Logo
  माघ १६, २०७९ सोमबार

महासमितिको वैठकवाट पुनःजीवन पाउला त काँग्रेसले ?



नेपाली काँग्रेसका कार्यकर्ताले कार्यकताले आसन्न महासमिति बैठकले तयार गर्ने विधान, नीति र कार्यदिशाको तिब्र प्रतिक्षा गरिरहेका छन् । महासमिति वैठकले पारित गर्ने विधान, नीति र कार्यदिशाले भोलिको काँग्रेस कस्तो बन्ने भन्ने निक्र्योल गर्नेछ । काँगे्रस पार्टीको आन्तरिक जीवनमा महत्वपूर्ण मानिएको महासमिति वैठकमा अहिले नेपाली काँग्रेस सघन रुपमा जुटेको छ ।

काँग्रेसका सामु महासमिति वैठकमा छलफलमा ल्याइनुपर्ने पार्टीका आन्तरिक विषयसँगै अहिले राष्ट्रीय चुनौतीका चाङ उत्तिकै थुप्रिएका छन् । यी सबै विषयमा काँग्रेसको आसन्न महासमिति वैठक सबै लागि चासोको विषय बनेको छ ।

के–के हुन सक्छन्ः महासमितिका एजेण्डा
केन्द्रीय कार्यसमिति वैठकमा मात्र होइन, समग्र काँग्रेसजन भित्रै आरोप र प्रत्यारोपका रुपमा तिब्र बनेर थातिरहेको तीनवटै तहको निर्वाचन हारको समीक्षा अहिले पनि ज्युँका त्यूँ छ । उक्त विषयको बहसले अहिले पनि पर्टीभित्रको ध्रुविकरणलाई प्रभावित वनाइरहेको छ । यस विषयमा विगतमा पार्टी भित्र देखिएको आन्तरिक द्वन्द्वले महाधिवेशनका एजेण्डा प्रभावित नहोलान् भन्न सकिन्न । यसका अलावा, ने.वि.संघको केन्द्रीय समितिको वहुमतले पारित गरेको नेविसंघको विधानसँगै त्यसले पार्टीको बैठकमा उत्पन्न गरेको ‘नोट अफ डिसेन्ट’ प्रकरणले महासमिति वैठकलाई प्रभाव पार्ने देखिन्छ । यसका अलावा पार्टी सभापतिले विधान मिचेर पदाधिकारीको नियुक्ति, विभाग गठन र अन्य कार्यशैलीका वारेमा पनि महासमिति वैठकमा बहस हुने संभावना रहेका छ ।

महासमिति वैठकको बहसको मूल विषय भनेको पार्टीको विधान हो । भर्खरै मात्र विधान मस्यौदा समितिले तयार गरेको पार्टीको विधानको मस्यौदा केन्द्रीय समितिमा पेस गरेको छ । पार्टी भित्रको ध्रुविकरणलाई हेर्दा केन्द्रीय समितिमा उक्त विधान सहजै पास हुने अवस्था देखिदैन ।

केन्द्रीय समितिमा नै फरक मत आउने र फरक मतकासाथ विधानको मस्यौदा महासमितिको वैठकमा प्रस्तुत भयो भने पार्टी भित्रका गुटहरुले आफनो शक्ति प्रर्दशन र आंकलनका रुपमा यस अवसरको उपयोग गर्ने निश्चित छ । विधान, कार्यदिशा र कार्यनीतिलाई हतियार वनाएर पार्टी भित्रको शक्ति प्रर्दशनी स्थलका रुपमा महासमिति बैठक भयो भने, यसमा अचम्म नमाने हुन्छ ।

