विष्णुहरि अधिकारी, झापा भद्रपुर नगरपालिका १० चन्द्रगढीका स्थायी बासिन्दा हुन् । प्रगतिवादी साहित्यकारको परिचय बनाएका विष्णुहरि प्रहरी, राजनीतिज्ञ र शिक्षकको परिचय पनि जोडिएको छ । कविता, काव्य समालोचना जस्ता साहितयका विधामा आधा दर्जन बढी कृति दिन सफल अधिकारी प्रगतिशील विचारधाराका स्रष्टा विष्णुहरिले २०७६ सालको माघ ४ गते विहान सँधैका लागि भौतिक शरीर छोडेर विदा भएका छन् ।
वि सं १९९० सालमा साविकको सगरमाथा अञ्चलमा पर्ने टारकेरावारी १ डाडाखर्क, ओखलढंङ्गामा रत्नकुमारी तथा दुर्गाहरि अधिकारीको कोखबाट जन्मेएका हुन् । उनी कवि, समालोचक, शिक्षक, राजनीतिज्ञ लगायत विचित्र रूपपमा जीवन शैली अपनाएका व्यक्तित्व थिए ।
उनका आधा दर्जन बढी कृति तथा योगदानका संस्मरण मात्र जीवित छन् । उनकी धर्मपत्नी डम्बरकुमारी, छोराहरू श्यामहरि, रमेशहरि, अरविन्द, दुई छोरी लगायत दर्जन बढी नाति नातिना, पनाति पनातिना रहेका छन् ।
उनका चर्चित प्रकाशित कृतिहरुमा आक्रोशित आमाको विलौना २०६०, सामाजिक दर्पण २०६१, पारिजात समीक्षात्मक काव्य २०६४ र आत्मोद्गार २०६९ रहेका छन् । कृतिगत रूपमा हेर्दा अधिकारीका कविता काव्यका र काव्यात्मक समालोचनाका रचना संग्रह मात्र प्रकाशित भएका छन् ।
छन्द र लयमा कविता काव्य रच्ने विष्णुहरि कविता मार्फत नै समालोचनात्मक अभिव्यक्ति दिन सक्ने प्रतिभा थिए । प्रगतिवादी स्वर उठाउने कवि विष्णुहरि शोषित पीडित वर्गको पक्षमा आवाज उठाइ रहने स्रष्टा पनि हुन् । उनको पछिल्लो कृति आत्मोद्गार लघु कविता संग्रह पनि पूर्ण रूपमा प्रगतिवादी स्वर उठान भएको कृति हो ।
परम्परागत रूढीवादलाई अस्वीकार गर्ने विष्णुहरि पुराना थोत्रा सामाजिक मान्यताले समाज विकासमा अवरोध गर्ने ठहर गर्दछन् । उनका कवितामा सामाजिक शोषण, अत्यचार, अन्याय, वर्गीय विभेद, सामन्ति सत्ता, राष्ट्रघात र जनविरोधी प्रवृत्तिको विरुद्ध आक्रोश पोखिएको हुन्छ । उनको आत्मोद्गार कृतिमा रहेको यस कवितालाई हरौं—
ठूला ठालु उनी नै प्रमुख पद विशे भुक्त भोगीहरू छन्
पुराना राज्य चालक अटुट र विधि विधान धानी राखी रहेछन् ।।
(हाल कै समयमा पनि)
यस कविताले लोकतन्त्र प्रति लक्षित गरेर लोकतन्त्रानुकुल शासन नभएकोप्रति आक्रोस पोखेको छ । नेपाली जनताका लागि नयाँ शासन व्यवस्था भए पनि लोकतन्त्रान्त्रिक शासकले पुरानै शैलीमा शासन लान खोज्दा जनताले परिर्वतनको अनुभुति गर्न नपाएकोप्रति कविले कवितामा आक्रोश पोखेका हुन् ।
कवि अधिकारीर्को आत्मोद्गार’ लघु कविता संग्रहमा तेह्र वटा कविताहरु रहेका छन् । छोटा छरिता आयमका यी कविताहरु नेपाली समाजको वर्ग विश्लेषणमा बढी मात्रामा केन्द्रित देखिन्छन् । कविले आफ्नो जन्म स्थलबाट सुरु गरेको कविता लेखन यस संग्रहमा नेपाल आमासंग गुनासो राख्दै राष्ट्रघात गर्नेहरूप्रति प्रहार गर्दै टुङ्गीएको छ ।
कवि अधिकारीको यस संग्रहको अन्तिम कविर्ता संघर्ष बाकी रहेको कुरा नेपाल आमासंग लेखकको गुनासो’ रहेको छ । यो कविताले नेपालको परिवर्तनको अभियान अपूर्ण रहेको संकेत कविले कवितामा गरेका छन् । कविका शव्दलाई सापटी लिदा—
संसारको कानुनलाई तोडी ।
दशै गजा ठाउँ तकै नराखी ।।
नेपालको दक्षिणी भाग पट्टी ।
पुरै डुवान् पारनु के अचम्म ।।
