Logo

प्रधानमन्त्रीको गृहनगर दमकमा चर्पीको सकस



दमक, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका साविकका सबै वडा खुल्ला दिसामुक्त घोषणा भैसके । तर, नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । नगरपालिकाले नै उपलब्ध गराएको तथ्यांक अनुसार अझै २ सय ७० घरमा चर्पी नै छैन ।

वडाबाट संकलन गरिएको तथ्यांकअनुसार करिब ३ सय घरमा चर्पी बनाउन बाँकी रहेको देखिए पनि वडाअध्यक्षहरुले संकलन गरेको तथ्यांकअनुसार करिब ५ सय घरधुरीमा चर्पी बनाउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना बताउँछन् ।

दमक नगरपालिकासँग असुरक्षित चर्पीको तथ्यांक नै छैन । नगरपालिका र वडाअध्यक्षहरुसँगको तथ्यांक कूल चर्पीको तथ्यांक हो । “हामीलाई सुरक्षित असुरक्षित भन्नेबारे अहिलेसम्म कहीं कतैबाट जानकारी नै छैन”, वडा नं। ३ का अध्यक्ष नवीन बराल भन्छन्, “यसभित्र कति असुरक्षित चर्पी छन्, हामीलाई केही पनि थाहा छैन ।”

राष्ट्रिय जनगणना २०६८ अनुसार दमक नगरपालिकामा रहेका १८ हजार १ सय ४ घरधुरीमध्ये ५ हजार ७ सय ९४ प्रतिशत असुरक्षित चर्पी रहेका थिए भने १० हजार ४ सय ७० सुरक्षित चर्पी रहेका थिए । यस तथ्यांकलाई आधार मान्ने हो भने कूल चर्पीको ३५।६२ प्रतिशत चर्पीहरु असुरक्षित चर्पी रहेको देखिन्छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसमेत असुरक्षित चर्पीको तथ्यांक आफूहरुसँग नभएको बताउँछन् । “वाटरसिल प्यान नभएको चर्पी असुरक्षित मान्ने हो भने दमक नगरपालिकाभरिका करिब २५ प्रतिशत चर्पी फेर्नुपर्ने हुन्छ”, ओलीको भनाइ छ ।

तथ्यांकमै गडबडी
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको तथ्यांक अनुसार दमकका १ सय १९ घरमा सुरक्षित चर्पी छैन । “नगरपालिकाका सबै वडा खुल्ला दिसामुक्त घोषणा हुँदा नगरपालिकाभरमा ७ सय ४९ घरधुरीमा चर्पी थिएन”, प्रमुख प्रशासकीय अधिकृत तिम्सिना भन्छन्, “त्यसपछि पनि नगरपालिकाको सहयोगमा ३ सय ८३ घरधुरीमा चर्पी बने भने सोही अवधिमा ९६ घरधुरीले आफ्नै लगानीमा चर्पी बनाए ।”

वडाअध्यक्षहरुको भनाइलाई आधार मान्ने हो भने तथ्यांक कहालीलाग्दो छ । नगरपालिकाले नै उपलब्ध गराएको तथ्यांकअनुसार हालको वडा नं। ३ का ९८ घरधुरीमा चर्पी छैन । अध्यक्ष नवीन बरालका अनुसार असुरक्षित चर्पी त यसमा गणना नै गरिएको छैन ।
दमक नगरपालिकामा आयोजना गरिएको छलफल कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षसमेत रहिसकेका दमक–८ का वडाध्यक्ष पशुपति राज गौतमले मापदण्ड अनुसारका चर्पी गणना गर्ने हो भने दमक नगरपालिकामा कम्तिमा पनि दुई हजार चर्पी बनाउनुपर्ने बताए ।

उनका अनुसार अहिलेसम्म चर्पी गणना गरिएको छ, सुरक्षित असुरक्षित हेरिएको छैन । यसैगरी वडा नं। १ को पूर्वी भेकको सुकुम्बासी बस्तीमा चर्पी नै छैन । वडा नं। ७ र ८ मा दर्जनौं घरधुरीमा चर्पी बनाउने जग्गा नै छैन । वडा नं। ५ को डिकिनी खोलामा चर्पीको दिसा सिधै खोलामा मिसाइएको छ ।

वडा नं। २ का अध्यक्ष प्रजापति सापकोटा आफ्नो वडामा मात्र सयभन्दा बढी घरमा चर्पी नभएको बताउँछन् । वडा नं। १ मा हालसालैमात्र ८० नयाँ घर थपिएको र तीमध्ये अधिकांश घरमा चर्पी नभएको वडाध्यक्ष तारा अधिकारीको भनाइ छ । यी थपिएको घरमा चर्पी भए नभएको तथ्यांक नगरपालिकासँग छैन । तथ्यांक अनुसार वडा नं। १ मा मात्र ७५ घरधुरीमा चर्पी बन्न बाँकी छ, जसमा यी घरधुरी जोड्दा १ सय ५५ घरमा सुरक्षित चर्पी बन्नुपर्ने हुन्छ ।

