Logo
  माघ २१, २०७९ शनिबार

भत्ताले भुत्ते बनाएको पत्रकारिता



स्मार्ट एजुकेशन एण्ड भिजा सर्भिसको शुभारम्भ कार्यक्रम थियो । निम्तो भएकाले पुगे । कार्यक्रम शुभारम्भ भएकाले धेरै समय बस्न उचित लागेन । कार्यक्रमको स्वरुप बुझेर निस्के । सँगै एकजना आयोजक मित्र पनि पछिपछि आए । एकछिन ल सर , भने । उभिए । गोजीबाट एउटा खामबन्दी निकाले । र, सर यो भत्ता । मैले भने , किन र ? उनले भने यहाँको संस्कार नै छ रे । मैले भनिदिए, जस्ले यो कुरा संस्कार हो भन्यो उसलाई भनिदिनु यो गलत भनेर । यो झापा बिर्तामोडको सन्दर्भ हो ।
‘‘
मुलुकमा झापाको पत्रकारिता चर्चा हुने गर्छ । सञ्चार क्षेत्रको कुनै पनि कार्यक्रममा झापाको पत्रकारिताको सकारात्मक चर्चा हुने गथ्र्यो । तर,पछिल्लो समय झापाको पत्रकारिताको खास राम्रो चर्चा छैन । जिल्लामा भएका केहि घटनाले चर्चा लोप गराउँदै गएको छ । जोरसिमल काण्ड,डाक्टर आतंकित बनाएको काण्ड र जग्गा काण्डले यहाँ पत्रकारिताको साखलाई माटो मै मिसायो । फलस्वरुपः पत्रकारिता जगतको यहाँ सम्मान छैन । यसको मुख्य कारक पनि पत्रकार नै हो ।

केहि समय यता भत्ताको चर्चा भइरहेको छ । हरेक कार्यक्रममा पत्रकारलाई भत्ता दिने व्यवस्थाले पत्रकारको सिर्जनालाई मारेको छ । भत्तामा रमाउँदा पत्रकारले आवाज विहीनहरुको आवाजलाई बाहिर ल्याउन सकिरहेका छैनन् । किनभने,आवाज विहीनहरु वा पीडितहरु भत्ता दिन सक्दैनन् ।

भत्ताले टिकेको पत्रकारितामा समाजले कुनै आशा गर्न सक्दैन । कार्यक्रममा पत्रकारलाई भत्ताको राम्रै प्रवन्ध हुने गर्दछ । धेरै पत्रकार भत्ताकै लागि कुदिरहेका छन् । कोहि पत्रकार भत्ताले नै आफ्नो जीविकोपार्जन गरिरहेका छन् । कोहि पत्रकार परिस्थितिले भत्ता बुझ्न बाध्य छन् । केहि पत्रकार भत्ताको विरुद्धमा छन् ।

पत्रकार महासंघ झापाको २०७५ मंसिर १० गते बसेको बैठकले समाचार प्रयोजनका पत्रकार सम्मेलन तथा कार्यक्रममा भत्ता नलिन र नदिन अह्वान गरेको निर्णय ऐतिहासिक निर्णय पनि हो । झापामा हुने दैनिक दर्जनौँ पत्रकार सम्मेलन महासंघको निर्णय पछि न्यून हुन थालेका छन् । पहिला एक दिनमा हुने पत्रकार सम्मेलन अहिले महिना दिनमा पनि हुँदैनन् ।

यद्धपी निर्णय पूर्ण रुपमका कार्यन्वयन हुन त्यति सजिलो छैन । तर, पत्रकारिता क्षेत्रलाई सुधार गर्ने हो भने यो निर्णयलाई पालना गर्न अनिवार्य छ । निर्णय पछि पत्रकारको बृत्तमा धेरै खाले टिका टिप्पणी भइरहेका छन् । यो निर्णय मिडिया हाउस अनुकुल भयो ।