अवको काँगे्रस कस्तो हुने ? कस्तो वनाउने ? उक्त कार्यका लागि कस्ता रणनीति अख्तियार गर्ने भन्ने विषयमा यो महासमिति वैठक केन्द्रीत हुनुपर्ने आम कार्यकर्ताको राय छ । तर, काँगे्रस भित्रका विगतका अभ्यासलाई हेर्दा विधानको विवादवाटै महासमिति वैठक सकियो भने आश्चार्य नमाने हुन्छ ।
पार्टी भित्रको संस्थापन पक्ष आरोपवाट घेरिएको छ । निर्वाचनमा पराजयको जिम्मेवारी त छदै छ, यसका अलावा पार्टीको विधानको पालना नगरेको, पार्टीका विभाग र समिति निर्माण गर्न नसकेको, भातृ एवम् शुभेच्छुक संस्थालाई गतिशील वनाउन नसकेको, मुलुकका सामु देखा परेका चुनौतीसँग जुध्न सक्ने काँग्रेस निर्माण गर्न नसकी पार्टी नेतृत्व स्वयम् नै सत्ता पक्षको लञ्च र डिनरमा रमाउन पुगेकोजस्ता गम्भिर आरोपवाट संस्थापन पक्ष घेरिएको छ । अहिलेसम्मको संस्थापन इतरका गतिविधि हेर्दा यस पटकको महासमिति वैठकमा उनीहरु संस्थापन पक्षका विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुने लक्षण देखिएको छ ।

विलखबन्द छः संस्थापन इतरपक्ष
काँग्रेसले तीनै तहका निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिका देखाउँदै संस्थापन इतरपक्षले विशेष महाधिवेशन माग गरे पछि काँग्रेसको आन्तरिक जीवनमा तिव्र ध्रुर्विकरण बढेको हो । यसै सन्दर्भलाई लिएर काँग्रेस नेतृत्वको युवा पंक्तिले नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठायो । निर्वाचन समीक्षा बैठकमा संस्थापन इतरपक्षले देउवालाई हारको नैतिक जिम्मेवारी लिन ठूलै दवाव दियो ।

निर्वाचन समीक्षा गर्न डाकिएको केन्द्रीय कार्यसमिति बैठकमा १३ दिनसम्म समीक्षा चल्यो । यो मुद्दामा पनि संस्थापन इतर पक्षले खासै अडान लिन सकेको देखिएन । फरक मतमा स्पष्टताकासाथ अडान लिन नसकेको संस्थापन इतरपक्ष ढुलमुले देखियो । उनीहरुले उठाएको मुद्दाले पार्टीमा खासै फरक भएको देखिएन ।

निर्वाचन समीक्षाको मुद्दामा अडान लिन नसकेको संस्थापन इतरपक्षले त्यसपछि–अग्रिम महाधिवेशनको मुद्दा उठायो । केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औँ महाधिवेशनको मिति नै केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरे । यो मुद्दामा पनि संस्थापन इतरपक्ष लामो समय टिक्न सकेन । बरु, संस्थापन पक्षका नेता देउवाले बहुमतकै आधारमा दुई वर्ष पछि पदाधिकारी मनोनयन गरे ।

विजयकुमार गच्छदारलाई पार्टी उपसभापति वनाए । यसरी उपसभापति बनाउँदा विधान उल्लंघन गरेको आरोप लाग्यो । नेविसंघको विधानको विवादमा पनि संस्थापन इतरपक्षले गहकिलो अडान लिन सकेन । गत कात्तिक २०को केन्द्रीय समिति बैठकमा संस्थापन इतरले फरक मत नै लेखेर चित्त बुझायो । यसभन्दा अगाडि चित्त नवुझेको निर्णयमा मौखिक असहमति जनाउने परम्परा थियो । यस पटक लिखित रुपमा फरक मत राखेको कुरालाई नै ठूलो उपलब्धी ठानियो ।

विधान परिमार्जनको पेचिलो विषयले महासमिति वैठकमा प्रवेश गर्दैछ । नेपाली काँग्रेसको प्रस्तावित विधानका विषयमा केन्द्रीय समितिमा छलफल हुन वाँकी नै छ । अहिलेको प्रस्तावित विधानमा संस्थापन र संस्थापन इतरपक्षको धारणा कस्तो आउँछ र महासमिति बैठकले कुन रुपमा विधान पारित गर्छ त्यो भने हेर्न वाँकी नै छ ।

