Logo
  माघ २५, २०७९ बुधबार

के हो खस महासभ्यता ?



नाक धारिलो चुच्चो, आँखा लाम्चा भएको मानव शाखा शीतप्रदेश अर्थात् विश्व भूगोलको आजको युरोपमा विकसित भएको मानिने कुरा सर्वविदितै छ । त्यही युरोपको शीतप्रदेशमा विकसित मानव शाखालाई आर्य भनी बुझ्ने परम्परा छ ।

युरोपमा विकसित त्यस आर्य मानव समूहको एउटा झुन्ड विश्व यात्राका क्रममा निस्केर मध्य–एसियाको ककेसस क्षेत्र हुँदै तिब्बतको मानसरोबरदेखि वर्तमान नेपालको जुम्लाको सिंजा, डोटी र भारतको कुमाउ–गढवालको पहाडी क्षेत्रदेखि कास्मिरसम्म अनि गङ्गा मैदानसम्म इसाको पहिलो शताब्दीभन्दा अघि नै विचरण गरिसकेको एउटा महासभ्यता हो– खस । ककेसियाली भएकाले उनीहरूलाई सुरूमा ककस र पछि खस भन्ने परिचय मिलेको कुरामा धेरै विद्वान् सहमत छन् ।

खस एउटा महासभ्यता थियो । उनीहरूभित्र काशी, कोसललगायतमा विभाजित प्रजातिहरू समेत विकसित थिए । छाग र छागल नामका थप प्रजाति पनि थिए भन्ने तथा छाग र छागल भनेको कासी र कोसल प्रजातिकै अर्को नाम थियो भन्ने विद्वान्हरू बिच मतान्तर बाँकी भए पनि विभिन्न प्रजातिसहितको खस एउटा महाजाति वा महासभ्यता थियो भन्नेमा चाहिँ कुनै विवाद देखिन्न ।

खस सभ्यतामा जातप्रथाको विभेद थिएन । उनीहरू जाँडरक्सी बनाउने खाने मतावाली थिए । सुँगुर उनीहरूको कूल देवतालाई चढाउन मिल्ने पशु थियो । उनीहरू १२ भाइ वा १२ ओटा फरक– फरक मस्टो (कुलदेवता) पूजक हुन् । उनीहरू धामी परम्पराका हुन् । नेपालको जनजातिबाहेक लुटी–विवाह प्रचलन धेरैपछिसम्म कायम रहेको समुदाय खस नै थियो ।

यो मस्टोपूजक खस सभ्यता नेपालको आजको भूगोलको जुम्लाको सिंजादेखि कर्णालीपारिको डोटी हुँदै सतलज नदीपारिको पहाडी भूभागमा इसाको दोस्रो शताब्दीसम्म प्रवेश गरी आवाद भइसकेको थियो । इसाको पाँचौँ शताब्दीसम्ममा त सिंजा एउटा साम्राज्य बनिसकेको थियो । त्यसैगरी डोटी पनि एक हर्ताकर्ता राज्यका रूपमा उपस्थित भइसकेको थियो ।

खस महासभ्यता नेपालमा प्रवेश भएपछि यसले कर्णालीपारि डोटेली भाषासहितको डोटी राज्यलाई केन्द्र बनाएर एउटा डोटेली उपसभ्यता निर्माण ग¥यो । जुन भाषासहितको प्रभाव आजको भारतको कुमाउ– गढवाल क्षेत्रसम्म र कर्णालीवारिको दैलेख, जाजरकोट, जुम्ला आदि तत्कालीन प्रभावशाली राज्यहरूसम्म थियो ।

डोटेली खस उपसभ्यता कति प्रभावशाली थियो भन्ने कुरा यसबाट पनि अनुमान लगाउन सकिन्छ कि नेपालको राजधानीको नाममा समेत डोटेली भाषा उपस्थित छ अर्थात् काठमाडौँ । ‘माडौँ’ भनेको डोटेली भाषामा मन्दिर हो । काठको मन्दिर अर्थात् काठमाडौँ ।

सिन्धु घाटीको आस्ट्रो–द्रविड महासभ्यता
आर्यहरू दक्षिण एसियाको समथल भूभागमा प्रवेश गरेको इ.पू. ३००० वर्षभन्दा पहिले अर्थात् आजभन्दा ५ हजार वर्षभन्दा पहिले मानिन्छ । तर आर्यहरू सिन्धु घाटीमा आइपुग्नुभन्दा पहिले नै दक्षिण एसियामा आस्ट्रिक र द्रविड
मूलका मानिसहरूको सभ्यता निर्माण भइसकेको थियो । सिन्धुघाटीमा रहेका त्यतिबेलाका हरप्पा र मोहन्जोदारो सभ्यता यस कुराका ज्वलन्त प्रमाणहरू हुन् ।

