Logo
  माघ १५, २०७९ आईतबार

टहरामा उत्पादित चिया कोरियादेखि जापानसम्म



इलाम, २५ भदौ । इलाम देउमाई नगरपालिका वडा नम्बर ३ शान्तिडाँडाको गुफा थुम्की अग्र्यानिक टि म्यानिफ्याक्चरिङ् स्थापनाको छोटो समयमा अग्र्यानिक अर्थोडक्स चिया विदेशमा निर्यात गर्दै आएको छ । गुफाथुम्की उद्योगले उत्पादन गरेको गोल्डन र सिल्भर वाइट ब्रान्डका अग्र्यनिक चिया काठमाडौं, रुस, दक्षिण कोरिया, जापान, इटलीमा निर्यात गर्दै आएको छ ।

विक्रम सम्वत् २०६९ सालमा स्थापना गरेका उद्योगले चियाको एक सूइरो पत्तिबाट गोल्डन र सिल्भर वाइट ब्रान्डका अग्र्यानिक चिया उत्पादन गर्दै आएको छ । उद्योग संचालक अम्बर राईले धेरै उत्पादन भन्दा गुणस्तरमा ध्यान दिएको बताए । उनले भने, काठमाडौं र विदेशबाट डिमाण्ड धेरै आएको छ, तर पुरा गर्न सकिएको छैन ।

महेन्द्र रत्न बहुमखी क्याम्पस इलामबाट स्नातक तहसम्म अध्ययन गरेका राई आधुनिक लघु उद्योगमा संलग्न छन् । परम्परागत रुपले उत्पादन हुँदै आएको आफ्नो चियालाई उनले गुणस्तरीय उत्पादन गर्ने उद्देश्यले लघु उद्योग संचालन गरेका हुन । उद्योगबाट उत्पादित चिया प्रति केजी ३ हजार ५ सय देखि ४ हजार ५ सय सम्ममा बिक्री हुने उनले बताए ।

आफ्नो बगान र स्थानीय २५ जना कृषकले उत्पादन गरेको एक सूइरो हरियो पत्तिबाट गोल्डन र सिल्भर अग्र्यानिक चिया उत्पादन गरेका छन् । उनको लघु उद्योगबाट उत्पादित चिया विदेशमा रहेका नेपाली मार्फत बिक्री हुँदै आएको राईले बताए ।

संघीयदेखि स्थानीय सरकारसम्मले कृषिमा अनुदान दिने भने पनि अहिलेसम्म कुनै अनुदान नपाएकोराईले बताए । उनले टहरामा उत्पादन गरेको गोल्डन र सिल्भर चिया विदेशमा पठाउन सकेकोमा राईले शन्तोष व्यक्त गरे । थप पुँजि भएको भए उद्योगको क्षमता बिस्तार गर्न सकिने उनले बताए । उनले भने, पुँजि अभावले उद्योगको उत्पादन बिस्तार गर्न सकिएको छैन ।

(इलामबाट फर्किएपछि तयार पारिएको रिपोर्ट)

प्रतिक्रिया दिनुहोस्