Logo
  माघ २२, २०७९ आईतबार

हात्तीले सधैं सास्ती, पाँच वर्षमा ३५ ले ज्यान गुमाए (भिडियो सहित)



बिर्तामोड, साउन १४ । विहिबार मध्यरातमा हात्तीले घर भत्काउन थालेपछि बिर्तामोड नगरपालिका ७ बाह्रघरेका खगेन्द्र श्रेष्ठ सहितको परिवारले भागेर ज्यान बचाए । मध्यरातमा गाउँ पसेको एउटा हात्तीले खगेन्द्रको घरको एक भाग भत्कायो र घरमा भएको अन्न सबै खायो । घर भत्कदा खगेन्द्रको घरमा रहेको रेफ्रिजेटर, टिभि तथा पलड्ग काम नलाग्ने गरि बिग्रियो ।

विहिबार राती हात्तीले त्यति मात्रै क्षति गरेन नजिकै रहेको हेम बहादुर प्रधान, पुष्प तिम्सिना र टिकाराम विष्टको पनि घर भत्कायो । चारआली गोलधाप देवनियाँ खोला नजिकै रहेको सो बस्तिमा मध्य रातमा एउटा हात्तीले पस्दा केहि स्थानियले क्षति व्यहोरे भने धेरैको निन्द्रा बिथोलियो । हात्तीले घर, अन्न र सामानमा क्षति पु¥याए पनि मानविय क्षति नभएकोमा स्थानिय ढुक्क छन् । तर झापामा वर्षेनि हुने यस्तै हात्तीको उपध्रोबाट ज्यान गुमाउनेको तथ्याङ्क ठुलो छ ।

जिल्ला वन कार्यालय झापाका अनुसार झापामा पाँच वर्षमा हात्तीको आक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६७÷६८ देखि ०७४÷७५ सम्मको तथ्याङ्कलाई हेर्दा झापामा मात्रै यतिको संख्यामा हात्तीको आक्रमणबाट नागरिकले ज्यान गुमाएको जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताए । सुवेदिका अनुसार हात्तीका कारण ज्यान गुमाउनेहरु साविक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, बालुबाडी, घेराबारी, शान्तिनगर, बुधबारे, बाहुनडाँगी, खुदुनावारी गाविसका बढि छन् । यो स्थान हात्तीको सबै भन्दा बढि उपद्रो हुने क्षेत्रमा पर्छ ।

वन कार्यालय झापाका अनुसार हात्तीको आक्रमणबाट पाँच वर्षमा १० जना घाइते भएका छन् भने ३ सय ३५ घरगोठमा क्षति पुगेको छ । २ सय ३४ जनाको अन्नबाली नस्ट गरेको छ । साथै पाँचवटा पशु चौपाया हात्तीले मारेको कार्यालयले जनाएको छ । त्यसोत हात्तीले मान्छे मात्र होईन, मान्छेले पाँच वर्षमा नौ वटा हात्ती समेत मारेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

झापामा बर्सेनी जङ्गली हात्तीले जनधनको ठूलो क्षति पु¥याउँदै आउनुमा दीर्घकालीन नीति अभावनै मुख्य कारण रहेको पाइएको छ । दीर्घकालीन नीति नहुँदा हात्ती नियन्त्रणका लागि छुट्याइएको बजेट पनि उपलब्धिविहीन हुँदै गएका छ । हात्ती नियन्त्रणका लागि वर्षेनी सरकारले बजेट छुट्याए पनि सहि स्थानमा लगानी नगर्दा र समयमा काम नगर्दा बजेटको सदुपयोग हुन नसकेको हो ।

हात्ती नियन्त्रणका लागि भन्दा पनि क्षतिपुर्ती दिनमा मात्रै वन कार्यालय अग्रसर हुँदा स्थानियले बर्षेनी हात्तीबाट सास्ति भोग्नु परेको खुदुनाबारीका स्थानिय घनश्याम दाहाल गुनासो गर्छन । ‘यो स्थानमा २०४१ सालपछि हात्ती प्रमुख समस्याका रुपमा आयो, नियन्त्रणका लागि बजेट पनि आउँछ रे, तर कहिले काँहि क्षति भए रात दिनबाहेक काम भएको छैन ।’ दाहालले भने ।

वन कार्यालयले राहत निर्देशिका अनुसार क्षतिपूर्तिको लागि दाबी गरेको ९६ लाख ३२ हजार ६ सय ७४ रुपैयाँमा पीडित परिवारलाई आर्थिक वर्ष ०७४÷७५ असारसम्म क्षतिपूर्ति बापत नेपाल सरकारले प्रदान गरेको ८० लाख ८७ हजार ७ सय ९० रुपैयाँ बराबरको राहत वितरण गरेको फरेष्टर विश्वदीप चौधरीले बताए । चौधरीले हात्ती नियन्त्रणका लागि फरक रकम आएर काम भईरहेको बताउँदै उनले नियन्त्रण र राहत दुबै काम सँग सँगै भईरहेको दाबी गरे ।

