Logo
  माघ १६, २०७९ सोमबार

साम्यवादी अभियन्तालाई सम्झिँदा



‘मार्च १४ तारिख दिउँसो २ बजेर ४५ मिनेट जाँदा सबैभन्दा महान् जीउँदो चिन्तकले विश्राम लियो । दुई मिनेट जति उहाँलाई एक्लै छाडिएको थियो र जब हामी फर्किएर आयौँ, उहाँलाई शान्तपूर्वक आरामदायी कुर्सीमा सुतिरहेको पायौँ तर सँधैका लागि ।’ यो अभिव्यक्ति फ्रेडरिक एंगेल्सको हो, जसले लण्डनस्थित समाधिस्थलमा कार्ल माक्र्सको दाहसंस्कारको समयमा व्यक्त गरेका थिए । त्यहाँ मुश्किलले बढिमा ११ जना मलामी जम्मा भएका थिए । यद्यपि कार्ल माक्र्स कालान्तरमा महामानव साबित भए । उनीबाट विश्व प्रभावित छ, सकारात्मक वा नकारात्मक रुपमा । उनको नामबाट दर्शन वा सिद्धान्तको नामाकरण भयो । बिबिसीको सर्वेक्षण अनुसार पछिल्लो दुई हजार वर्षकै सर्बाधिक चर्चित व्यक्ति हुन पुगे माक्र्स ।
आजको ठिक २०० वर्षअघि मध्यमवर्गीय परिवारमा मे ५, १८१८ मा जर्मनीको ट्रियरमा जन्मिएका माक्र्स ६५ वर्ष बाँचे तर उनले सयौँ वर्षमा नसकिने काम गरेर गए । उनले १२ वर्षसम्म घरमै बुबाको सहयोगमा प्रारम्भिक अध्ययन गरेका थिए । ५ वर्ष हाइ स्कूलको अध्ययनपछि जब उनी विश्वविद्यालय पुगे, दर्शन र साहित्यको अध्ययन अघि बढाए । उनका बुबा कानून व्यवसायी थिए र चाहन्थे, छोराले पनि कानून पढोस् । बुबाको इच्छा अनुसार उनले १८३६ मा बर्लिन विश्वविद्यालयमा कानूनको अध्ययन समेत शुरु गरे । २३ वर्षको उमेरमा ‘प्रकृतिका देमोक्रिटियन र इपिक्युरियन दर्शनबीचको फरक’ विषयमा शोधग्रन्थ पुरा गरेपछिउनले पिएचडी हासिल गरेका थिए । कार्ल माक्र्स दार्शनिक, अर्थशास्त्री, समाजशास्त्री मात्र थिएनन्, बरु इतिहासविद्, राजनीतिज्ञ, पत्रकार र क्रान्तिकारी योद्धा समेत थिए ।
पुँजीवादका सर्वश्रेष्ठ ब्याख्याता कार्ल माक्र्सले त्यसका विरुद्ध आगो ओकले, जुन दुनियाँका श्रमिकवर्गका निम्ति आजपर्यन्त वैचारिक हतियार साबित भएको छ । उनको यो योगदान विश्वविद्यालयमादर्शनशास्त्रको अध्ययन गर्दादेखि नै शुरु भयो । उनी अरु झैं हेगेलको दर्शनबाट प्रभावित थिए । त्यसबेला जर्मनीमा कान्ट, ब्रुनो बाउर, फायरबाख आदि दार्शनिकको पनि प्रभावथियो । कार्ल माक्र्स आफैँ दार्शनिक बने तर उनको दर्शन ‘एन्टि करेन्ट’ थियो । उनको भनाइ सुप्रसिद्ध छ, ‘दार्शनिकहरुले दुनियाँको व्याख्या त गरे तर मुख्य कुरा यसलाई बदल्नु हो ।’