नगरपालिका सधैंभरि अन्यौलमै
सरसफाइ गुरुयोजना २०६८ अनुसार कुनै पनि इकाइ खुल्ला दिसामुक्त घोषणा हुनका लागि त्यसभित्रका सम्पूर्ण घरधुरीको सुरक्षित शौचालयमा पहुँच हुनु अनिवार्य छ । तर, दमक नगरपालिकाका तत्कालीन वडाहरु खुल्ला दिसामुक्त घोषणा हुँदा कुनै पनि वडाका सतप्रतिशत घरधुरीमा सुरक्षित चर्पीको पहुँच थिएन ।

स्थानीय तह पुनःसंरचना हुनुअघि खुल्ला दिसामुक्त घोषणा गरिएको साविक वडा नं। २ मा १८ घरधुरी चर्पीविहिन थिए भने वडा नं। ३ मा ७३ घर र वडा नं। ४ मा १५ घरधुरी चर्पी विहिन थिए । हाल वडा नं। ९ मा गाभिएको तत्कालीन वडा नं। १५ खुल्ला दिसामुक्त घोषणा हुँदा ५८ घरमा चर्पी थिएनन् भने हाल वडा नं। १० मा गाभिएका तत्कालीन वडा नं। १७ मा ३४, वडा नं। १८ मा ४० र वडा नं। १९ मा ३६ घरमा चर्पी नबन्दै खुल्ला दिसामुक्त घोषणा भए ।

“हामीलाई कसैले पनि कति चर्पी बन्यो भने खुल्ला दिसामुक्त घोषणा गर्न मिल्छ भन्ने कुरा बताएन”, तत्कालीन वडा नागरिक मञ्चका संयोजकसमेत रहेका वडा नं। ३ का वडाध्यक्ष नवीन बराल भन्छन्, “९०–९५ प्रतिशत पुग्यो भने गर्न पाइन्छ भन्ने थियो, गरियो ।”

बुधबारको बैठकमा नगरपालिकामा उपस्थित वडाध्यक्षहरु, वातावरण शाखा तथा सामाजिक शाखाका कर्मचारीहरुले समेत प्राविधिक विषयमा अनभिज्ञता प्रकट गरे । “९५ प्रतिशत घरधुरीमा चर्पी बनेमा खुल्ला दिसामुक्त घोषणा गर्न पाइन्छ भन्ने थियो, त्यसै गरियो”, सामाजिक शाखाका डम्बर बराल भन्छन्, “पहिले नै प्राविधिक विषय थाहा पाएको भए पहिल्यै समस्या समाधान गरिन्थ्यो ।”

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्राविधिक रुद्रबहादुर न्यौपाने दमक नगरपालिकाभित्र रहेका सबै वडा नागरिक मञ्चका संयोजक र सामाजिक परिचालकहरुका लागि सरसफाइ प्रवद्र्धनसम्बन्धी गोष्ठी सञ्चालन गरिएको बताउँछन् । “उहाँहरुका लागि हामीले गोष्ठी गरिएको हो, तर उहाँहरुले प्राविधिक विषय बिर्सिनुभयो होला”, उनले भने, “उहाँहरुले सबै घरधुरीमा चर्पी नबनीकनै वडा घोषणा गर्नुभएको हो भन्ने कुरा धेरै पछिमात्र थाहा पायौं ।”

नगरपालिकामा खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने बाह्य निकाय आवश्यक नभएकोले जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले दमक नगरपालिकामा सहजीकरणको जिम्मेवारी कुनै निकायलाई दिएन । डिभिजन कार्यालयका प्राविधिक न्यौपाने समेत नगरपालिकाबाट प्राप्त तथ्यांकको आधारमा समितिले निर्णय गरेको र नगरपालिकाले पटक पटक खुल्ला दिसामुक्त घोषणा गर्न तयार रहेको विवरण आफूहरुलाई दिएकोले यहाँ सहजीकरणको जिम्मेवारी नदिइएको बताउँछन् । “आवश्यक पर्दा म आफै पनि नगरपालिका पुगेको छु, विभिन्न वडामा गएर अनुगमन गरेको छु”, उनले भने, “अहिले असुरक्षित चर्पी पनि धेरै देखिए।”

प्रतिक्रिया दिनुहोस्