Logo
  माघ १५, २०७९ आईतबार

नेता र कार्यकर्तालाई मात्र हो लोकतन्त्र ?



झापा, १५ चैत । बल्ल थाहा पाउँदैछु मुलुकमा लोकतन्त्र, गणतन्त्र केही पनि आएको होइन रहेछ । म त यतिञ्जेल भ्रममा पो रहेछु । अहिले झल्याँस्य बिउझिए । जनताको शासनलाई लोकतन्त्र भनिन्छ, तर हामीकहाँ अझै जनताको शासन आउने कहिले हो ।

आजको लोकतन्त्र त केवल नेताका लागि र थोर बहुत कार्यकर्ताका लागि मात्र आएको रहेछ । सर्वसाधारण, गरीब, दुःखी, भोका, नाङ्गा जनताका लागि लोकतन्त्र आउँछ आउदैन म भन्न सक्दिन । किनभने यो देशमा जे जे तन्त्र आए पनि सर्वहारा विपन्न, सीमान्तकृत निमुखा जनताका लागि त कुरै छाडौँ । मध्य वर्गका लागि पनि कहिले आएन लोकतन्त्र । ठूलाबडा धनीमानी, उच्च कूलिन संभ्रान्त वर्गका लागि त यहाँ जहिल्यै लोकतन्त्र छदै छ नि । पञ्चायतदेखि आजसम्म पनि तिनै मुठीभरका टाठाबाठा, कूलीन नेता, सुकिला मुकिला पढेलेखेका व्यक्तिका लागि यहाँ सधैँ लोकतन्त्र हुने नै भयो । तर, जसका लागि लोकतन्त्र आउनु पर्ने थियो तिनका निम्ति लोकतन्त्र अझ पनि आएन ।

हाम्रो देशमा लोकतन्त्र सरकारी नेता, कर्मचारी, उद्योगी, व्यापारी, धनीमानी पूँजीपतिका निम्ति मात्र आउँदो रहेछ । सत्ताको भत्ता खाएर मातेका केही झुण्डहरु तिनका अरौटे भरौटे, चाकरी चाप्लसीवाला, पार्टीका हनुमान, नेताका अन्धभक्त कार्यकर्तालाई यो कम्यूनिष्ट सरकारको शाासनमा साँच्चै राम्रो लोकतन्त्र आएको छ जसरी हिजो काङ्ग्रेसका नातागोता, कार्यकर्ता, आसेपासे भरौटेलाई लोकतन्त्र आएको थियो ।

मलाई त भ्रम भएछ मुलुकमा लोकतन्त्र छ भनेर । खैै त अहिले पनि ठूला ठाला, नयाँ राजा, सत्ता भत्तावाला, मन्त्री, सचिवलाई तिनका विरुद्ध प्रमाण पुर्याए बोल्न पनि पाइदो रहेछ । उनीहरुका आँखा बिझाइहाल्दा रहेछन हाम्रा कुरा सुन्दा । नानाथरिको सातो जाने धम्की सुन्नु पर्दोरहेछ, अनि त खै कहाँ आयो लोकतन्त्र ।

लोकतन्त्र होइन बरु लुटतन्त्र आएको छ, झुरतन्त्र, फुटतन्त्र आएको छ सत्ताधारी वर्गलाई । सिधा सोझा निमुखा जनता विचरा मनमा लागेको कुरा बोल्न, लेख्न र भन्न अझै डराउनु पर्दो रहेछ । भोलि केही हुने पो हो कि भनी पहिल्यै डराउनु पर्दोरहेछ । नयाँ हजारौँ राजाहरुलाई साँचो सत्य देखेको कुरा प्रमाण सहित भन्न पनि नहुँदो रहेछ । उनीहरुको मानहानी हुन्छ रे । जनताको आँखामा पट्टि बाधेर र मुखमा बुझे कोचेको गणतन्त्रलाई के गणतन्त्र भन्नु ? यो भन्दा त राजतन्त्र नै ठिक । एउटासँग डराए पुगिहाल्थयो । फेरी एउटा राजा र दरबार पाल्न कतिनै खर्च लाग्थ्योे र ? तर आज त नयाँ राजा कति हुने कति, तिनलाई खुवाउनु, पियाउनु, सुताउनु, उठाउनु पर्छ हाम्रो पसिनाको आर्जनले । अझ तिनका नातागोता, श्रीमति, साली, भाई, भतिजा, भान्जा–भान्जीदेखि ज्वाईसम्मका कुलकुटुम्ब मुलुकको राजश्वले धान्नुपर्छ ।

भोका नाङ्गा गरीब दुःखी जनताले गाँस काटेर, पसिना बेचेर, रगत पोखेर कमाएको धन सरकारलाई राजश्व बुझाएर तिनलाई विदेश सयर गर्न र उपचार गर्नमा खर्चनु पर्छ । अनि खसरी भनौँ म लोकतन्त्र आयो भनेर ? यहाँ लोकतन्त्र छ भनेर ? सर्वसाधारण जनतालाई कहिल्लै लोकतन्त्र आएन र राजा हटाइ गणतन्त्र ल्याएपनि नयाँ राजा, सरकारका मन्त्री, राष्ट्रपति र दलका नेतालाई राजाका ठाउँमा राजासरि पाल्नै पर्यो । तिनले भनेको मान्नै पर्यो । तिनलाई मन नपर्ने बोल्नु भएन, लेख्नु भएन । उनीहरु जसो गर्दा खुःशी हुन्छन् त्यसैगरि रुझाउनु पर्यो । खैकहाँ छ लोकतान्त्रीक गणतन्त्र ? मलाई देखाइ देऊ न !

प्रतिक्रिया दिनुहोस्