जर्मन सरकारको निशानामा परेपछि माक्र्स १८४३ देखि फ्रान्सको पेरिसमा बस्न थाले । त्यहाँ उनले बेलायती अर्थशास्त्रीहरु आडम स्मिथ, डेभिड रिकार्डो, जेम्स मिल आदिका अर्थशास्त्रको अध्ययनबाट राजनीतिक अर्थशास्त्रका पाण्डुलिपी तयार गरे । फ्रान्सेली समाजशास्त्री हेनरी सेन्ट साइमन, चाल्र्स फ्युरियर र फ्रान्सको इतिहास अध्ययन गरेर उनले वर्गसंघर्षको नियम पत्ता लगाए । त्यसैले भि. आइ. लेनिनले भनेका छन् कि माक्र्सवादकातीन संघटक अंग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद हुन् । ती क्रमशः जर्मन, बेलायती र फ्रान्सेली ज्ञानमा आधारित छन् ।
एउटा मानिसको सफलतामा अरु थुप्रैको हातको हुन्छ भन्ने युक्ति माक्र्सको हकमा सही देखिन्छ । छायाँजस्तै बनेर माक्र्सको काममा जुट्ने उनकी जीवनसाथी जेनी माक्र्स थिइन् । उनको विवाह सात वर्षको प्रेमपछि १८४३ जुन १९ मा जेनीसँग एउटा चर्चमा भएको थियो । त्यसपछि उनीहरुले देश छाड्नुप¥यो । १८४५ फेब्रुअरीमा जर्मन सरकारको अनुरोधमा फ्रान्सले पनि उनलाई देश निकाला ग¥यो । त्यसपछि उनको परिवार ब्रसेल्स (बेल्जियम) पुग्यो । त्यसपछि माक्र्स कहिले लण्डन त कहिले ब्रसेल्समा रहे ।माक्र्स पेरिसमा हुँदामोन्सियर ¥याम्बोक रलण्डनमा हुँदा ए. विलियम्स नाम प्रयोग गर्दथे ।उनलाई साथीहरु मुर र छोरीहरु चार्ली भनेर बोलाउँथे । अभावको जिन्दगीबाट बिदा हुँदै जेनी सात सन्तानमध्ये तीनजनालाई जिवित छाडेर धर्तीबाट अस्ताएकी थिइन् १८८१ डिसेम्बरमा । पछि माक्र्स स्वयम्को मृत्युकोकारण पोषण र आरामको अभाव, ब्रोन्काइटिस तथा कलेजोको रोग र उपचारको अभाव हुन पुग्यो ।
कार्ल माक्र्सलाई सम्झिरहँदा उनको जीवनमा सहयोद्धा बनेर छिर्छन्, फ्रेडरिक एंगेल्स । जसको भूमिका बेगर माक्र्सवाद वा माक्र्सका सिद्धान्त आजको अवस्थामा पुरा भएका हुँदैनथे । माक्र्सका लेखन र सांगठनिक कार्यमा एंगेल्स अभिन्न छन् । त्यसैले विश्वभरका श्रमिक संगठन र कम्युनिस्ट पार्टीले एंगेल्सलाई माक्र्सकै समकक्षमा महानु गुरु मानेका छन् । भनिन्छ, एंगेल्स धनाढ्य थिए र माक्र्सको जीवनमा उनले केही हदसम्म भौतिक राहत समेत उपलब्ध गराउँथे । एंगेल्ससँग माक्र्सको भेट अगष्ट २८, १८४४ मा पेरिसमा चेस क्याफेमा भएको थियो । उनले माक्र्सले मुत्युपर्यन्त पुरा गर्न नसकेका कामलाई निरन्तरता दिएका थिए । उनको मृत्यु लण्डनमा १८९५ अगष्ट ५ (जन्म ः १८२० नोभेम्बर २८, जर्मनी) मा भयो ।
