Logo

भारतबाट एकैपटक १८ जंगलीहात्ती झापा पसे, स्थानीय त्रसित



झापा, असार १४ । बुधबार राति भारतबाट झापाको ज्यामिरगढीमा १८ वटा जंगली हात्ती पसेपछी स्थानिय त्रसित बनेका छन् । ज्यामिरगढी स्थित चियाबगान हुँदै बस्ति नजिकैको जंगलमा बच्चा सहित आएको हात्ति बसेपछि जंगल आसपासका गाउँले हात्तीले उपध्रो गर्ने डरले त्रसित बनेका हुन् ।

साना छावा सहित १८ वटा हात्ती आफुले गनेको ज्यामिरगढी १० का स्थानिय श्याम राजवंशीले बताए । बाहुनडाँगी तिर हात्ती बढि आउने गरेको सुने पनि आफु बसेको स्थान सम्म हात्ती पहिलो पटक आएको देखेको राजवंशीको भनाई छ ।

मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा मध्यरातमानै छिरेको हात्ती खेत बिचमा रहेको झाडि जंगलमा पसेपछि विहिबार दिनभर हात्ती हेर्ने स्थानियको भिडनै लागेको थियो । हात्ती गाउँ नजिकैको जंगल र चिया बारीमा पसेपनी क्षति भने हाल सम्म केहि नगरेको वडाध्यक्ष गुणराज भट्टराईले बताए ।

हात्ती बसेको चिया बगानबाट करिब दुई किलोमिटरको दूरीमा ज्यामिरगढी माध्यमिक विद्यालय रहेकाले बिहिबार दिनभर विद्यालयमा हात्तीकै कारण पढाई समेत नभएको उनले बताए । बस्ती नजिकै हात्ती आउँदा हात्ती भएको स्थानमा ठुलो भिड लागेको थियो । भिडलाई नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले हात्तीको अवस्था हेरी जिल्ला वन कार्यालय सँगको समन्वयमा हात्ती आएकै स्थान तर्फ फर्काउने तयारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्