आस्ट्रिक तथा द्रविडहरूको नाक बुच्चो, रङ पहेँलो र रातो, कद होचो थियो भनी मानवशास्त्रीहरू बताउँछन् । आर्यहरूको सिन्धुघाटीमा प्रवेशपछि आस्ट्रो–द्रविडहरूको महासभ्यतामाथि आक्रमण भयो र आर्यहरू विजयी भए । त्यसपछि आर्य राज्यहरूमा कतै दास बन्दै, कतै आर्य राज्यहरूसँग भीषण लडाइँ गर्दै आफ्नो हजारौँ वर्ष पुरानो सभ्यतालाई रक्षा गर्दै फैलिने क्रममा आजको नेपाली भूमिमा पनि त्यस महासभ्यताका विभिन्न प्रजातिहरू आएर आवाद हुन पुगे । पूर्वी तराईको राजवंशी, ताजपुरिया, गनगाईलगायतका प्रजातिहरूको कोच उपसभ्यता र दाङ केन्द्रबिन्दु भई पूर्व–पश्चिम छरिएर रहेको थारू उपसभ्यता त्यही अस्ट्रो–द्रविड महासभ्यताबाट विकसित हुन पुगेका उपसभ्यता हुन् ।

नेपालको तराई र भित्री मधेसका धेरैजसो द्रविड, आग्नेय र भारोपेली परिवारका भाषा बोल्ने जनजातिहरू त्यस महासभ्यतासँग सम्बन्धित छन् । त्यसै गरी हिन्दूकरण गरी ‘अछूत’ बनाइएका नेपालका दुसाधलगायतका कतिपय दलितभित्र रहेका समुदाय पनि द्रविड मूलसँग जोडिएको मानिन्छ ।

भारतीय भूमिबाटै हिन्दूकरण भएर आजको नेपालमा आइपुगेका बाहेक जनजातिका रूपमा रहेका आस्ट्रो–द्रविड महासभ्यतासँग सम्बन्धित जातिहरूमा महिलाको स्थान सापेक्षित रूपमा स्वतन्त्र, भूमि र प्रकृतिपूजन प्रवृत्ति समान खालको रहेको अझै भेटिन्छ । यस महासभ्यताका मानिसहरू कहिले र कसरी आजको नेपाल भूखण्डसम्म आइपुगे भन्नेबारे पर्याप्त प्रामाणिक सामग्री भेटिन्न, तर तराई क्षेत्र र भित्री मधेसको दून क्षेत्रको औलोलगायतका महामारीजन्य रोगहरूसँग लड्ने स्तरमा शरीर विकास गरेको प्रमाणिक तथ्यले उनीहरूले यहाँ केही हजार वर्ष लड्दै टिकेको सजिलै प्रमाणित हुन्छ ।

यो महासभ्यतासँग सम्बन्धित थुपै्र प्रजातिहरू नेपालमा रहे पनि राष्ट्रउन्मुख प्रवृत्ति बोकेको भने थारू उपसभ्यता मात्रै हो । राष्ट्रउन्मुख अर्को प्रवृत्ति कोच पनि हो । तर सुगौली सन्धिले कोच जनसङ्ख्याको मुख्य भाग भारततिर पर्न गयो । साथै नेपालको झापा, मोरङ र सुनसरीमा रहेको उनीहरूको परम्परागत सामाजिक–आर्थिक संरचना पञ्चायती व्यवस्थाले ध्वस्त पारिदियो । त्यसैले कोच उपसभ्यतासँग सम्बन्धित जातिहरू तराई क्षेत्रमा आज संरक्षण गर्नुपर्ने थितिमा पुगेका छन् ।

गङ्गा मैदानको वैदिक आर्य सभ्यता
युरोपबाट पूर्वतिरको यात्रा सुरू गरेर इरान हुँदै दक्षिण एसियाको सिन्धुघाटीमा ५ हजार वर्षभन्दा पहिले प्रवेश गर्ने आर्यहरूको एउटा झुन्डले नै सिन्धुघाटीको आस्ट्रो–द्रविड सभ्यतामाथि आक्रमण गरेको थियो । त्यही झुन्डले सिन्धुघाटीदेखि गङ्गा मैदानसम्म विचरण गरी सभ्यता निर्माण गर्ने क्रममा वेदको रचना गरेको हो । आर्यहरूका विभिन्न शाखामध्ये वेदको रचना गर्ने शाखालाई वैदिक आर्य नामकरण गरिएको हो ।

