Logo
  माघ २१, २०७९ शनिबार

माओवादीका चुनौती र विजयका आधार



नेपालको संविधान २०७२ को कार्यान्वयन स्वरुप स्थानीय तहको निर्वाचन हुँदैछ, जुन संघीयता कार्यान्वयनको एउटा चरण पनि हो । यसलाई २० वर्षपछि हुन लागेको चुनाव पनि भनिँदैछ तर यसो भन्नु महान जनयुद्ध (२०५२–२०६३) र ऐतिहासिक जनआन्दोलन (२०६२–२०६३) को अवमूल्यन, शहीहरुप्रतिको अपमान र जनसमुदायको योगदानको बेवास्ता हुन जान्छ । २०५४ सालको चुनाव स्थानीय निकाय (तह होइन) को थियो । त्यो चुनाव २०४७ सालको संविधानमा भएको व्यवस्थाअनुरुपको थियो ।
त्यसैले संविधानसभाबाट नयाँ संविधान जारी भइसकेको स्थितिमा हुँदै गरेको स्थानीय तहको निर्वाचन २०७४ नेपालको इतिहासमा पहिलोपटक हुँदैछ । यो माओवादी आन्दोलनको कारण हुँदैछ । यसका साथै दश वर्ष यता देश माओवादी कोर्सबाट अघि बढेको जगजाहेर छ । यद्यपि पहिलो संविधानसभामा सर्वाधिक विजय हासिल गरेको माओवादी दोस्रो संविधानसभामा सर्मनाक पराजित भएको अवगतै छ । यस्तो परिस्थितिमा हुँदै गरेको आसन्न स्थानीय तह निर्वाचनमा माओवादीको पक्ष वा विपक्षमा जनमत केकसरी व्यक्त होला त ?  
आसन्न निर्वाचनमा मतदाताले भोट कसलाई दिने भन्ने निर्णय गर्दा पार्टीले बोकेको इतिहास, उसले नेतृत्व गरेको आन्दोलन वा उसले अँगालेका एजेण्डालाई पहिलो आधार बनाउने हुन्छ । परिवर्तनपछि हुँदै गरेको पहिलो स्थानिय निर्वाचन भएकाले परिवर्तनको नेतृत्व गरेको मुख्य राजनीतिक दल पहिलो रोजाइ हुन जान्छ । २००७ सालको परिवर्तनपछि भएको पहिलो आमचुनाव (२०१५) मा नेतृत्वदायी भूमिकामा रहेको नेपाली काँग्रेसले  अत्याधिक जनमत हासिल ग¥यो । २०४६ सालको परिवर्तनपछिको निर्वाचन (२०४८) मा गणेशमान सिंहको नेतृत्वमा जनआन्दोलन भएकै कारण नेपाली काँग्रेसले बहुमत ल्यायो । २०६३ सालको परिवर्तनपछि भएको निर्वाचन (२०६४) मा माओवादीले प्रत्यक्षतर्फ बहुमत हासिल ग¥यो किनकि उसले दश वर्ष जनयुद्धको नेतृत्व गरेको थियो र संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक प्रतिनिधित्व लगायतका उपलब्धी माओवादीकै कारण सम्भव भएको जनताले बुझेका थिए । यसपटक स्पष्ट छ कि यदि माओवादी यो देशमा नहुँदो हो त यस्तो किसिमको स्थानिय निर्वाचन सायद कल्पनाभन्दा बाहिरको प्रसंग हुन्थ्यो ।
यसका अतिरिक्त माओवादीले सरकार र जनताबीच रहेर गरेका कामहरुले प्रभाव पार्दछ । दुई छिमेकीबीच समदुरी कायम राख्न सक्नु, आर्थिक वृद्धि दरको संकेत सकारात्मक हुनु, लोडसेडिङ मुक्त हुनु आदिले माओवादीको पक्षमा अनुकूलता थपेका छन् । जनजिविकाको सवालमा जनताको उच्च अपेक्षालाई प्रभावकारी ढंगले सम्बोधन गर्न नसक्नु, किसान पेन्सनलाई अझ सुनिश्चित नगर्नु आदि माओवादीका निम्ति चुनौतीका रुपमा रहेका छन् ।
मतदाताले मतदान गर्ने वा उम्मेद्वारले मत प्राप्त गर्ने दोस्रो आधार संगठन हुन्छ । संगठनको सन्दर्भमा दिनको घामझैं छर्लङ्ग छ कि माओवादीले आफ्नो सशक्त प्रस्तुति दिन सकेको छैन । खासगरी युवा, महिला, किसान, सुकुम्बासी, विद्यार्थी, बुद्धिजीवी, उत्पीडित जाति सहितलाई उचीत परिचालन गर्न ढिलो भइसकेको देखिन्छ । अझ मेहनत गर्दै जाने हो भने यसलाई केही परिपूर्ती गर्न सकिन्छ । सँगसँगै संगठन एकढिक्का हुने र समान परिचालन हुने विषयले पनि प्रभाव पार्ने गर्दछ ।