पारिश्रमिक नपाउने पत्रकारले अब कसरी चल्ने ? लगायतका टिप्पणी हुन थालेको छ । यसको समाधान पनि पर्याप्त छ । जतिवेला भत्ताको जमाना थिएन । त्यतिबेलाको पत्रकारिताको चाम उचाईमा थियो । नागरिकको खास समाचार प्रकाशित हुने गथ्र्यो । समाजले पत्रकारलाई पनि पत्याएको थियो । आज पत्रकारलाई पत्याइहाल्ने स्थिति छैन । किनभने,भत्ताले पत्रकार भुत्ते भइसकेका छन् । भुत्ते भएपछि औजारको अर्थ हुदैन । वा, धार लगाउनु पर्छ । पत्रकार महासंघको यो निर्णय भनेको धार लगाउने निर्णय हो । यदि यसलाई कार्यन्वयन गर्ने हो भने पुरानो साख फेरि फर्कन सक्छ ।

केहि यस्ता घटना छन् , जहाँ पत्रकारले भत्ता बुझेर हिडे । जहाँ आत्म सन्तोष हुने ठाउँ पनि छैन । माइधारमा एकजना बृद्धाले पत्रकार सम्मेलन गरिन् । उनले पत्रकार सम्मेलन गर्नुको मक्सद् भनेको आश्रमलाई सहयोग जुटाउनु थियो । सक्दा सहयोग गर्नु पर्ने ठाउँमा ति बृद्धासँग पत्रकारले भत्ता बुझेर हिडे । त्यहि भत्तामा केहि हजार थप्दा मात्र उनले काम गर्न खोजेको पुरा हुन्थ्यो । अर्को,लघुवित्तको घटना छ ।

लघुवित्तको दवावका कारण एकजना ऋणिले आत्महत्या गरेको समाचार प्रकाशित भयो । पीडित परिवार सहयोगको आशामा छट्पटाइरहेको बेला लघुवित्तले पत्रकार सम्मेलन गरेर पत्रकारलाई जनही २ हजारका दरले खर्च दियो । केहि पत्रकारले पीडित परिवारलाई नै दिनु भनिदिए । तर,प्रायःधेरैले भत्ता बुझेर हिडे । पत्रकारिता क्षेत्र अभाव मै चलेको छ भन्दा फरक पर्दैन । त्यसको कारण पनि यहि हो । अब,हिजोको दिनलाई भूलेर नयाँ शिराबाट काम गर्न जरुरी छ ।

विज्ञापन समाचारका रुपमा प्रकाशित भइरहेको छ । त्यसको कारण पनि भत्ता नै हो । समाचार वास्तवमा फ्लास गर्नु पर्ने विषय हो । तर, आज एउटै समाचार ५० जना पत्रकारको शिकार भइरहेको छ । त्यो पनि औपचारिक समाचार । त्यहाँ पनि भत्ताकै गन्ध भएकाले हो । फ्लास गर्ने विषय एउटा पत्रकारले एउटा विषय उठाउन सक्छ । त्यहाँ ५० जना पत्रकार पुग्नु पर्दैन । ५० पत्रकारले ५० वटा विषय उठान गर्न सक्छन् ।

झापाको पत्रकारितालाई मुल्याङकन गर्ने जिम्मेवारी यहि समाजको हो । त्यसका केहि आधार छन् । पत्रकारले समाजलाई सचेत बनाउने हो । जानकारी गराउने हो । विकृतिको विरुद्धमा लेख्ने हो । त्यसले सबैलाई सचेत गराउँछ । त्यसका लागि धेरै टाढा जानुपर्दैन । शहर सफा छैन भने त्यसको जिम्मेवारी पत्रकारले लिनुपर्छ । यदि नागरिकलाई पत्रकारले सचेत गराउन सके भने सबैले सफा गर्ने छन् ।

