Logo
  माघ २५, २०७९ बुधबार

ज्ञानेन्द्र शाहीमाथिको आक्रमणः सत्ताको उन्मादी क्रियाकलाप !



भ्रष्टचार बिरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीमाथि चितवनको चौबिसकोठीमा नेकपाका कार्यकर्ताले शनिवार निर्घात कुटपिट गरका छन् । ‘नेपालका लागि नेपाली’ अभियान चलाउँदै आएका शाहीलाई राजावादीको आरोप लगाउँदै सत्ताधारी कार्यकर्ताले कुटपिट र आक्रमण गरेका हुन् । आक्रमणबाट गम्भिर घाइते शाहीको चितवनमा उपचारपछि काठमाडौँ लगिएको छ ।

नेकपाका कार्यकर्ताले शाहीलाई यसअघि पनि आक्रमण गरेका थिए । पर्यटन मन्त्री योगेश भट्टराईलाई दुरव्यवहार गरेको आरोपमा नेकपाका कार्यकर्ताले भाद्र २९ गते ललितपुरमा भएको पत्रकार सम्मेलनमा पत्रकारको छद्म भेषमा शाहीमाथि कुटपिट गरेका थिए । भाद्र २८ गते पर्यटन मन्त्री भट्टराईले नेपालगञ्जबाट काठमाडौँ आउने बुद्ध एयरको जहाज एक घण्टा रोकिएको भन्दै शाहीले प्रश्न गरेका थिए । जहाज भित्र मन्त्री भट्टराई निरुत्तरित थिए भने शाही आक्रमक थिए ।

जहाज भित्र शाहीले मन्त्रीलाई गरेको प्रश्न र व्यवहारको भिडियोप्रति नागरिकका फरक फरक धारणा सार्वजनिक भए । शाहीको त्यस्तो व्यवहारको समर्थन र बिरोध दुबै भयो । तर, भाद्र २९ गते ललितपुर भएको शाहीको पत्रकार सम्मेलनमा पत्रकारको छद्म भेषमा पुगेका सत्ताधारी विद्यार्थीले उनीमाथि आक्रमण गरे ।

शाही प्रहरीको केही घण्टाको नियन्त्रण पछि छाडिए । तर, सत्ताधारी युवा संघ र विद्यार्थी संगठनले शाही राजावादी भएको आरोप लगाउँदै प्रतिवाद गर्ने चेतावनी दियो । युवा संघ कास्की र धनुषाले ज्ञानेन्द्र शाहीलाई प्रवेस निषेधको घोषणा गर्यो । यस्तो घोषणाले सामाजिक सञ्जाल सेलाउँदै गएको थियो । तर, शाहीमाथि शनिवार चितवनको चौबिसकोठीमा सांघातिक हमलाले पुनः शाहीको अभियानलाई सतहमा ल्याएको छ ।

ज्ञानेन्द्र शाहीले योगेश भट्टराइैलाई हवाई जहाज भित्र जुन दुरुव्यवहार गरे, त्यसलाई धेरैले निको मानेनन् । शाहीले एक घण्टाको दावी गरे पनि मन्त्रीका कारण लगभग १५ मिनेट मात्र ढिला भएको पुस्टी भयो । सचेत नागरिकले मन्त्री जहाजमा ढिला आउने कुरालाई समर्थन गर्न सक्तैनन् तर शाहीले मन्त्रीप्रतिको व्यवहारको पनि समर्थन गर्न सक्तैनन् ।

मन्त्री भट्टराईको हजाइजहाज प्रकरणमा नागरिकको मिश्रित प्रतिक्रिया आइरहेका बेला सत्ताधारी विद्यार्थीले पत्रकारको छद्म भेषमा शाहीमाथि आक्रमण गर्नु निन्दनीय कार्य थियो । त्यस घटनाको चितवनमा पुनारावृति भएको छ । यसबाट सत्ताको उन्नमादी गन्ध आउँछ ।

ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको बिरोध गर्दा कतिपय तथ्यहीन आरोप पनि लगाउने गरेका छन् । उनले सार्वजनिक गर्दैमा सबै कुरा सत्य हुने पनि होइन । यदि कुनै व्यक्ति, संस्था वा निकाय भ्रष्टचारमा संलग्न छैन भने खण्डन गर्न सक्छन् । त्यसको प्रतिवाद हुन सक्छ । सडकबाट लगाइएका आरोप असत्य हो भने त्यसबाट डराउनु पर्ने, तर्सनु पर्ने कुरै हुँदैन ।

आरोपबाट डराउने र तर्सने भनेको आरोपको नजिक हुनेहरु मात्र हुन् । ज्ञानेन्द्र शाहीमाथि भएका आक्रमणका घटनाले सरकार र सत्ता त्रसित भएको प्रतित हुन्छ । शाहीले लगाएका गलत आरोपबाट सरकार, सत्ता, सत्ताधारी पार्टी र वर्ग त्यति त्रसित हुनु पर्ने अवस्था होइन । पार्टी, संगठन र सरकारी एजेन्सीले त्यसको खुल्ला प्रतिवाद गर्न सक्छन् । त्यसमा पनि सरकारी सञ्चार माध्यम मात्र होइन, सरकारको पक्षमा खुलेर लाग्ने सञ्चार माध्यम र पत्रकारको नेपालमा कमी पनि छैन । सरकारको रक्षा र बचाउमा सयौँ सञ्चार माध्यम र पत्रकार रक्षा कवज भएर अघि आएकै छन् ।

