संघीय समाजवादी फोरमले मन्त्रालयको बार्गिेनिङमा समय बिताउँदा मधेसवादी दल राष्ट्रिय जनता पार्टीले सरकारमा अवसर पाउने सम्भावना बढेको छ । राजपा नेता महन्त ठाकुर र अन्य नेताहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्वादपछि सरकामा आउन राजपा तयार भएको हो । सोमबार भएको सम्वादले राजपाका नेताले ओली मधेस आन्दोलन भन्दा अहिले धेरै जिम्मेवार भएको बताउन थालेका छन् । उनीहरु ओलीप्रति सकारात्मक र उत्साहित बनेका छन् ।
फोरमका अध्यक्ष उपेन्द्र यादवले एक राज्यसहित तिन मन्त्रालय मागकोमा सहमति हुन सकेको थिएन । मन्त्रालयको संख्यामा कुरा नमिले सत्तारोहण हुन ढिलाई भएको फोरमसँग राजपा पनि सरकारमा जाने सम्भावना बढेको हो । सरकार समिकरणसँगै एमाले माओवादी पार्टी एकीकरण प्रक्रिया पनि चल्दै छ । त्यसमा ओली संघीय गणतन्त्र नेपालको शक्तिशाली प्रधामन्त्री हुने पक्षमा छन् । यसका लागि उनले मधेसी दललाई सरकारमा सामेल गराउने अभ्यास सुरु गरेका हुन् ।
सरकारमा मधेसी दल किन ?
एमाले माओवादी पार्टी बिचको एकता सम्भवतः टुट्ने सम्भावना छैन । तर, कुनै कारणले पार्टी एकीकरण हुन नसक्तापनि सरकारको निरन्तरताका लागि ओलीले मधेसी दलको सम्लग्नता खोजेका हुन् । पार्टी एकीकरणको प्रक्रियामा माओवादीको बार्गेनिङ पावर कम गर्न र मधेसमा हुन सक्ने सम्भावित आन्दोलनलाई निस्तेज पार्न, भारतलाई मधेसी दलको प्रतिनिधित्व गराएको देखाउन र सन्तुलित सम्बन्ध बनाउन, काँग्रेस र पश्चिमा मुलुकले बाम अधिनायकवाद लागु हुने भन्ने भ्रम र प्रोपोगण्डा चिर्न पनि ओलीले मधेसी दललाई सत्तामा लान चाहेका हुन् ।
ओलीको शक्तिशाली प्रधानमन्त्री हुने अभ्यासमा कहिँ कतैबाट अवरोध नहोस भन्ने मनशाय छ । ओलीले संवैधानिक निकाय अदालत, अख्तिायार, निर्वाचन आयोग लगायत अव गठन हुने कुनैपनि निकायबाट अवरोध नहोस भन्ने चाहना हो । मुलतः अदालत मख्य चुनौती हो । सरकारका कदमै पिच्छे अदालतमा मुद्धा पर्ने र सरकारका विरुद्ध फैसला हुने खतरा देखेका छन् । निर्वाचनबाट रन्थनिएको काँग्रेसले सरकारलाई अफ्ठेरो पार्न अदालत प्रयोग गर्न सक्ने खतरा छ । यसलाई रोक्न ओली प्रचण्डलाई दुई तिहाई चाहिएको हो ।
मधेसी दलमध्ये फोरमलाई त्याउने कुरामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपनि सकारात्मक छन् । बाम पृष्ठभुमिका यादव चिनसँग पनि त्यत्तिकै नजिक छन् । राष्ट्रियता र समाजवादी कार्यक्रमको सन्दर्भमा यादव एमाले-माओवादीसँग निकट छन् । प्रचण्डको रोजाई फोरम भएकाले प्रधानमन्त्री ओलीले सरकारमा ल्याउन फोरमलाई प्रस्ताव गरेका हुन् ।
किन तयार भयो राजपा ?
फोरम सरकारमा जाने लगभग पक्का भएपछि मधेसको दोस्रो ठुलो दल राजपा एकाएक सरकारमा जान प्रधानमन्त्री ओलीसँग सम्वादमा गयो । मधेस आन्दोलनको महत्वपूर्ण हिस्सा बनेको संघीय समाजवादी फोरम मधेसी दलमा सबै भन्दा ठुलो पार्टी हो । दुई नम्बर प्रदेशमा फोरमकै नेतृत्वमा सरकार बनेको छ । संघीय सरकारमा फोरमनै जाने हो भने मधेसको राजनीतिमा राधन, स्रोत र प्रभावका हिसावले फोरम थप शक्तिशाली हुन्छ । त्यसमा दुई नम्बर प्रदेशमा भागबण्डामा सरकार चलाउने सहमति गरेका दुई दल मध्ये फोरम सरकारमा जाँदा प्रदेशमा फोरम नेतत्वको सरकारले निरन्तरता पाउने सम्भावना हुन्छ । एमाले माओवादीको समर्थनले प्रदेशमा फोरम सरकारले निरन्तरता पाउँछ । यो हुन दिनु भनेको पाँच वर्षसम्म राजपा साधन, स्रोत र प्रभावहिन हुनु हो ।
मधेसको राजनीतिमा पार्टी संगठन बिस्तारमा सत्ताको ठुलो महत्व हुने गर्छ । फेरी बिगतमा जस्तो घुर्कियाएर मन्त्रालय फुटाएर सरकारमा जाने सम्भावना पनि छैन । मन्त्रालयको संख्या संविधानमै तोकिएकाले बिचमा सत्तारोहणको सम्भावना कम हुन्छ । केन्द्र र प्रदेशमा फोरमको एकछत्र प्रभावलाई कुनै हालतमा रोक्न राजपाको सत्तारोहण अनिवार्य बनेको हो ।
प्रधानमन्त्री उत्साहित
फोरमले सरकारमा बार्गिेनिङ गरिरहेका समयमा राजपाको सरकामा जाने प्रस्तावले प्रधानमन्त्री ओली थप उत्साहित बने । फोरमको अनावश्यक बार्गेनिङलाई सन्तुलनमा राख्नपनि राजपालाई तत्कालै स्वीकार गरेका हुन् । घुर्कि लगाएर फोरम सरकारमा आएन भनेपनि त्यसको पुर्ताल राजपाबाट हुने सम्भावना हुन्छ । फोरमले मन्त्रालयमा बार्गेनिङ गरिरहेको अवस्थामा राजपा आफँै सरकारमा जान तयार हुँदा ओली उत्साहित बनेका छन् । फोरम र राजपा दुई सरकारमा गए नेपाली कांग्रेस मात्र प्रतिपक्षमा रहन्छ । कांग्रेसलाई थप कमजोर बनाउन सकिन्छ भन्ने ओली प्रचण्डको बुझाई हो ।