बिर्तामोडलाई प्लाष्टिक मुक्त घोषणा गरियो । तर,कार्यन्वयन भएको छैन । यदि पत्रकारले यहि विषयलाई प्राथमिकता दिने हो भने यो संभव छ । समाजलाई सहि दिसामा हिडाउने जिम्मा पत्रकार कै हो । अब,मुल्याङकन गरौ,हाम्रो समाज कस्तो छ । समाजलाई एकातिर राखौं र पत्रकारलाई अर्को तिर राखेर हेरौं । मुल्याङकन भइहाल्छ ।

प्रसंग फेरि पनि भत्ताकै हो । कार्यक्रम आयोजकले पत्रकार बोलाउने जिम्मा पत्रकारलाई नै दिन थालेका छन् । बोलाए वापत केहि रकम र आउने सबैलाई ५ सय । आयोजकलाई पनि सजिलो भएको छ । ५ सयमा पुरै विज्ञापन भइहाल्छ । यो गलत हो । यसले पत्रकारिताको मर्मलाई नै हत्या गरेको छ । तर, पत्रकारले बुझेको कुरा के हो भने दिर्घकालिन आम्दानी होइन ।

पेशालाई नै बद्नाम गरेर जीवनको उर्जाशील र सिर्जनशील समय किन बर्बाद गर्ने रु हामीले सोच्नै पर्छ । यसले हाम्रो जीवन चल्दैन । जसले पत्रकारलाई प्रयोग मात्र गरिरहेका छन् । आजीवन जीवन धान्ने वातावरण आफैले बनाउने हो । एउटा समाचार,जसले समाजमा ठुलो प्रभाव पार्न सक्छ । त्यसले त्यो पत्रकारलाई जीवन्त बचाइ राख्छ । पत्रकारले ५ सय बुझेका कारण यहाँका भ्रष्टाचारी,अपराधीहरु सुरक्षित बनेका छन् । उनीहरुलाई पत्रकारले ५ सय नै बुझिरहोस् भन्ने लागेको छ ।

भत्ता नदिए पत्रकार आउँछन् त ? भन्ने जिज्ञासा पनि छ । समाचारका लागि पत्रकार आफै पुग्नेछन् । समाचार खोजी गर्ने विषय हो । कसैले ५ सय दिएर बोलाएको विषय समाचार होइन । त्यो विज्ञापन हो । बोलाई बोलाई समाचार लेख्न लगाइन्छ । यतिसम्मकी होटल खुल्यो भन्ने समाचार पनि पढ्न पाइन थालेको छ ।

गोष्ठी,साधारण सभाको विषय समाचार होइन । त्यहाँ भित्रको खास, पत्रकारले लेख्न सकिरहेका छैनन् । प्रचार चहानेले विज्ञापन गर्ने हो । विज्ञापनलाई समाचार बनाइदिने होइन । धेरै प्रतिष्ठित व्यक्तिहरु सिसाको घेरामा छन् । उनीहरु पत्रकारलाई ५ सय चढाएर सुरक्षित हुन चाहेका छन् । यदि ५ सय भत्ता त्याग्ने हो भने, धेरै सिसाको घेरामा रहेकाहरु जोखिममा पर्ने छन् ।

पत्रकार महासंघले गरेको यो निर्णण स्वागत योग्य छ । अब,सञ्चार संस्थाको अनुमन पनि होस् । पत्रकारहरुको जीवन कसरी चलिरहेको छ , त्यो पनि हेरिदियोस् । आचारसंहिता पालना भएको छ-छैन ? खोजी गरोस् । पत्रकारहरुकै कारण सञ्चार संस्था कमजोर बन्दै गएका छन् । संचार संस्था सवल भएमा पत्रकार स्वतःमजबुद हुनेछन् । समाजको सम्मानित नागरिक पनि बन्नेछन् ।
(इजलास दैनिकका सम्पादक प्रदीप परियारले पत्रकार महासंघको निर्णय पछि लेखेको विचार)

प्रतिक्रिया दिनुहोस्