आर्यहरूको अर्को शाखा ककेसिया हुँदै नेपाल आइपुगेको थियो र त्यो मस्टोपूजक मतवाली थियो भन्ने कुरा खस महासभ्याताको चर्चामा उल्लेख गरिसकिएको छ ।
सिन्धुघाटी हुँदै गङ्गा मैदानमा विचरण गर्ने क्रममा वेदको रचना गर्ने वैदिक आर्यहरूले नै वेद, उपनिषद, पुराण, गीता, महाभारत हुँदै मनुस्मृतिलगायतका रचनाहरू तयार पारेका थिए ।

दक्षिण एसियाको मैदानी भूभागमा सुरूमा आस्ट्रो–द्रविड जातिहरूलाई दास बनाउँदै दास–मालिक युग वैदिक आर्यहरूकै नेतृत्वमा सुरू भएको थियो । गङ्गा मैदानमा वैदिक आर्यहरूले निर्माण गरेको सभ्यता संसारकै एउटा महासभ्यता थियो । यही वैदिक आर्य महासभ्यताभित्र अन्त नदेखिएको अनुल्लङ्घनीय श्रम विभाजनको प्रणाली अर्थात् जुन परिवारलाई जे काम तोकिएको छ, त्यो काम वा पेसा उसका सन्तान दरसन्तान कसैले परिवर्तन गर्न नपाउने प्रणाली जसलाई चार वर्ण व्यवस्था भनेर बुझिन्छ, त्यो वर्ण व्यवस्था यही महासभ्यताभित्र निर्माण गरियो । पछि यस महासभ्यातालाई हिन्दु धर्म र सम्प्रदायका रूपमा चिन्न थालियो ।

सिन्धुघाटीबाट सुरू गरेर गङ्गा मैदानसम्म पुग्दा यस महासभ्यताभित्र छुवाछूत र जात व्यवस्थासमेत क्रमशः संस्थागत र संस्कारगत बन्ने प्रक्रिया चल्यो । यस वैदिक आर्य महासभ्यातासँग सम्बन्धित समुदायहरू आजको नेपाल भूखण्डमा कहिले कसरी आए भन्ने बारेमा अलि बढी तथ्य–प्रमाणहरू पाइन्छन् ।

एक, नेपालको तराई खण्डमा हिन्दुधर्मीय वैदिक आर्यहरू गङ्गा मैदानबाट उपयुक्त जमिन खोज्ने र यात्रा गर्ने क्रमसँगै बस्ती उत्तरतिर सार्दै आउँदा आइपुगेका हुन् ।

राजा जनकको प्रतिष्ठित राज्य नै जनकपुर आसपास भएको मानिएबाट त्यतिबेलै वैदिक आर्यहरू आफ्नो सभ्यतासहित वागमती र कोशी नदीका बिचको तराईमा आवाद भइसकेका थिए । यो समय इ.पू. ८००–१००० हो भनी भनिन्छ । त्यसैगरी नारायणी– पश्चिम कपिलवस्तुको समथल भूमिसम्म पाली भाषी सिद्धार्थ गौतमका पिता सु्द्धोधनहरूको सभ्यताकृत आवादी बसिसकेको थियो । यो समय २६ सय वर्ष अगाडिको भनी प्रमाणित नै छ ।

नेपालको तराई खण्डमा आइपुगेका वैदिक आर्यले आफूसँगै छुवाछूतसहित वर्ण व्यवस्था लिएर आएका हुन् । वैदिक आर्यको आज जसलाई मधेसी भनेर समेत चिनिन्छ, त्यो शाखा यसरी नेपालको तराई खण्डमा आइपुगेको थियो ।

दुई, भारतको वैशालीमा जातपात, छुवाछूतसहितको वर्ण व्यवस्थायुक्त हिन्दु सभ्यता अभ्यास गरिरहेका लिच्छविहरूको एउटा झुन्डले सन् १७१–२०० का बिचमा वागमती उपत्यकामा प्रवेश गरी यहाँको किराती राज्यमाथि आक्रमण गरेको थियो र विजयी भई लिच्छविकाल सुरू भएको थियो ।

लिच्छवि हिन्दु थिए र वैदिक आर्यको प्रवेशको दोस्रो झुन्ड थियो, जसले वागमती उपत्यकामा पनि ४ वर्ण र १८ जातको संरचनायुक्त जात व्यवस्था सुरू गरे । लिच्छविकालमै सुरू गरिएको जात व्यवस्था र छुवाछूतलाई मल्लकालमा जयस्थती मल्लले पेसागत जात ६४ पु¥याई छुवाछूतसहितको वर्ण व्यवस्थालाई झनै कठोर पारेका हुन् ।