कवि अधिकारीले यस कविता मार्फत छिमेकी देश चीन र भारतलाई तुलना गर्दै भारतको मिचाह प्रवृत्तिको उछितो काडेका छन् । भरतले नेपालको भूमि मिच्दा पनि लाचार भएर रमिते जिन्दगी बिताउने नेपाली राज्य संचालकहरूप्रति कडा आलोचना गरी चोटिलो व्यङ्ग्य पनि हानिएको छ । यस कविता मार्फत कविले राष्ट्र प्रेम पनि अभिव्यक्त गरेका छन् ।
कवि विष्णुहरिले यस संग्रहमा वर्ग विश्लेषण पनि गर्न खोजेका छन् । कविले गरिब असाह्य प्रति सहानुभूति देखाउदै अन्याय अत्यचारमथि औंला उठाउदै भन्छन्—
धेरै नै उच्च वर्गि धन विहिन गरीव् वालिका वाल धेर ।
झुप्रे प्रासाद हुँदे फरक फरकमा हुर्कने श्रोत धेर ।।
बाटाको नै कुनामा अविरल रहने वालमा दुःख धेर ।
यस्ता खाले अनौठो क ख ग घ गतिका वर्ग भिन्नै भएर ।। (वाल्यवस्था विविधता समाधानको चर्चो)
कवि विष्णुहरि अधिकारीले आफ्ना कविताहरूमा शोषित पीडितका क्रन्दनदेखि प्रकृतिको वर्णनसम्म यस संग्रहका कवितामा अभिव्यक्त गरेका छन् । सामान्य विषयलाई पनि भावगत अभिव्यक्ति बनाएका अधिकारीले चोट र खोट दुवै ओकलेका छन् ।
शस्त्रीय छन्द परम्परा पछ्यएका विष्णुहरिले भाषिक शुद्धतालाई भने विर्सिएका छन् । यस संग्रहमा अधिकारी उत्कृष्ट भावगत कवि हुन नसके पनि मध्यम भाव अभिव्यक्त गर्न सक्ने कविमा भने विष्णुहरि दरिएका छन् । उमेरको आठ दशक पार गर्न लाग्दा पनि नेपाली साहित्यको कविता विधमा सकृय अधिकारी प्रगतिवादमा राष्ट्र—राष्ट्रियता खोज्ने स्वाधीनता रोज्ने स्रष्टा पनि हुन् ।
पाँच दशक देखि साहित्य सिर्जना सक्रिय अधिकारीर्को आत्मोद्गार’ कविता संग्रहले झापाली साहित्य जगतको कविता विधामा एउटा इटा थपेको छ । यो उनको साहित्यप्रतिको अमूल्य देन हो ।
यस्तै अधिकारीको पारिजात समीक्षात्मक काव्य स्रष्टा पारिजातको साहित्यिक विशेषतालाई समीक्षा गरी काव्य बनाइएको कृति हो । यस कृतिले कविताको भाषामा स्रष्टाको समीक्षा गरी मूल्याङ्कन गर्ने प्रयास गरेको छ । यो समालोचनाको क्षेत्रमा नयाँ प्रयास वा प्रयोग पनि हो ।
आक्रोसित आमाको विलौना कृतिले शोषण सामन्तवादको चक्रमा देश परेपछि नेपाली आमाले आक्रोस पोख्नु पर्ने विडम्वनालाई कवितात्मक रूप दिइएको छ । यो कृति राष्ट्रवादी स्वर बोकेर आएको कृति पनि हो ।
विष्णुहरिको साहित्यिक पाटोको अलवा राजनीतिक , सामाजिक पाटो अझ रोचक छ । उनी कम्युनिष्ट विचारधारा बोकेर राजनीतिमा प्रवेश गरे । व्रम्हण समाजका युवा कम्युनिष्ट हुँदा समाजले काड्ने डरले त्यस बेला कालीदास भुजेलको उपनामबाट राजनीतिमा सकृय भए ।
यही समयमा विष्णुहरि नाम सरकारको जसुस पुलिस र कालिदास आतङ्कवादी राजनीतिज्ञ बनेर दोहोरो भूमिका समेत खेलेका अधिकारीले वि सं २०१४ सालदेखि २०१६ सालसम्म भूमिगत समेत हुनु परेको थियो ।
तत्कालीन शासकको विरोधमा विद्रोह गर्दा अपराधिका रूपमा राज्यले कारवाही गर्ने भएपछि भूमिगत भएर विद्रोह गरिरहेका अधिकारीले टार केरावारी गा वि स को उपप्रधानपञ्च भएर २०१६ सालदेखि राजनीतिक नेतृत्व समेत लिन पुगे ।
२०२४ सालदेखि शिक्षणमा सेवा सुरू गरेका अधिकारीले २०५२ सालबाट अनिवार्य अवकाश पमएपछि साहित्यको सेवामा निरन्तर अधिबढिरहेका थिए । तर, शारीरिक अस्वस्थ्यताले अधिकारीको लेखन यात्राले दुई वर्षयता विश्राम लागेको थियो भने माघ ४ गते सदाका लागि विश्राम लिए ।