झापामा हात्ती लगायतका वन्यजन्तुबाट १७ सय २६ जना पीडितलाई हाल सम्म ३ करोड १५ लाख ७२ हजार ६ सय १४ रुपैयाँ बराबरको राहत रकम वितरण गरिसकिएको कार्यालयले जनाएको छ । पीडितलाई अझै १५ लाख ४४ हजार ८ सय ८४ रुपैयाँ क्षतिपूर्ति दिन बाँकी रहेको समेत कार्यालयले जनाएको छ ।

विभिन्न स्थानीय तहमा जङ्गली हात्तीले उपद्रो मच्चाउन थालपछि पनि रोकथाम तथा न्यूनीकरणका लागि सरकारी पक्ष गम्भीर नभएकोमा मानव–हात्ती द्वन्द्व बढ्दै गएको स्थानिय आरोप लगाउँछन् । जङ्गली हात्ती आहारको खोजीमा गाउँघर पस्ने गरेकोले जङ्गलमा हात्तीलाई चाहिने आहारको खेतीको शुरुवात गरे गाउँमा हात्तीको आतंक कम हुने सुझाव स्थानियले स्थानिय सरकार र वन कार्यालयलाई वषौँ देखि दिने गरे पनि सो विषयमा कामै नभएको बाहुनडाँगीका स्थानिय ख्याम बानियाँ बताउँछन् ।

झापाको सिमावर्ती क्षेत्रमा हात्तीले बढि दुख दिने गरेको र ती जंगली हाती सबै भारतीय क्षेत्रबाट आउने भएकाले भारतको पश्चिम बङ्गाल सरकारसँग हात्ती व्यवस्थापनको बारेमा ठोस वार्ता नभएसम्म हात्ती नेपालले एक तर्फि रुपमा नियन्त्रणको ठुलो काम गर्न नसक्ने जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताए ।

हालसम्म हात्ती नियन्त्रणका लागि मन्त्रालयबाट ८ करोड रकम विनियोजन भए पनि आर्थिक वर्ष २०७४÷७५ मा २ करोड रकम निकासा भइसकेको जनाइएको छ तर अहिलेसम्म सो बजेटबाट हात्ती नियन्त्रणका लागि झापामा ठोस काम भएको छैन । केहि वर्ष अघि भुटानले लगाएको सौर्य तारबारको योजना अनुसार उत्तरी झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रमा सौर्य तारबार लगाएपछि भारतबाट आउने जङ्गली हात्तीलाई ९५ प्रतिशत रोकथाम गर्न सहयोग गरेको थियो तर, सौर्य तारबारको व्यवस्थापन र मर्मतमा ध्यान नदिदा त्यसले पनि काम गर्न छाडेको छ ।

केहि समय अघि मात्रै सौर्य तारबार भएकै स्थानबाट १८ वटा जङ्गली हात्ती नेपाल प्रवेश गरी मेचीनगरस्थित ज्यामिरगढी क्षेत्रमा क्षति पु¥याएका थिए । मेची नदीसँगै रहेको तारबार निर्माणमा एक करोड २० लाख खर्च गरे पनि तटबन्धन र टावर मर्मत सम्भारका लागि रकम नहँदा मर्मत नभएको प्रमुख सुबेदी बताउँछन् । उनका अनुसार सो मर्मत गर्न मर्मतकै लागि भनेर रकम आउनुपर्ने र अन्य रकम खर्च गर्न नमिल्ने भएकाले समस्या भएको हो ।

मेचीनगरको बहुवनदेखि जलथलसम्मको वनक्षेत्र जोड्ने गरी जैविक पदमार्गका लागि सरकारले २ करोड बजेट गत आर्थिक वर्षमा विनियोजन गरेको थियो । चालु वर्षमा ६ करोड थपेपछि ८ करोड बजेट हुन्छ । सो रकमबाट जैविक पदमार्ग निर्माणनै गर्नुपर्ने भएकाले तारबार मर्मत गर्न नमिल्ने प्रमुख सुबेदीले बताए ।

चारआलीदेखि जलथलसम्म हात्ती हिँड्ने जैविक मार्ग देउनियाँ खोलाको आडबाट बन्नेछ भने सो मार्गको पूर्वी र पश्चिम क्षेत्रमा सौर्य ऊर्जाको विद्युतीय तारबार निर्माण हुने उनको भनाइ छ । ९ किलोमिटर जैविक मार्गका रूपमा रहने चारआली–जलथल वनक्षेत्रलाई जोड्ने ७५ किलोमिटर तारबारको घेराबारा रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्