माक्र्सले जुन १, १८४७ मा लण्डनमा पहिलो संगठन ‘कम्युनिस्ट लिग’ स्थापना गरेका थिए । लिग अफ द जस्ट र ब्रसेल्स कम्युनिस्ट सम्वाददाता समिति एकीकरण गरेर यसको गठन गरिएको थियो । उनले फेब्रुअरी २१, १८४८ मा लण्डनमा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरे । त्यही वर्ष जुन १ देखि ‘न्यू राइनिश्चे जाइतुङ’ दैनिकको प्रकाशन शुरु भयो । उनले १८४२ मै जर्मनीमा ‘राइनिश्चे जाइतुङ’ को नामबाट पत्रिका प्रकाशन शुरु गरेका थिए, जसमाथि १ वर्षपछि सरकारले प्रतिबन्ध लगाएको थियो ।
१८६४ मा पहिलो अन्तराष्ट्रिय (श्रमिकहरुको अन्तर्राष्ट्रि संगठन) गठन भयो, जसमा माक्र्सलेबाकुनिन जस्ता अराजकतावादी हस्तीहरुसँग संघर्ष गरे । माक्र्सको जीवनकालमा मजदुरहरुले विद्रोहबाट मार्च २८,१८७१ मा राज्यसत्तामाथि विजय हासिल गरेका थिए, जसलाई पेरिस कम्युनभनियो । शुरुमा माक्र्स यो विद्रोहको पक्षमा थिएनन् । सर्वहारावर्ग सत्ता सञ्चालनका लागि योग्य भइसकेको छैन भन्ने उनको तर्क थियो तर कम्युन स्थापितपछि उनी यसलाई टिकाउनुपर्छ भनेर लागे। करिब २ महिनापछि पेरिस प्रतिकृयावादीकै पोल्टामा गयो । हजारौंँ मजदुरको हत्या भयो, बाँचेकाहरु बिस्थापित भए ।
द होली फेमिली (१८४४), द जर्मन आइडोलोजी (१८४६), द पोभर्टी अफ फिलोसोफी (१८४७), द कम्युनिस्ट म्यानिफेस्तो (१८४८), द एटिन्थ ब्रुमेयर अफ लुइस बोनापार्ट (१८५२), अ कन्ट्रिब्युसन टु द क्रिटिक अफ पोलिटिकल इकोनमी (१८५९), द सिभिल वार इन फ्रान्स (१८७१), द क्रिटिक अफ गोथा प्रोग्राम (१८७५)माक्र्सकामुख्य कृति हुन् । यी सबैभन्दा महत्वपूर्ण माक्र्सकोकृति ‘पुँजी’ (दास क्यापिटल) हो, जसको पहिलो भाग १८६७ मा, दोस्रो र तेस्रो भाग क्रमशः १८८५ र १८९४ मा (मृत्युपछि एंगेल्सबाट) प्रकाशित भएका थिए ।
माक्र्सको महत्वपूर्ण योगदान कसरी थाहा नदिई पुँजीवादी (बुर्जुवा) ले मजदुर (सर्वहारावर्ग) लाई शोषण गरेको हुन्छ भन्ने रहस्योद्घाटन हो । एकातिर उत्पादनका साधनमाथि स्वामित्व भएका पुँजीपतिले मजदुरलाई ज्याला दिँदा अतिरिक्त आय हडपेको हुन्छ भने अर्कातिर त्यही ज्याला बोकेर बजार पुग्ने मजदुरले किन्ने सामानमाथि आफूखुशी मूल्य निर्धारण गरेर नाफा आर्जन गर्छ । यसरी दुवै ठाउँमा पुँजीपतिले मजदुरमाथि शोषण गर्छ र पुँजीपति झन् सम्पन्न र मजदुर झन् अभावग्रस्त रहिरन्छन् । यसको समाधान समाजवाद र साम्यवाद हुन्छ, जहाँ उत्पादनका साधनमाथिको स्वामित्व निजी हुँदैन र खुला बजार व्यवस्था उन्मूलन हुनेछ । जनता इतिहासका निर्माता हुन, अहिलेसम्मको समाजको इतिहास वर्गसंघर्षको इतिहास हो भन्दै युगमानव कार्ल माक्र्सले मानिसलाई वस्तु (किनबेच हुने) होइन, साँच्चिकै मानिस बनाउने अभियानको थालनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्