Logo
  माघ १६, २०७९ सोमबार

महिला पत्रकारको पीडा, सहकर्मीबाट हुने हिंसा



हामी एक्काइसौ शताब्दीको परिवेशमा छौ । अझ भनौ, ज्ञानविज्ञान र आधुनिकतामा छौ । महिला र पुरुष एकै रथका दुई पांग्रा भनिरहेका छौ । पत्रकारितामा लेखिरहेका छौँ, आवाज बुलन्द गरिहेका छौ ।

चुनौतीको खेती भनिने पत्रकारिता महिलाका लागि थप चुनौतीपूर्ण छ । महिला पत्रकारले चाहेर पनि चुनौतीलाई पार गर्ने वातावरण छैन । सामाजीक बन्धन, शारीरिक बनावट र महिलाप्रति हेरिने दृष्टिकोणले महिला पत्रकारका लागि चुनौती थपिएको हो ।

पत्रकारितामा सिद्धान्त, उद्देश्य र कार्यहरू अध्ययन गरिन्छ । भनिन्छ, अध्ययनशील, लगनशील र निडर भएमात्र पत्रकार बनिन्छ । तर, व्यवसयिक पत्रकारितामा सिद्धान्तको मूल्य कमजोर हुँदो रहेछ । पत्रकारितामा एकातर्फ डर र त्रासको वाताबरण छ भने अर्कातर्फ चाकरी पत्रकारिता छ ।

सरकार, राजनीतिक दल, आपराधिक समूहबाट पत्रकारिता त्रस्त हुनु पर्ने अवस्था छ । सत्ता र सरकारको भजनकिर्तन गाउने पत्रकारिताले पत्रकारिताको मृत्यु हुँदै गएको छ । अध्ययन गर्दा पुस्तकमा पाइएको र भनिएको पत्रकारिता वास्तविकतामा पाउन मुस्किल छ । पत्रकारिताको सिद्धान्त र व्यवहारमा ठूलो अन्तर देखिएको छ । यस्तो अवस्थामा असल पत्रकार कसरी बनिरहन सक्छौ ? सबैले सोँच्नु पर्ने भएको छ ।

पत्रकारका लागि पत्रकारिता नसा जस्तो हुन्छ । एक खाले पत्रकार रिपोर्टिङमा दौडिने र समाचार तयार गर्ने कार्यले फुर्सद हुँदैन । अर्का खालका पत्रकार चिया गफ, फेसबुक, टुइटरमा रम्यो, लाइक, कमेन्ट र फलोअर हेरेर दिन बिताउने पनि छन् ।

पत्रकारिता सिंगो देशको निर्णायक अंग हो । तर, यही पत्रकारितामा महिला पत्रकारको अवस्था जर्जर छ । पत्रकारितामा महिला सहभागिता फलामको चिउरा चपाउनु जस्तै बनेको छ । महिला पत्रकारलाई हेर्ने दृष्टिकोणमा पुरुषवादी सोँच र सामन्तवादी अवशेषले काम गरेको छ । मूलधारका सञ्चारगृहमा व्यवसायिक महिला पत्रकार औलामा गन्न सकिन्छ । पुरुषप्रधान देशमा महिला प्रति हाम्रो समाजले हेर्ने र देखाउने दृष्टिकोण, उठाउने चोर औला हो ।

विद्यमान अवस्थामा पनि अधिकांश महिला पत्रकार कार्य क्षेत्रमा खुलेर लाग्न सक्ने अवस्था छैन । मिडियामा काम गर्ने समयका चुनौतिदेखि पारिश्रमिकसम्मका कुराले पत्रकारिता क्षेत्रमा महिला पुरुषको तुलनामा निक्कै पछाडी र कम छन् ।

राजधानी बाहिर बढी पत्रकार संख्या रहेको जिल्ला पनि सम्भवत झापा नै हो । तर, बिडम्वनाको कुरा रिपोर्र्टिङमा हिड्ने अनि समाचार लेख्ने महिलाहरुको संख्या भने औलामा गणना गर्न सकिन्छ । २५ वर्ष यताको तथ्यांक हेर्ने हो भने झापामा दर्जनबढी सञ्चार संस्था स्थापित भइसकेका छन् । केही संख्यामा थपिइ रहेका छन् । तरपनि महिला पत्रकारका समस्या उस्तै छन् ।

पत्रकारिता पेशामा लागेका महिला पत्रकारको कामको मूल्याङ्कनसँगै प्रोत्साहन गर्ने चलन कमै मात्र पाइन्छ । जसले गर्दा दक्ष महिला पत्रकार यस पेशाबाट बिस्तारै पलायन हुने क्रम जारी छ । अरुका हिंसामा कलम चलाउने महिला पत्रकार आफै पनि कुनै न कुनै बेला लैंगिक हिंसाको चपेटामा पर्ने गर्छन् ।

