Logo
  माघ २५, २०७९ बुधबार

पूर्वमा फेरि घन्किन थाल्यो नाैमती



झापा, जेठ २६ । सशस्त्र द्वन्द्वका बेलादेखि पूर्वमा कम बजाइँदै आएको नौमती र पञ्चैबाजा संरक्षणमा चासो बढेको छ।

झापा, ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमलगायत जिल्लाका दमाई समुदायका युवा तथा बाजा बजाउन पोख्त अगुवा यसको संरक्षणमा जुटेका हुन्। ‘द्वन्द्वको समयमा माओवादीको डर थियो, कसैले बजाउन मानेनन्, बाजा बजाएर बिहे गरे धेरै खर्च ग¥यो भनेर कारबाही हुन थालेपछि बजाएनौं’, झापा झिलझिलेका मयराम बर्देवा भन्छन्, ‘अहिले आएर पुनः बजाउन सुरु गरेका छौं।’ अहिले सबैले माया गरेर बोलाउने र बाजा बजाएबापत राम्रो रकमसमेत दिने हुँदा पुनः सक्रिय भएर लागेको उनको भनाइ छ।

तर, आधुनिक बाजाका कारण यो पेसा संरक्षणमा चुनौती थपिएको दमाई समुदायका अगुवा बताउँछन्। अहिले ब्यान्ड बाजा, अडियो र भिडियोको चेपुवामा परेको नौमती र पञ्चैबाजा संरक्षणमा युवाभन्दा पनि बूढापाका बढी सक्रिय देखिन्छन्।

लामो समय नौमती र पञ्चैबाजा बजाउने क्रम रोकिएको र युवाले चासो नदिँदा संरक्षण गर्न गाह्रो भएको बिर्तामोडका रुपदर्शन बर्देवा बताउँछन्। ‘युवाले चासो नदिए पनि सामान्य सहयोग भने छ, अब संरक्षण अभियान नै सुरु गर्नुपर्ला’, उनी भन्छन्। अहिले विवाह, व्रतबन्धमा मात्र नभई अन्य शुभ कर्म र कार्यक्रममा पनि यो बाजाको माग भएकाले संरक्षण गर्नु सबैको दायित्व भएको उनको ठम्याइ छ।

‘द्वन्द्वको समयमा माओवादीको डर थियो। बाजा बजाएर बिहे गरे धेरै खर्च ग¥यो भनेर कारबाही हुन थालेपछि बजाएनौं।’ मयराम बर्देवा, झिलझिले

नौमती नौ बाजाको सामूहिक रूप हो। पञ्चैबाजाभन्दा यसमा चारवटा थप बाजा हुन्छ। यसमा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन्। सहनाई र दमाहा दुई–दुईवटा हुन्छन्। नौ वाद्यवादक लोककलाकारले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिएको हो।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा युद्ध क्षेत्रमा बजाउनका लागि ब्यान्ड बाजा भित्रिएको भए पनि एक दशकयता विवाह, व्रतबन्धजस्ता समारोहमा प्रयोग गर्न थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्