Logo
  माघ १५, २०७९ आईतबार

माइला बा त लुरु लुरु प्रचण्ड निवासमा छिरे !



ए कान्छा, गेट खोल । गेटमा ठूलठूलो स्वरले बोलाएको आवाजले मेरो निन्द्रा खुल्यो । कान्छा भनेर यो काठमाडौँमा बोलाउने त कोही थिएन । मनमा कुरा खेलाउँदै गेट खोलेको माइला बा टुप्लुक्क आइपुगेका रहेछन् । माइला बा ढोग गरे । बुढालाई शिर झुकाएर ढोगीदिएँ, ढोग्न पाको थिइँन, हैन गेट खोल्न कत्रो बेर लाको, बोलाउनको दास्ती भनेर बुढा आइ लागूँला झँ गरे । हैन बा घण्टी बजाउँदा भइ हाल्थ्यो नि ! तेरो घण्टी मैले कहाँ देख्नु भन्दै भित्र पसे ।

अनि बा केमा आउनु भो ? के मा आउनु माइक्रोमा आएँ नि, पिलेन सिलेनको टिकस काट्ने कोही थेनन्, माइक्राले उफारेर झण्डै मार्यो, बुढाले सटकट जवाफ दिए । अनि माइली आमा सञ्चै हुनु हुन्छ ? त्यस्को के काम छ र ! बिसञ्चो हुनु ।
बुढालाई घर छिमेकीको सञ्चो बिसञ्चो सोध्न पाको थिइँन, मलाई ए केटा प्रचण्डका घरमा पुर्या भने । माइला बा किन जाने प्रचण्डको घरमा ? नभेटी भा छैन, तँ पूर्यान न मात्र बाँकी कुरा म आफैँ गर्छु । हैन, माइला बा पहिल्यै समय मिलाएर मात्र जानु पर्छ, नत्र भेटन् दिँदैनन् । के को दिँदैनन्, तँ लेर मात्र हिँड्न । हैन बा सेकुरटीले भित्र छिर्नै दिँदैनन् । हैन, तँ धेरै जान्ने न हो न, तेरो काम मलाई प्रचण्डको घरको गेटसम्म पुर्याउने हो, अरु कुरा म आफँ गर्छु । पुलिससँग कसरी कुरा गुर्नु पर्छ, भित्र कसरी छिर्नु पर्छ, त्यो मलाई थाछ, तँ जान्दैनस् । खुरुक्क पुर्या ।

बुढको ढिपी अघि केही जोड नचले पछि पुर्याउन सहमत हुनै पर्यो, हैन भने बाबैले उत्पात मच्चाई हाल्छन् । बुढा खुमलटार घुमेर आउने भए । बुढालाई उल्याउने सुरले सोधेँ, बा प्रचण्डले चिन्छन् त ? किन चिन्दैनन्, नचिनेर हुन्छ ? तिनले चिनेन् भने म चिनाउँछु नि !

बुढा प्रचण्ड निवास छिर्न खोज्लान्, पुलिसले दिँदैन, त्यहीँ लफडा हुने भो । कुरो बुझ्दैनन्, आज पुलिसले बुढालाई घोक्रेठ्याक लगाउने भो । जे भएनि बुढालाई पुर्याउनै पर्यो । बा अब खाना खाएरै जानु पर्छ । म चाँडै पकाउँछु अनि जानु पर्ला । बुढाले हुन्छ हुन्छ झट्टै गर भने ।

नेपाल यातायात चढेर लागियो खुमलटार । चोकमा ओर्लिएर सोध्दै खोध्दै पुगियो प्रचण्ड निवासको गेटमा । बा त हैन प्रहरीले मलाई चाहीँ सोध्यो, कसलाई भेट्न आउनु भो ? बाले प्रचण्ड कमरेडलाई भेट्ने रे मैले भने । प्रहरीले सोध्यो, टाइम लिएर आउनु भा हो ? छैन, भनेँ । त्यसो भा गाह्रै पर्ला प्रहरीले उत्तर दिए । प्रहरी र मेरो कुरो सुनेर बाले अनुहार बिगार्न थालेका थिए ।

बुढालाई के झ्वाक चल्यो कोनि मुख खोले, हैन प्रहरी भाइ, म यत्रो टाढादेखि भेट्न आको, भेट्न त दिनै पर्यो नि ! हो नि बा अनुमति बिना भित्र जान दिन मिल्दैन के गर्ने डिउटीमा बसेका प्रहरीले भने । हैन प्रहरी भाइ, तपईँको हाकिमलाई बोलाउनु त ! म एक पटक कुरा गर्छु । हैन बा मिल्दैन, फोन गरेर समय लिएर आउनु पर्छ, हामीलाई नाम टिपाकालाई भित्र पस्न दिनु भन्नु भा छ । जसतसलाई दियो भने त हामीलाई कारवाही पनि हुन्छ, जागिर पनि जान्छ, के गर्नु बा मिल्दैन ।
बा फर्किउँ मात्र के भनेको थिएँ । बाबै त तँ चुपलाग, भनेर आइ लागूँला झैँ गरे । मैले, हैन भेट्न पाइँदैन भने किन गलबदी गर्नु भनेको । के को गलबदी भेट्न नपाएर हुन्छ ? भन्दै बाबै आक्रोसित भए । बाबै सारो सारो कराको सुनेर के भो भन्दै गेट भित्रबाट डिएसपी आए । उनले सोधे, के भो बा ? के हुनु यि भाइले भित्र जान दिएनन् बाले रिसाएको अनुहार भने । कहाँबाट के कामको लागि आउनु भा हो ? डिएसपीले सोधे । बाले झापाबाट आको, हामी क्रान्ति गरेर आका हौँ, सात सातमा लडियो, २८ सालमा के गरिएन ? अहिले प्रचण्डलाई पनि भेट्न नपाउने ?

डिएसपीले फेरी भने, नरिसाउनु न बा, म भित्र भन्दिन्छु बोलाउनु भो भने भेट्नु । बोलाउनु भएन भने भेट्न पाइदैन । अघि भन्दिन्छु भन्नु नि त ! बा राकिँदै बोले । बाको नाम ? माइला बा हो, प्रचण्ड कमरेडलाई झापाबाट मालदाइ आउनु भा छ भन्दिनु । बुढाले आदेशात्मक शैलीमा भने ।

भित्र पसेका डिएसपीले एकैछिनमा गेटमा आएर भने, ल एकछिन भित्र आएर बस्नोस्, खबर आए पछि भेट्नु होला । डिएसपीले त्यति भन्दा नभन्दै बुढा त लुरु लुरु भित्र छिरे । म जान खोजेको मिल्दैन भनेर प्रहरीले रोके ।

बुढा निस्कन्छन् भनो छैन । आधा घण्टा वित्यो आएनन्, एक घण्टा वित्यो आएनन् । पर्खदा पर्खदा हैरान भइयो, बढाले कुर्न सम्म कुराए । छाडेर जाउँ बुढा हराइ हाल्छन् । नछाडौँ दुई घण्टा भयो आउँदैनन् । (बाइला बा र प्रचण्ड बीचको सम्वाद अर्को अंकमा)

प्रतिक्रिया दिनुहोस्