अहिलेसम्मका गतिविधीलाई हेर्दा संस्थापन इतरपक्षमा पनि मुद्दामा प्रस्टता देखिएन । उठाइएको मुद्दालाई पनि निरन्तरता दिन नसक्नु संस्थापन इतरपक्षको ठूलो कमजोरीका रुपमा काँग्रेस भित्रै चर्चा गरिन्छ ।

महासमिति वैठकः संभावित दृश्य
महासमिति वैठकलाई मिनि महाधिवेशनका रुपमा परिक्षण गरिने निश्चित छ । यस अर्थमा, काँगे्रस भित्र रहेका विद्यमान शक्ति समूहले यो बैठकलाई आ–आफनो प्रतिष्ठाको विषय वनाउने निश्चित छ । महासमिति वैठक मुख्यतयाः तीनवटा पक्षको आन्तरिक शक्ति परिक्षणवाट गुज्रने निश्चित जस्तै छ ।

काँग्रेसमा कोइराला विरासतको परिक्षण
अधिकांश समय कोइराला परिवारको नेतृत्व र सदासयतावाट गुज्रिएको काँगे्रसमा अहिले नयाँ बहस शुरु भएको छ–काँग्रेसको साखःलाई वचाउन र बलियो पार्टी वनाउन कोइराला परिवारको विरासतले मात्र सक्दछ ।’ यो बहसले विस्तारै आकार लिदैछ र उत्साहजनक ढंगले यो बहसमा कार्यकर्ता सहभागी हुँदैछन् । यसैको प्रतिछाँयाका रुपमा कोइराला परिवार एक भएको सन्देश दिने कोशिष गरिँदैछ ।

कोइराला विरासतको आवश्यकताको वारेमा यो महासमिति वैठकमा प्रत्यक्ष छलफल त नहोला । तर, सहभागिको रुझानको संकेत अवश्य मिल्नेछ । कोइराला विरासतको मुद्दाको ‘न्युक्लियस’का वरिपरी महासमिति सदस्यको आकर्षण कस्तो देखिन्छ भन्ने कुराले कोइराला विरासत पक्षधर नेतृत्वको भविष्य गाँसिएको छ । जसको सिधा प्रभाव र असर आगामी महाभिवेशनमा पर्नेछ ।

आशंकामा देउवा पक्षः तिव्र चलखेलको संभावना
अहिलेको देउवा पक्षधर (संस्थापन पक्ष)को मुख्य चुनौती भनेकै कोइराला विरासतको नेतृत्वको आकर्षण हो । यस महासमिति वैठकमा त्यो आकर्षण स्थापित भयो भने देउवा पक्षधरको पकड कमजोर हुने पक्का छ । यस्तो अवस्थामा देउवा वा देउवा पक्षधरवाट महासमिति सदस्यलाई अनुचित प्रभावमा पार्ने अधिक कसरत हुने आशंका काँग्रेस भित्रै गरिदैछ । विगतको ट्रेड युनियन काँग्रेसको नेतृत्वको चुनावको मनोनयन भइसकेपछि ‘बूढानीलकण्ठको थैली’ खुलेको चर्चा सायदै सेलाएको छैन् ।

पार्टीको सबैभन्दा ठूलो र धेरै सदस्य रहेको भातृ संगठन ट्रेड युनियन काँग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षको कब्जामा जाने संकेत देखिएपछि आरजुले बुढानीलकण्ठ निवासबाटै थैली खोलेको चर्चा र मतदातालाई पैसा बाँड्दा बाँड्दै देउवा पक्षका युनियन नेता रंगेहात समातिएको कुरालाई हेर्दा देउवा पक्षले गर्नसक्ने आर्थिक चलखेल आरोप मात्र होइन, यो यथार्थ रहने कुरामा काँग्रेस भित्रै चर्चा चल्न थालेको छ ।