ज्ञानेन्द्र शाहीले सडकबाट लगाएका भ्रष्टचारको आरोप ठिक नहोला । उनी कसैबाट परिचिलित होलान् वा उनी राजावादी मात्र होइन, पूर्व राजा ज्ञानेन्द्रबाटै परिचालित होलान् । तर, उनले उठाएको एउटा कटु सत्य देशमा भ्रष्टाचार छ भन्ने तथ्य हो । यदि यो साँचो हो भने शाहीको बिरोध किन गर्ने ? सरकारका मुखिया प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रष्टाचार निर्मूल पार्ने घोषणा गरेकै छन् । यदि प्रधानमन्त्रीको घोषणा सफल बनाउने हो भने, ज्ञानेन्द्र शाहीलाई मुक्का होइन, धन्यवाद र फूलमाला लगाइदिए हुन्छ ।

ल भैगो, ज्ञानेन्द्र शाहका विचार, दृष्टिकोण ठिक भएन वा उनको कार्यशैली गलत छ भने त्यसको प्रतिवाद लाठा र मुक्काले होइन, विधिबाट हुनु पर्दछ । शान्तिपूर्ण रुपमा भेला हुन पाउने, विचार र अभिव्यक्तिको स्वतन्त्रता संवैधानिक अधिकार हो । यो संविधानले दिएको मौलिक हक हो । त्यसमा सरकार र सत्तामा बसेकालाई प्रश्न गर्न पाइनु नै लोकतन्त्र हो । प्रश्न गर्न नपाइने साशन लोकतन्त्र हुन सक्तैन ।

लोकतन्त्रमा फरक विचारको पनि सम्मान हुन्छ । फरक विचार सहमत नहुन सकिन्छ, तर त्यसलाई निषेध गर्न पाइँदैन । नेपालको संविधानले शान्तिपूर्ण रुपमा विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरिएको छ । यो नै लोकतन्त्रको मूल विशेषता हो । राजावादी वा दरवारीयाको गणतन्त्र ल्याउनमा योगदान नहोला, तर गणतन्त्रमा उनीहरुका लागि पनि समान अवसर हुन्छ । गणतन्त्र र लोकतन्त्रको लडाईँ लड्नेलाई संविधानमा कुनै विशेषाधिकार छैन । नागरिक सबै समान छन् ।

शाहीले कानुनका विरुद्ध कुनै कार्य गरे उनलाई सजाय गर्न सकिन्छ । सरकार, प्रहरी र कानुनका आधारमा शाहीले गलत गरेका छन् भने सजाय पाउनु पर्छ । तर, त्यसको सट्टामा भौतिक आक्रमण हुन सक्तैन । सत्ताधारी पार्टीका कार्यकर्तालाई कानुन हातमा लिएर मान्छे कुट्न पाउने अधिकार लोकतन्त्र हुँदैन ।

ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणलाई सत्ताधारी कार्यकर्ताको एउटा पंतिले जायज ठहर्याउला । सामाजिक सञ्जालमा सत्ता निकटकका कयौँ पत्रकार, सञ्चारमाध्यम, जनप्रतिनिधि, अधिकारकर्मीसमेत जेपायो त्यही बोल्दै हिँडेकाले कुटाई खाएको कूतर्क गरेका छन् । लोकतन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको लडाईमा होमिएकाहरुको सामाजिक सञ्जालमासमेत शाहीले कुटै खानु ठिकै हो भन्ने कुतर्क गर्नु दुर्भाग्यपूर्ण छ ।

शाही कुनै सत्ताधारी कार्यकर्ता भएका ठाउँमा निहुँ खोज्दै गएका थिएनन् । उनको समूहले आयोजना गर्ने तयारी गरेको कार्यक्रममा उनीमाथि आक्रमण भएको थियो । तरपनि मान्छेले कुटाइ खाएको कुरा ठिकै हो भन्ने धारणा लोकतन्त्रका लागि घातक छ । यसले निषेधको संस्कृति स्थापित गर्न सक्तछ । निषेधको संस्कृतिले आम नागरिकमा भय र त्रासको सिर्जना गर्दछ । र, लोकतन्त्र सर्वसत्तावाद र अधिनायकवाद रुपान्तरित हुन सक्छ ।

पञ्चायत कालमा फरक विचार राख्नेमाथि यसरी नै आक्रमण हुन्थ्यो । तिनलाई मण्डले भनिन्थ्यो । २०४६ सालको परिवर्तनपछि काँगे्रस सत्तामा पुग्यो, नेविसंघ यसरी नै फरक विचारबोक्नेसँग आक्रमणमा उत्रियो, उनीहरु प्नि नराम्ररी बद्नाम भए । परिवर्तनका संवाहक भनिएकाबाट त्यही प्रकारको शैली हुनु प्रधानमन्त्रीको भाषामा अरिंगाल हुन ?

विचार, तर्क र सिद्धान्त समाप्त भएपछि मात्र मानिस हिंसामा उत्रने हो । नेकपाका कार्यकर्तामा वैचारिक चेत र प्रतिस्पर्धाको क्षमता समाप्त भएको हो ? वा नेकपाका कार्यकर्तालाई सत्ताको उन्माद लागेको हो ? सत्ताधारीको बेलैमा चेत नखुल्ने हो भने, सत्ताको उन्मादी क्रियाकलापले उसको अस्तित्व समाप्त पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्