विजयको तेस्रो आधार उम्मेद्वारको विषय हो । माओवादीले देशैभरि अन्य राजनीतिक दललाई माथ गर्दै उम्मेद्वारी घोषणा गरेको छ । उम्मेद्वार छनौट प्रकृयामा अन्य राजनीतिक दलको तुलनामा माओवादीमा सापेक्षिक एकता पनि देखिएको छ । स्वभावैले उम्मेद्वारहरु समावेशी हुने स्थिति पनि माओवादीभित्र नै बढि देखिन्छ । प्रायजसो उम्मेद्वार युवा हुनाले यसले माओवादीलाई जीतको आधार मजबुत बनाउन सहयोग मिलेको छ । उम्मेद्वारको व्यक्तिगत चिनारी, सम्बन्ध, योगदान र विजयी भइसकेपछि कार्य गर्ने दक्षतालाई मतदाताले लेखाजोखा गरेका हुन्छन् । यस सन्दर्भमा माओवादीले अझ मेहनत गनुपर्ने देखिन्छ । प्रतिस्पर्धी दलहरु उम्मेद्वार छनौटको लामो प्रकृया र अन्तरविरोधमा फसेको स्थितिले माओवादी उत्साहित देखिएको छ । माओवादीले मतदानका दिनसम्म यसबाट फाइदा लिन सक्ने सुनिश्चितता भने अझ स्पष्ट भइसकेको छैन ।
चौथो, निर्वाचनमा प्रभाव पार्ने विषय प्रचारप्रसार हो । चुनावी अभियान, कार्यक्रम र विधि केकस्ता बनाउने, तिनमा जनसमुदायको सहभागिताको आयतन कति बढाउने, सञ्चार माध्यममा कसरी बढि समेटिने आदि प्रचारप्रसारका काम हुन् । झण्डा, ब्यानर, पोष्टर, पर्चा र अन्य सामाग्रीको प्रयोग  र आकर्षक नाराको प्रभावकारिता पनि उत्तिकै रहन्छ । आफूले र आफ्नो पार्टीले गरेका राम्रा कामहरुलाई मतदाताबीच स्पष्ट पार्न सकेमा यसले आकर्षण बढाउँछ । निर्वाचन अभियानमा सरसफाइ, स्वास्थ्य शिविर, श्रमशिविर जस्ता सामाजिक कार्यहरुले प्रचारका कामलाई सहयोग पु¥याउँछन् । मुख्यतः सबै मतदाता समक्ष पुगेर उम्मेद्वारले आफ्ना कुरा स्पष्ट पार्न सक्नुपर्दछ । माओवादीले उम्मेद्वारको टुंगो छिटो लगाउन सफल भएकै कारण प्रचारप्रसारमा अघि बढेको छ तर यो श्रेष्ठतालाई अन्तिमसम्म कायम राख्न सक्नुपर्छ । भनिन्छ, राम्रो थालनी गर्नु आधा काम सम्पन्न गर्नु बराबर हो । यो भनाइ प्रचारप्रसारको हकमा लागू हुन्छ ।
पाँचौ, चुनाव जित्ने अन्तिम र मुख्य आधार प्राविधिक पक्ष हुन्छ । विशेषगरी  नसोचेकोले जित्ने वा नसोचेकोले हार्ने घटना पनि प्राविधिक पक्षको मजबुती वा कमजोरीमा निर्भर रहन्छ । प्रतिस्पर्धी राजनीतक दलहरुमध्ये जसले यसको तयारी र कार्यान्वयन  राम्रोसँग गर्न सक्छ उसैले बाजी मार्ने निश्चित हुन्छ । निर्वाचन शुरु हुनुभन्दा अगाडिदेखि मतदानका दिन मतदान केन्द्र र मतगणनासम्म यस अन्तर्गतका कामहरु हुन्छन् । यी कामहरु सकारात्मक पनि हुन्छन् र नकारात्मक पनि हुन्छन् तर यसको एक मात्र उद्देश्य जसरी भए पनि विजय हासिल गर्ने भन्ने हुन्छ । अहिलेसम्म माओवादी सहितका निर्वाचनलाई केलाउँदा यस्ता मामिलामा माओवादी सशक्त रुपमा अगाडि आउन सकेको छैन । त्यसैले विजयको सुनिश्चित नभएका ठाउँहरुमा पराजय मात्र भोग्नुपरेको हो । जीतलाई एक मात्र लक्ष्य बनाउने हो भने प्राविधिक प्रशिक्षण र तयारीलाई जोड दिन जरुरी देखिन्छ ।
माओवादी आफैं द्वन्द्वात्मक भौतिकवादको विज्ञानलाई आत्मसात गर्दछ तर कहिले हारैहार र कहिले जीतैजीत देख्नु यससँग मेल नखाने विषय हो । दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीको स्थिति खस्किँदा र मतदाताहरुबीच विकर्षण पैदा हुँदा देशैभर विजयको संश्लेषण हुनु जति गलत थियो यसपटक पूरै पराजयको मानसिकताले ग्रस्त हुनु उति नै घातक हुन्छ । माथि उल्लेखित पाँच आधारबाट विश्लेषण गर्दा विगतमा रक्षात्मक स्थितिमा पुगेको माओवादी यसपटकको निर्वाचनमा सन्तुलनमा आउँछ र आगामी दिनमा आक्रामक स्थितिबाट अघि बढ्न सक्छ तर पाँचै विषयमा मेहनत अपरिहार्य हुन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्