शिक्षक संघ, कर्मचारी संघ, वकिल, इन्जिनियर र ट्रेट युनियनका अधिवेशनमा देउवा पक्षको लगातार हारले देउवा पक्ष आत्मरक्षामा उत्रन थालेको संकेत देखिन्छ । यसैले पनि पार्टीको महाधिवेशनको सम्मुख सम्पन्न हुन गइरहेको महासमिति वैठकलाई प्रभावित पार्ने कार्यमा देउवा पक्षधरमाथि निरन्तर शंका वढिरहेको छ ।

धुमिल अनुहारकोः तेश्रो पक्ष
महासमिति वैठकमा तेश्रो पक्षको वैचारिक उपस्थिति र आयतन कस्तो हुन्छ भनेर अहिले नै आँकलन गर्न सकिदैन । विगतको महाधिवेशनमा तेश्रो धार खडा गरेका कृष्ण सिटौला पक्षधर कुन धारमा उभिने हुन अहिले पनि निश्चित छैन । सिटौलाको धार कोइराला परिवारको निकट देखिन थालेको अहिलेको अवस्थामा महासमिति वैठकमा उनका भिन्न एजेण्डा रहने छन् या कोइराला वा देउवा निकट रहने गरी आउने छन् – त्यो हेर्न वाँकी छ ।

कोइराला विरासतको आर्शिवादमा विगतमा सभापति पदका उम्मेद्वार वनेका नेता रामचन्द पौडेल र कोइराला परिवार विचको आन्तरिक संम्बन्ध कस्तो रहन्छ भन्ने कुराले पनि तेश्रो धारको निर्क्योल गर्नेछ । केही युवा नेताले फरकमतका साथ पार्टी भित्र सुधारको अभियान चलाएको चर्चा पनि छ । तर, अहिलेसम्मको स्थितिलाई र काँग्रेसको परम्परालाई हेर्दा, यी नेतामा पनि ‘दाईको दौरा’ समातेर राजनीतिमा माथि जाने पवृति पुरानै भएकोले उनीहरुले तेश्रो धारको वलियो आयतन लिन सक्छन भनेर विश्वास गरिहाल्न सकिन्न ।

निराशामा कार्यकर्ताः आरोप र असन्तुष्टी
अहिले काँग्रेसका वास्तविक कार्यकर्ता भनिरहेका छन्–‘काँग्रेसको राजनीति, व्यक्तिगत स्वार्थ पूरा गर्ने पेसा बन्न पुग्यो । पैसावाला मात्र नेता बन्ने अवसर पाउन थाले । नेतामा हुनुपर्ने गुण, त्याग र समर्पणमा स्खलन आउन थाल्यो । पार्टीमा अनुसाशित र परिवर्तनका पक्षधरलाई ‘शत्रु’को व्यवहार गर्न थालियो । पार्टी नेतृत्व चरित्रका हिसावले पनि कमजोर देखिन थाल्यो ।

नेताका निवासमा हाजिरी नजनाउने र ‘दाई हजुर, जयनेपाल’ भनेर ‘घोसेमुन्टो’ नलगाउने नेता र कार्यकर्तालाई शंका गर्ने र उनीहरुलाई अवसरवाट वञ्चित गर्ने काम नेतावाटै गरियो । कार्यकतालाई जनतासँग होइन, केवल आफैसँग मात्र जोडेर राख्ने प्रवृत्ति नेतृत्वमा हावी भयो । यस्तो वेथितीवाट काँगे्रस नसुध्रिए काँगे्रस झन कमजोर भएर जानेछ ।’ आधार तहमा रहेर राजनीतिक रुपमा कुनै लोभ र लाभ नलिएका निस्वार्थ रुपमा पार्टीमा काम गर्ने कार्यकर्ताको यो चिन्तालाई काँग्रेसको नेतृत्वले ग्रहण गर्न सकिरहेको छैन् । यसैले पनि कार्यकर्ताहरुमा नैराश्यता छाएको छ ।

