Logo
  माघ २२, २०७९ आईतबार

कसरी बिकास भयो खस महासभ्यता ?



नाक धारिलो चुच्चो, आँखा लाम्चा भएको मानव शाखा शीतप्रदेश अर्थात् विश्व भूगोलको आजको युरोपमा विकसित भएको मानिने कुरा सर्वविदितै छ । त्यही युरोपको शीतप्रदेशमा विकसित मानव शाखालाई आर्य भनी बुझ्ने परम्परा छ ।

युरोपमा विकसित त्यस आर्य मानव समूहको एउटा झुन्ड विश्व यात्राका क्रममा निस्केर मध्य–एसियाको ककेसस क्षेत्र हुँदै तिब्बतको मानसरोबरदेखि वर्तमान नेपालको जुम्लाको सिंजा, डोटी र भारतको कुमाउ–गढवालको पहाडी क्षेत्रदेखि कास्मिरसम्म अनि गङ्गा मैदानसम्म इसाको पहिलो शताब्दीभन्दा अघि नै विचरण गरिसकेको एउटा महासभ्यता हो– खस ।

ककेसियाली भएकाले उनीहरूलाई सुरूमा ककस र पछि खस भन्ने परिचय मिलेको कुरामा धेरै विद्वान् सहमत छन् । खस एउटा महासभ्यता थियो । उनीहरूभित्र काशी, कोसललगायतमा विभाजित प्रजातिहरू समेत विकसित थिए । छाग र छागल नामका थप प्रजाति पनि थिए भन्ने तथा छाग र छागल भनेको कासी र कोसल प्रजातिकै अर्को नाम थियो भन्ने विद्वान्हरू बिच मतान्तर बाँकी भए पनि विभिन्न प्रजातिसहितको खस एउटा महाजाति वा महासभ्यता थियो भन्नेमा चाहिँ कुनै विवाद देखिन्न ।

खस सभ्यतामा जातप्रथाको विभेद थिएन । उनीहरू जाँडरक्सी बनाउने खाने मतावाली थिए । सुँगुर उनीहरूको कूल देवतालाई चढाउन मिल्ने पशु थियो । उनीहरू १२ भाइ वा १२ ओटा फरक– फरक मस्टो (कुलदेवता) पूजक हुन् । उनीहरू धामी परम्पराका हुन् । नेपालको जनजातिबाहेक लुटी–विवाह प्रचलन धेरैपछिसम्म कायम रहेको समुदाय खस नै थियो ।

यो मस्टोपूजक खस सभ्यता नेपालको आजको भूगोलको जुम्लाको सिंजादेखि कर्णालीपारिको डोटी हुँदै सतलज नदीपारिको पहाडी भूभागमा इसाको दोस्रो शताब्दीसम्म प्रवेश गरी आवाद भइसकेको थियो । इसाको पाँचौँ शताब्दीसम्ममा त सिंजा एउटा साम्राज्य बनिसकेको थियो ।

त्यसैगरी डोटी पनि एक हर्ताकर्ता राज्यका रूपमा उपस्थित भइसकेको थियो । खस महासभ्यता नेपालमा प्रवेश भएपछि यसले कर्णालीपारि डोटेली भाषासहितको डोटी राज्यलाई केन्द्र बनाएर एउटा डोटेली उपसभ्यता निर्माण ग¥यो । जुन भाषासहितको प्रभाव आजको भारतको कुमाउ– गढवाल क्षेत्रसम्म र कर्णालीवारिको दैलेख, जाजरकोट, जुम्ला आदि तत्कालीन प्रभावशाली राज्यहरूसम्म थियो ।

डोटेली खस उपसभ्यता कति प्रभावशाली थियो भन्ने कुरा यसबाट पनि अनुमान लगाउन सकिन्छ कि नेपालको राजधानीको नाममा समेत डोटेली भाषा उपस्थित छ अर्थात् काठमाडौँ । ‘माडौँ’ भनेको डोटेली भाषामा मन्दिर हो । काठको मन्दिर अर्थात् काठमाडौँ । (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विचारधारात्मक राजनीतिक कार्यदिशा सम्बन्धी प्रस्ताव– २०७ ५को केही अंश)

प्रतिक्रिया दिनुहोस्