महिला पत्रकार भएर स्थापित हुन ठूलो चुनौति रहेको छ । एक त चुनातिपूर्ण कार्य पत्रकारिता त्यसमा पनि महिला भएर फिल्डमा निस्कँदा बाहिरी वाताबरणसँग आफैलाई ढाल्न नै निक्कै कठिन हुन्छ । तर, हिम्मत र हौसला रहेमा जस्तोसुकै कठिनाई पार गरि एक दिन लक्ष्यमा अवस्य पुग्न सकिने छ ।

रहर र भविष्य बुनेर आँट र हिम्मत कसेपनि पत्रकारितामा कुनै महिलाको झुकाव कोपिलामै निमोठिन्छ । निमोठिँदा निमोठिँदै, चिमोटिँदा चिमोटिँदै काँडेतार नाघेर जम्न लागेका महिला पत्रकारका लागि आफ्नै शरीर चुनौती बनिदिन्छ । अन्य पुरुषले मात्र होइन, सहकर्मी पुरुष पत्रकारको हेर्ने दृष्टिकोण र नजर पनि मित्रवत हुँदैन । महिला पत्रकारको शारीरिक बनावट वा सौन्दर्यले पुरुषबाट प्रताडित हुनु पर्दछ । यसले पेसामा झन चुनौती थपिदिन्छ ।

समाचार लेखेकै भरमा महिला पत्रकारको इज्जत माथि दाग लगाउने अनेक प्रपञ्च रचिन्छ । यौन दुव्र्यवहारको सिकार बनाइन्छ । यति मात्र होइन, आफ्नै सञ्चारगृहका सहकर्मी पुरुष पत्रकारबाट गिद्धे नजर लगाइन्छ । जुन पुरुषसँग हरेक समाचारको समन्वय गरिहनु पर्ने हुन्छ । तीनै पूरुषसँग इज्जतको लागि पौठेजोरी खेल्नु परिहेको हुन्छ ।

पुरुष पत्रकारले चाहेको व्यवहारमा संलग्न नभए जागिरबाट निकालिदिने, इज्जतको धज्जी उडाउने जस्ता अनेकौ धम्कीको सामना गर्नु परिहेको हुन्छ । पहिलो चरणको काँडे तार नाघेर व्यवसायिक पत्रकारितामा जमिरहेका महिला पत्रकारले बीचैमा हात धुनुपर्ने बाध्यता छ ।

हामी ठूलो आँट र जोस लिएर पत्रकारितामा प्रवेश गर्छौ तर पनि बिचमा आउने विविध समस्याले गर्दा पत्रकारिताका क्षेत्रमा केही समय पश्चात नै पेसा छोड्ने अवस्था सृजना भइदिन्छ । यो एकदमै बहसको विषय बनेको छ । हामी महिला पत्रकार भएको नाताले छुट्टै मान सम्मान खोजेका पनि होइन र छैनौँ पनि । खोजेका त केवल आत्मासम्मान र पुरुष पत्रकार दाजुभाइ माझ समान रुपमा काम गर्ने वातावरण ।

मानसिक, शारीरिक, पारिवारिक, आर्थिक र सामाजिक भुमिकाको भुमरी भित्र फस्नुपर्ने भएपछि पत्रकारितामा महिलाको उपस्थिती स्वतः घट्छ । पत्रकारीतामा समाचार लेख्न सक्ने महिला पत्रकारको खाँचो खड्कनु नपरोस् । पत्रकारितामा आउन पुरुषलाई जति सजिलो छ महिलालाई उतिकै कठिन छ ।

पत्रकारितालाई आवाज विहिनहरुको आवाज पनि भन्ने गरिन्छ । तर, पत्रकारितामा तीन (प) अर्थात पैसा, पावर र पदका पछि दौडने प्रवृति हावी भएको छ । कुनै विपन्न र निमुखा वर्गको पिडा र समस्यालाई भन्दा ठूला प्रतिष्ठावाल मान्छेका कुरा बिकिरहेका छन् । पत्रकारको नाममा हुने गलत कार्यले पत्रकारिता पेसामा अनेक लाल्छना लाग्ने गरेको छ । समाचार लुकाउने वा चाकरी पत्रकारिता गर्ने कुरा सान्दर्भिक हुँदैन। पत्रकार र पत्रकारिताको मूल्य बजारमा बेच्न राखेको सब्जी भन्दा पनि सस्तो हुने अवस्था छ । कसैले तपाई के गर्नु हुन्छ भनेर सोध्यो भने छाती फुलाएर भन्न सकु, पत्रकार हुँ म । यसमा पत्रकारिता पेसा गर्नेले गम्भिर बन्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्