सरकारसँगको सम्बन्धमाः अस्पष्ट काँग्रेस
गान्धीसँग जैन दर्शनबाट ज्ञान लिएको दर्शनको नाम हो–अनेकान्तवाद । त्यस दर्शनको मुख्य आधार भनेको–‘तपाई सत्य हुन सक्नुहुन्छ, तर अर्को पनि सत्य हुनसक्छ । म मात्रै सत्य छु भन्ने दावी गर्नु हुँदैन’ । यहि दर्शनमा गान्धीको विचार एवम् विश्वास थियो । अर्थात, आफ्नो अस्तित्वको दावी गरिरहँदा अरुको पनि अस्तित्वलाई स्वीकार गर्नुपर्छ भन्ने हो । आफुलाई गान्धीवादी भनेर वेलावखतमा भनिरहने काँग्रेसको नेतृत्वमा यो कुराको चेत हराएको छ । अरुले सरकार चलाइरहेको कुण्ठावाट काँगे्रसको नेतृत्व वाहिर आउन नसकेको उदाहरण थुपै्र छन् । सरकारले गरेका राम्रा कामको प्रशंसा गर्दा काँग्रेसको शाखः कमजोर हुदैन । झन, राजनीतिक परिपक्वता देखिन्छ । तर, विरोधको लघुताभाषवाट काँग्रेसको नेतृत्व वाहिर आउन सकेको देखिदैन् ।

सरकारका नराम्रा कामका वारेमा कडा आलोचना गर्न पनि डराउनु पर्दैन । तर, सवै कुरामा विरोधका लागि विरोध मात्र गर्ने शैली काँग्रेसमा घनिभूत बन्न थालेको छ । सरकारका कामकारवाहीमा प्रतिपक्षको विरोध वा फरक मत स्वरुप परिवर्तित भएका घटनाको फेहरिस्त काँग्रेसले तयार गर्न सकेको देखिदैन् । सरकारसँग के कुरासम्म सहमत रहने र सहयोग गर्ने ? र, कस्ता कुरामा विमती, अडान र आन्दोलन गर्ने भन्ने स्पष्टता ल्याउन नसकेसम्म काँग्रेसको शाखः उच्च बन्न सक्दैन ।

आम नागरिकको दृष्टिमाः नेपाली काँग्रेस
कुनै पनि राजनीतिक दल कार्यकर्ताको समर्थन र प्रशंसावाट मात्र प्रभावशाली बन्न सक्दैन । दलको प्रभावशालिता जनताको दृष्टिमा निहित रहन्छ । जनताको दृष्टिमा असल हुन नसकेका दलहरु प्राविधिक रुपमा क्षणिक शक्तिशाली देखिए पनि निरन्तरतामा कमजोर सावित भएका उदाहरण नेपालमा धेरै छन् । वर्तमान सरकारले लोकप्रिय काम गर्न नसक्नु काँग्रेसका लागि लाभको विषय त बन्ला तर यतिले मात्र काँगे्रसको आयतन वढेको ठान्नु मूर्खता हो ।

अहिले पनि आम नागरिकको ठूलो हिस्सामा काँग्रेसको आकर्षण वढ्न सकेको देखिन्न । विगतको कार्यशैली, आचरण र व्यवहारका कारण नागरिकका वीचमा काँगे्रसको आकर्षण वढेको छैन । वर्तमान सरकारप्रतिको आकर्षण कमजोर वन्दै जानु र विकल्पको रुपमा रहेको काँगे्रसको आकर्षणमा पनि वढोत्तरी नहुने होभने, त्यसपछिको राजनीतिले कुन वाटो लिने हो ? भन्ने चिन्ता अहिले आम नागरिकमा देखिन थालेको छ ।

