Logo
  माघ २२, २०७९ आईतबार

बिर्संदै गएका द्रोणाचार्य क्षेत्री



झापाली जनताका प्रिय नेता द्रोणाचार्य क्षेत्रीको निधन भएको आज २५ वर्ष बितिसकेको छ । ४८ वर्षको उमेरमा भएको क्षेत्री निधनले कम्युनिष्ट आन्दोलन, संसद र एक अभिभावक झापाले गुमाउँदा झापाली स्तब्ध बनेका थिए ।
बिक्रम सम्वत् २००२ साल मंसिरमा तेह्रथुमको चुहानडाँडामा जन्मिएका द्रोणाचार्यको जीवन देश र जनताको पक्षमा संघर्ष गर्दा गर्दै बितेको थियो । राजनीति, साहित्य, पत्रकारिता, शिक्षण, अधिकारकर्मी अनेक भूमिका निभाएका द्रोणाचार्यले पुर्याएको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ ।
स्नातक तहसम्मको अध्ययन गरेका द्रोणाचार्यले २०२२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गरेका थिए । तत्कालिन समयमा माक्र्सवादको राम्रो अध्ययताको रुपमा पहिचान बनाएका थिए । द्रोणाचार्य पंचायती व्यवस्थाका खरो आलोचक थिए । झापामा क्रान्तिकारी कम्युनिष्ट युवाले २०२७(२८ मा सुरु गरेको झापा बिद्रोहमा उनी सहमत भएनन् । उनले हिंसाको अपरिपक्क बाटोबाट लक्ष्यमा पुग्न नसकिने भन्दै असहमति प्रकट गरे ।
द्रोणाचार्य झापा बिद्रोहमा मात्र होइन २०३७ सालको जनमत संग्रह बहिस्कार गर्ने तत्कालिन मालेको नीति बिपरित बहुदलको पक्षमा उभिए । जनमत संग्रह प्रयोग गरेर पंचायत अन्त्य गर्नुपर्ने उनको धारणा थियो । द्रोणाचार्य लगायतको दवावले तत्कालिन मालेले अन्त्यमा जनमत संग्रह प्रयोग गर्ने नीति लिन बाध्य भएको थियो ।

?

तत्कालिन मालेले पंचायत उपयोग नीति लिएपछि २०४३ सालमा भएको राष्ट्रिय पंचायत निर्वाचनमा द्रोणाचार्य झापाबाट अत्यधिक मतले विजयी बनेका थिए । जनपक्षीय उम्मेद्वार बनी निर्वाचिता दोर्णाचार्य क्षेत्री, पद्मरत्न तुलाधर, जागृत भेटवाल, भीमबहादुर श्रेष्ठ र सोमनाथ अधिकारी प्यासी राष्ट्रिय पचायतमा प्रतिपक्षको भूमिकामा थिए । दोर्णाचार्यले सदनमा बोल्दा सरकार र दरबार थर्कमान हुन्थ्यो । राष्ट्रिय मुद्धामा पंचायतको सातो लिने दोर्णाचार्य जनताको नेताका रुपमा स्थापित भए ।
पंचायत बिरोधी विचारले उनको लोकप्रियता चुलिँदै गयो । पंचायत समर्थक नेता निर्वाचित हुँदा आफुलाई शासक ठान्थे । जनताको नजरबाट टाढा हुन्थे । जनतासँग सहकार्य गर्ने त परै जाओस आफ्ना मतदाता भेट्दा नमस्कारको अपेक्षा गर्दथे । तर, द्रोणाचार्य जनतालाई नमस्कार गर्थे, हाम मिलाउँथे, मतदाताको घरमा गएर खाने र सुत्ने गर्दथे । जुन शासक र सामन्तहरुको भन्दा भिन्न सोँच र संस्कृति थियो । उनी सादा जीवन र उच्च विचारका धनी थिए । जनता भन्दा आफुलाई कहिल्यै ठूलो ठानेनन् । उनले आफुलाई जनताको सेवक ठाने । अभावको जीवन बिताए तर पंचायतका कुनै पनि लोभ र प्रलोभनमा परेनन् ।
पंचायती व्यवस्थाको अन्त्य नगरी देशमा परिवर्तन सम्भव छैन भन्ने द्रोणाचार्यको निश्कर्ष थियो । जनताको शासन व्यवस्थाका लागि पंचायती व्यस्थाको अन्त्य अनिवार्य भन्ने उनको बुझाई थियो । त्यसका लागि नेपाली काँग्रेस र बाम शक्ति एक ठाउँमा उभिनु पर्ने उनको मत थियो । र, काँग्रेस र बाम मोर्चालाईको संयुक्त जनआन्दोलन कमिटी बनाउन ठूलो योगदान पुर्याएका थिए । जसको फलस्वरुप पंचायतको अन्त्य भई २०४६ सालमा बहुदलिय व्यवस्थामा स्थापित भयो ।
बहुदलिय व्यवस्थापछि २०४८ सालमा भएको संसदको पहिलो निर्वाचनमा झापाबाट द्रोणाचार्य निर्वाचित भए । उनी संसदमा बोल्न उठ्दा मन्त्री र सांसद एक टकले सुन्ने गर्दथे । उनले संसदमा निभाएको भूमिका परिपक्क र जिम्मेवार प्रतिपक्षको थियो । त्यस बेला नेपाली काँग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षमा थियो । प्रतिपक्षबाट बोल्दा द्रोणाचार्य राष्ट्रिय महत्वका बिषयले सँधै चर्चा पाउने गर्दथ्यो ।
द्रोणाचार्य क्षेत्रीले नेपालको राजनीति, संसद र कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ । निष्ठाको राजनीतिमा खडेरी पर्दै गरेको अहिलेका अवस्थामा द्रोणाचार्य जस्ता नेताले देखाएको निष्ठाको बाटोको अझ सान्र्दभिकता बढेर गएको छ । द्रोणाचार्यको योगदानलाई नयाँ पुस्ता सम्म पुर्याउन सक्नु पर्दछ । त्यसले मात्र उनीप्रति साँचो अर्थमा श्रद्धाञ्जली हुन्छ ।

?
प्रतिक्रिया दिनुहोस्