Logo
  माघ १६, २०७९ सोमबार

वैज्ञानिक समाजवादी युगको आरम्भ भएकै हो ?



उत्पादक शक्तिमा गुणात्मक परिवर्तन हुने सिलसिलाले पुरानै युगको मानव जीवनलाई सहज बनाउने कार्य मात्रै गर्दैन, बरू नयाँ युग वा नयाँ उत्पादन सम्बन्धलाई पनि अनिवार्य रूपमा जन्माउन सुरू गर्दछ । आज मुख्य उत्पादक शक्तिको रूपमा विज्ञान–प्रविधि आएपछि यसले मानव जीवनमा हिजोको दाँजोमा सुविधाहरू पनि थपेको छ र पुँजीवादलाई भूमण्डलीकृत रूपमा शोषण गर्ने अवसर पनि सिर्जना गरेको छ । तर यो मुख्य क्रान्तिकारी पक्ष होइन ।

मुख्य र क्रान्तिकारी पक्ष चाहिँ आजको भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादी व्यवस्थाभित्रै वैज्ञानिक समाजवादी युगको आरम्भ हुन पुग्नु हो । हो, आज वैज्ञानिक समाजवादी युगको प्रारम्भ हुन पुगेको छ ।
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले शानदार रूपमा के संश्लेषण गरेका थिए भने तबसम्म विश्वव्यापी वैज्ञानिक समाजवाद र साम्यवाद सम्भव छैन, जबसम्म मानिसको आवश्यकता पूर्ति गर्नको लागि प्रचुर उत्पादन हुँदैन । वैज्ञानिक समाजवाद–साम्यवाद प्रचुर उत्पादनको युग हुनेछ भन्ने नै त्यो निष्कर्षको सार हो । अब माक्र्स र एङ्गेल्सले संश्लेषण गरेको त्यो प्रचुर उत्पादन हुने युग प्रारम्भ भयो, किनभने विज्ञान–प्रविधि त्यो उचाइ हासिल गरेर अझ द्रुत गतिमा अगाडि बढिरहेको छ ।

केही उदाहरणहरूबाट यो विषय छर्लङ्ग हुन्छ । आज करिब १५ प्रतिशत जनसङ्ख्याले उत्पादन गरेर शतप्रतिशत इजरायलीलाई कृषिजन्य अन्न, माछा–मासु, तरकारीलगायत उपभोग्य वस्तु पर्याप्त बनाएर विदेश निर्यात भइरहेको छ । जब कि कृषिको लागि इजरायलको माटो अन्तको दाँजोमा गुणकारी मानिँदैन । यो के कारणले सम्भव भयो ? कारण प्रष्टै छ– विज्ञान–प्रविधिले त्यति कमसल माटो भएको स्थानमा पर्याप्त उत्पादन गर्न सक्ने बनायो । यो जीवन्त दृष्टान्तले मात्र पनि के कुरा सजिलै प्रष्ट हुन्छ भने विज्ञान–प्रविधिको तीव्र विकासले खाद्य पर्याप्ततामा मानव समाज अब पुग्न सक्ने भयो ।

यो विषय माक्र्स–एङ्गेल्सले संश्लेषण गरेको प्रचुर उत्पादनकै युगको प्रारम्भ हो भन्ने स्वीकार गर्न हिच्किचाउनुपर्ने कुनै कारण छैन । किनभने इजरायलमा भएको त्यो उत्पादन अपवादको माटोको कारण होइन, बरू त्यो त प्रविधि हो । प्रविधि त विश्वको जुनसुकै स्थानमा आवश्यक परिमार्जनसहित अपनाउन सकिन्छ । आज नाफाखोर पुँजीवादको हातमा सत्ता हुँदाहुँदै पनि सञ्चार सुविधा प्रचुर हुन पुगेको छ ।