काँगेसः नयाँ विषयमा प्रवेश गर्ला त ?
भ्रष्टाचार, हत्या, वलत्कार, हिंसा, आतंक, महंगी, कालोबजारीजस्ता विषय दैनिक अखबारका प्रथम पृष्ठमा मुख्य समाचार बन्ने क्रम जारी छ । नीतिगत बाटोबाट हुने भ्रष्टाचार समेत संस्थागत हुँदै गएका कुरा आइरहेका छन् । राष्ट्रिय गौरवका योजनाका ठेक्का सेनालाइ दिँदा ‘वजेट फिक्सिंङ्ग’ गरी लागत वढाएर ठेक्का दिएको चर्चा चलिरहेको छ । सेनाले हतियारका भरमा नागरिकलाई आतंकित वनाएर विकास निर्माण गरेको चर्चा संसदीय समिति भित्र नै सांसदले उठाउन थालेका छन् ।

बुढीगण्डकी प्रकरण सेलाउन नपाउँदै, ठेक्का स्वीकृत गर्ने निकायले समेत ठेक्का स्वीकृतिको जिम्मा प्रधानमन्त्री कार्यालयलाई भन्दै नीतिगत रुपमा भ्रष्टाचार गर्ने बाटो खोलिदिएको छ । राष्ट्रबंैक भवन निर्माणको विषय रहस्यमय बनेर बाहिर आएको छ । वाइडवडी जहाज किन्दा आर्थिक रुपमा ठूलो अपचलन भएको विषय उठिरहेको छ । मुलुकको विकासको प्राथमिकताको साझा अवधारणा के हो भन्ने स्पष्ट खाका तयार नगरी लहडका भरमा योजना तर्जुमा भइरहेका छन् । नागरिकको वर्तमानको आवश्यकता भन्दा ठिक उल्टा, राष्ट्रले धान्नै नसक्ने विकासका आयोजना अगाडि ल्याइदैछ ।

शान्ति र सामाजिक सुरक्षाका हिसावले पनि सामान्य नागरिकको जीवन असुरक्षित बन्दैछ । सामान्य नागरिकले न्याय पाउन सकिरहेका छैनन । कंचनपुरकी निर्मलाको वलत्कार पछिको हत्या र प्रहरी अनुसंन्धानमा देखिएको लापरवाहीवाट पीडकले उन्मुक्ति पाएका धेरै घटनाले मुलुक अक्रान्त छ । विगत सशस्त्र द्न्द्वकालिन पीडितले न्याय नपाएका कारण विष सेवान गर्ने देखि मानव बम वनेर आत्मदाह गर्ने कुरा आइरहेका छन् । राष्ट्रमा देखिएका यस्ता घटनाका वारेमा या त काँग्रेस वेखबर छ, या त औपचारिकताका लागि एउटा वक्तव्य दिएर कर्तव्य पूरा भएको भ्रममा छ ।

मुलुकमा देखिएका यस्ता विभिन्न रुपका घटनाका वारेमा आसन्न महासमिति वैठकले काँग्रेसको कार्यदिशा, जिम्मेवारी र भुमिकाका वारेमा दिशानिर्देश गर्ला कि नगर्ला ? यो आम नागरिकको चासोको विषय बनेको छ ।

पार्टी भित्रको आन्तरिक विषयका रुपमा रहेको विधान, पार्टी सुदृढीकरण, पार्टीको विकासका योजना प्रतक्ष्य रुपमा काँग्रेसका कार्यकर्ताको चासोको विषय हो । यस विषयले आम नागरिकलाई प्रभावित पार्दैन । आम नागरिकका सवालमा, मुलुकको विकास र समृद्धिको सवालमा काँग्रेसको महासमिति वैठकले नयाँ ढंङ्गले प्रवेश गर्ला कि नगर्ला ? यसको प्रतिक्षामा आम नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्