन बन्यो । नेपालले पूर्ण पराधीन खेप्नु नपरेपनि आंशिक पराधीनता खेप्तै आएको छ । अंग्रेजसँगको लडाइमा नेपालको पराजयको थियो सुगौली सन्धी । सुगौली सन्धीले नेपालको पूर्ण स्वतन्त्रता र स्वाधीनतामा नियन्त्रण कायम गएको हो ।
अंग्रेजको आंशिक नियन्त्रणमा भएको नेपाल भारतबाट अंग्रेज हटेपनि भारतीय साशक त्यो नियन्त्रण कायम राख्न अभियानमा लागे । जुन मोदीसम्म आइपुग्दा पनि कायम छ । भारत स्वतन्त्र भएपछि आन्तरिक समस्यामा नजडिएको भए भारतका प्रजातान्त्रिक नेताले केहि दशक अघि नै नेपाललाई भारतलाई गाभ्ने थिए । गाभ्न पाए हुन्थ्यो भन्ने भारतका प्रधान मन्त्री नरेन्द्र मोदीको मनमा अझै कतै बाँकी नहोला भन्न सकिन्न ।
भारतीय साशक मात्र होइन सामान्य देखि पढालेखालाई पनि नेपाल हाम्रै हो । नेपाल भारतमा नमिसाएर हाम्रा बिगतमा नेताले गल्ती गरे भन्ने बुझाई छ । सीमामा छेकबार छैन, धर्म मिल्छ, संस्कृति र संस्कार मिल्छ, भाषा र लिपी मिल्छ, रहनसहन, खानपान एउटै छ भने किन भिन्न भयो भन्ने भारतीयको जिज्ञाषा हो । भारतीयहरु नेपाल अलग हुनु पर्ने कारण देख्दैनन् । उनीहरुलाई नेपाल देश निर्माणको बिषयमा कुनै ज्ञान छैन । सावा सय करोड भारतीयमा एक करोड भारतीयलाई पनि नेपाल स्वतन्त्र राष्ट्र हो भन्ने ज्ञान नहुन सक्छ । साशकले भारतीय जनतालाई कहिल्यै पनि नेपाल स्वाधीन र स्वतन्त्र राष्ट्र भन्ने सिकाएनन् ।
भारतीय नागरिकलाई नेपाल र भारत बिचको भिन्नता के हो भन्ने खासै ज्ञान छैन । नेपालका विद्यार्थीले भारतको इतिहास पढ्छन् तर नेपालको बारेमा भारतमा पढाइँदैन । नेपाल समान संस्कृति भएको रोटीबेटीको सम्बन्ध भएको देश हो भन्ने बझाई छ ।
नेपाल र भारत बीचको सम्बन्ध ऐतिहासिक छ । आर्थिक, सामाजिक, साँस्कृतिक, भाषा र धार्मिक हिसावले निकट मानिएको हो । हिन्दू, बौद्ध, जैन लगायतका धार्मिक सम्प्रदाय वा भारत बर्षमा बिकास भएका धर्म, संस्कृति, बिचार दर्शनको किासमा नेपालका ऋषीमुनीको ठूलो योगदान छ । सिद्धार्थ गौतम बुद्ध, राजा जनक, सीता, वाल्मिी ऋषी लगायतको जन्म र कर्मभूमी नेपाल हो । जसलाई नेपाल र भारतमा समान रुपमा हेरिन्छ ।
भारत स्वतन्त्र भएको ७० बर्ष नाघिसक्यो, लोकतन्त्रको अध्यास गर्न थालेको पनि त्यति नै भयो । तरपनि भारतीय मानसिशकता दुई सय बर्ष अघिको अंग्रेजी मानसिकता कायम छ । भारतीय साशक वर्गको यहि मानसिकता र व्यवहारले नेपाली नागरिक भारतीय प्रति सँधै सशंकित छन् ।
नेपालका राणा प्रधानमन्त्रीले अंग्रेजको चाकरी गर्नु दुई वटा बाध्यता र स्वार्थ थिए । एक नेपाल राष्ट्र अंग्रेज राम्राज्यमा मिसाउनबाट जोगाउनु र अर्को आफ्नो साशन सत्ताको निरन्तरता । अंग्रेजसँग युद्धमा नजितिने जंगबहादुरको निस्कर्ष कुनै आवेग उत्तेजनाको निर्णय थिएन । त्यो सुझबुझपूर्ण र दुरगामी महत्वको निर्णय थियो । यहि सोँचले जंगबहादुरले अंग्रेजसँग दोस्ती गाँसेका हुन् ।
नेपाल र भारतमा साशक फेरिएको ७० बर्ष नाघिसक्यो । तर, दुबै देशका साशकको मानिसिकतामा परिवर्तन आएको छैन । भारतमा अंग्रेज हटेपनि अंग्रेजको प्रभुत्ववादी मानसिकता हटेको छैन । नेपालका साशकमा पनि जंगबहादुरले जुन उदेश्यले अंग्रेजको चाकरी गरेका थिए, त्यो अझैपनि कायम छ । नेपाल राष्ट्र र सत्ता जोगाउन भारतीय साशकको चाकरी गर्नु पर्छ भन्ने मानसिकता कायम छ । जंगबहादुरदेखि शेरबहादुरसम्म आइपुग्दा यो मानसिकता कायम छ ।