पुँजीवादले अझै सञ्चारलाई व्यापार बनाइरहेको छ, तर थोरै रकममा वाइफाइ जोडिएपछि विश्वव्यापी सञ्चार सम्बन्धबाट मानिसलाई रोक्न अब उसले नसक्ने भयो । सञ्चारमा भएको यो छेलोखेलो उत्पादन विज्ञान–प्रविधिले ल्याएको हो, जसलाई पुँजीवादले रोक्नै सक्तैन । रेडियो, पात्रो, घडी, क्यामेरा लगायतका चिज अब डिजिटल्ली छ्याल्लब्याल्ल उपलब्ध भयो, जति चाहे पनि उपभोग गर्न सकिने भयो । गीत, सिनेमा, पुस्तकहरू करोडौं करोड मानिसहरूले नगण्य दाममा उपभोग गर्न सक्ने युग आयो ।

हिजो दुई प्रति ‘कम्युनिस्ट घोषणापत्र’ पुस्तक पुस्तकालयमा राख्यो भने १०० जनाले पढ्न ५० हप्ता पनि लाग्न सक्दथ्यो, त्यो च्यातिन्थ्यो । तर अब विज्ञान–प्रविधिले एकपटक ‘कम्युनिस्ट घोषणापत्र’ पुस्तक इन्टरनेटमा जोडिदिने हो भने दुनियाँभरिका अरबौं मान्छेले एकसाथ पढ्न सक्ने, कपी गरेर जति अर्ब बनाए पनि हुने, अरूलाई डिजिटल्ली बाँड्दा आफूकहाँ पनि रहिरहने भयो ।

यही त हो माक्र्स–एङ्गेल्सले भनेको प्रचुर उत्पादन ! यी केही दैनन्दिन व्यवहार गरिएका दृष्टान्तले के प्रमाणित गर्दछ भने प्रचुर उत्पादनको युग सुरु भयो, पुँजीवादले नचाहेरै पनि आम जनताले उपभोग गरिछाड्ने गरी प्रचुर उत्पादनको सिलसिला प्रारम्भ भयो । हो, भूमण्डलीकृत पुँजीवादी युगभित्र वैज्ञानिक समाजवादी युगको प्रारम्भ यसरी हुन पुग्यो ।

केही दशक अगाडिसम्म पुँजीवादले टिकाउ सामान बनाउने, धेरै उत्पादन गर्ने र बढी बेचेर नाफा बटुल्ने रणनीति लिन्थ्यो, किनभने त्यतिबेला प्रचुर उत्पादन हुने विज्ञान–प्रविधि थिएन । उत्पादन थोरै हुने हुनाले अभाव स्वतः रहन्थ्यो, त्यसले अभावमाथि नाफाको रणनीति बनाउँदथ्यो । तर आज पर्याप्त उत्पादन हुने विज्ञान–प्रविधिको युग प्रारम्भ भएकाले पुँजीवाद नाफा बढाउन कृत्रिम अभाव सृष्टि गर्ने,

उपभोक्तावादी बनाएर मानिसहरूमा मालको अनावश्यक उपभोगको लत बसाल्ने, छोटो समय मात्र उपभोग गरी फाल्नुपर्ने सामान बनाएर पटक–पटक एउटै उपयोगिताको सामान चाँडो–चाँडो किन्न बाध्य पार्ने, सफ्टवेयरको कुनै नयाँ उपयोगी एप्लिकेसन बेच्दा त्यसलाई बिगार्ने भाइरस पनि सँगै पठाउनेलगायतका रणनीति अख्तियार गर्न बाध्य भएको छ ।

यसप्रकार के कुरा स्पष्ट हुन्छ भने विज्ञान– प्रविधि नै मुख्य उत्पादक शक्ति भएको युगले गर्दा भूमण्डलीकृत पुँजीवाद पनि सम्भव भयो र त्यसलाई अन्त्य गर्न छ्यालब्याल उत्पादनसहितको वैज्ञानिक समाजवादी युग पनि प्रारम्भ भयो ।
(वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विचारधारात्मक राजनीतिक कार्यदिशा सम्बन्धी प्रस्ताव–२०७ ५ नामक दस्तावेजबाट)

प्रतिक्रिया दिनुहोस्