तीन, आजको नेपाल भूखण्डमा सबैभन्दा पछि प्रवेश गर्ने वैदिक आर्यहरू चाहिँ इसाको दसौँ शताब्दीपछि आए भनी मानिन्छ । प्रवेश पश्चिम नेपालबाट सुरू भयो ।

हुन त शङ्कराचार्यले छैटौँ शताब्दीमा नेपालको पश्चिमको पहाडी र हिमाली भूभागमा भ्रमण गरेदेखि नै त्यस क्षेत्रमा वैदिक आर्य र हिन्दु मतको संसर्ग सुरू भएको मानिन्छ तर पनि ठोस रूपमा वैदिक आर्यका झुन्डहरू पश्चिम नेपालको खस डोटेली र सिंजाली सभ्यतामा प्रवेश इसाको दसौँ शताब्दीपछि सुरू भएको हो ।

आजको भारतको दिल्लीलगायतका क्षेत्रमा इसाको दसौँ शताब्दीपछि इरानी इस्लामधर्मीहरूले दर्जनौँ पटक आक्रमण गर्ने क्रमसँगै तत्कालीन भारतको वैदिक आर्यको एउटा झुन्ड त्यसबाट सुरक्षित बन्न क्रमशः पहाडी भूभागतिर सर्न थाल्यो ।

पहाडी भूभागमा कुमाउ–गढवाल क्षेत्रदेखि सतलज र महाकालीवारि मस्टोपूजक खसहरूले निर्माण गरेको खस राज्यसँग सम्बन्धित राज्यहरू थिए । खसहरू हिन्दूकरण हुनुभन्दा पहिले बौद्ध मत मान्ने खसहरूको झुन्ड पनि त्यहाँ बनिसकेको थियो ।

यसरी दसौँ शताब्दीपछि आजको पश्चिम नेपालको खस सभ्यतामा प्रवेश गर्न सुरू गरेका वैदिक आर्यहरूले खस राज्यहरूसँग संसर्ग र एकता गर्दै सिङ्गो खस सभ्यतालाई हिन्दूकरण गर्ने प्रक्रिया सुरू गरे । चौधौँ शताब्दीसम्म पुग्दा वैदिक आर्यहरूले खस सभ्यतालाई जात व्यवस्थामा आधारित गरी हिन्दूकरण गर्न सफल भइसकेका थिए ।

यसरी पश्चिम नेपालमा खस सभ्यतालाई हिन्दूकरण गरेपछि त्यहाँका दुई ओटा महासभ्यता एउटैमा विलय हुन पुगे र एउटा नयाँ जाति वा राष्ट्र सङ्गठित हुन पुग्यो– आर्य खस । जसभित्र मस्टोपूजक मतवाली खसको मुख्य जनसाङ्ख्यिक हिस्सा थियो भने वैदिक आर्यको अर्को हिस्सा त्यसैभित्र रह्यो ।

अहिले आर्य खसभित्र वैदिक आर्य शाखाको को हो र को मतावाली खस शाखाको हो भनी चिन्नका लागि कसको कुलदेवता के हो भनी बुझ्नु जरूरी हुन्छ । जसको कुलदेवता मस्टो हुन्छ त्यो खस मतवाली शाखाको हो भने जसको कुलदेवता हिन्दु देवता हुन्छन् त्यो वैदिक आर्य शाखा हो ।

वैदिक आर्यहरूले गर्न चाहेको हिन्दूकरणभित्र प्रवेश गर्न नचाहेका मतवाली खसहरूको सानो झुन्ड अहिले पनि ‘मतवाली खस’ वा ‘खस पावै’का रूपमा पश्चिम नेपालमा छँदै छन् । यसप्रकार दसौँ शताब्दीपछि चौधाँै शताब्दीसम्ममा पश्चिम नेपालमा निर्माण भएको जातपात, छुवाछूतसहितको वर्ण व्यवस्था नै गोरखा, नुवाकोटसम्म र सेनवंशीय राज्यसम्म फैलिँदै आएका आर्यखस जातिभित्रको वर्ण व्यवस्था हो, जसलाई गोरखाका राजा राम शाहले थप परिभाषित गरेका थिए ।
(विश्वभक्त दुलाल (आहुती)ले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विचारधारात्मक राजनीतिक कार्यदिशासम्बन्धी प्रस्तावको अंश )

प्रतिक्रिया दिनुहोस्