नेपाल भारतबाट तिनतिर घेरिएको भूपरिवेष्ठित मुलुक हो भन्ने संसारलाई थाहा छ । भारतले नेपाल भूपरिवेष्ठित देश हो भन्दैन । नेपाल र भारत धार्मिक तथा सांस्कतिक रुपले समान भएको देश हो भन्छ । भारतले नेपाललाई आफ्नो भूमिको एक एकाई ठान्दछ । भूपरिवेष्ठितको बिषयमा धेरै बहस हुँदा भारतले अन्तर्राष्ट्रिय कानुन अनुसार नेपालले अधिकार पाउने हुन्छ । यसर्थ उसले भूपरिवेष्ठित देश नेपालले पाउनु पर्ने यति यति अघिकार मैले दिएँ भन्दैन । भारतले यो यो सुविदा नेपाललाई दिएका छौँ भन्छ । हाम्रा नेता पनि भारतले सुविदा दिएको ठान्छन्, अन्तर्राष्ट्रिय कानुनले दिएको अधिकार ठान्दैनन् ।

नेपाली साशकले हिनताबोधग्रस्त मानसिकता तोड्न सक्नु पर्दछ । भारतले नाकाबन्दी लगाएर दुखःदिन सक्छ । तर, अब सेना नेपाल भित्र पठाउन सक्ने तागत राख्न सक्तैन । दुई वर्ष अघि नेपालको संविधानको बिषयमा भारतले लगाएको नाकाबन्दी उसैका लागि निकै महंगो सावित भयो । नेपालीले दुखः पाए तर झुकेनन् । भारत आफैँ पछि हट्न बाध्य भयो । भारतले नेपालमा फेरी नकाबन्दी गर्न दश पटक सोच्नु पर्ने हुन्छ ।
नेपालले भारतको अहित हुने कुनै काम नगर्ने र नझुक्ने नीति बनाउनु पर्दछ । नेपालको राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक लगायतका क्षेत्रमा भएको परिवर्तनले नाकाबन्दी असफल भएको हो । सूचना प्रविधिको बिकासले भारतको नाकाबन्दी असफल भएको हो । कुनै समय संसारसम्पन्न देशमा नेपालीको तुलनामा भारतीय नागरिकको मात्र उपस्थिति थियो । नेपालीको नगन्य उपस्थिति थियो । तर, आज नेपाली समाज पनि संसारका सम्पन्न मुलुकमा पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरी पर्किएका छन् । उनले पुराना कुरामा निरन्तरता दिँदै फर्किए । उनको भ्रमणले नेपाललाई धेरै फाइदा हुने भन्दा पनि नेपालका प्रधानमन्त्रीको नियमित भ्रमण मात्र हो । नेपालका नयाँ प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतको गर्नु पराम्परा जस्तै बनेको छ । भारतीय साशक नेपालका प्रधानमन्त्रीको भारतमा हुनु पर्ने अनिर्वाय ठान्दछन् । भारतबाट यात्रा सुरु नगर्ने प्रधानमन्त्रीको दिनगन्ती सुरु हुने गर्दछ । यो भयले पनि नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने गर्दछन् । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा नौ महिना भन्दा सत्तामा टिक्न सकेनन् ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणपनि एक नियमित प्रक्रिया मात्र हो । हाम्रा प्रधानमन्त्रीको यस्तो वास्तविकता सबैले बुझेका छन् । तर, देउवाले भारतमा गएर संविधान संसोधनको बिषय उठाएर देशको शिर निहुराए भन्नुको कुनै तुक छैन । भारतले दुई बर्ष अघि लगाएको नाकाबन्दी संविधान संशोधनका लागि थियो । प्रचण्ड र देउवा पालैपालो प्रधानमन्त्री भएको पनि संविधान संशोधन गरेर मधेसी दलको माग पुरा गर्ने भन्ने नै हो । यति सुस्पष्ट भएको बिषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्नु अनौठो बिषय होइन । देउवाले चाहेर वा भन्ने वित्तिकै संविधान संशोधन हुने कुरा होइन । यो नेपालको संसदको दुई तिहाइले पारित गर्नु पर्छ । बोलकै आधारमा राष्ट्रघात भो भन्नु जायज हुँदैन । उसको नियत कस्तो छ भन्ने नै हो । सानातिना बिषयमा पनि राष्ट्रवाद र राष्ट्रघातको लेपन लगाउनु राम्रो होइन । यसले नेपालको राष्ट्रयतालाई कमजोर बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्