झापा, १७ चैत । मेचीनगर नगरपालिकाले विदेशबाट फर्किएका व्यक्तिको घरमा रातो क्रस चिन्ह लगाउन थालेको छ । कोरोना भाइरस संक्रमण नफैलियोस भनेर मेचीनगर नगरपालिकाले शनिवारबाट १५ वटै वडामा चैत १ गते यता बिदेशबाट फर्किएका व्यक्तिको घरमा रातो क्रस चिन्ह लगाउन थालेको हो ।
सरकारले कोरोना भाइरस संक्रमण हुन नदिन विदेशबाट आएका व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाएको छ । विदेशबाट आउने अधिकांशको रोजाई होम क्वारेन्टाइन हुने गर्दछ । होम क्वारेन्टाइनमा अलगथलग बस्नु पर्ने भएपनि नियम अनुसार नबसेकाले घरमा क्रस चिन्ह लगाउनु परेको मेचनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताए ।
मेचीनगर प्रमुख आचार्यले कतिपय व्यक्तिलाई क्वारेन्टाइनमा राख्नपनि समस्या भएको बताए । उनीहरु नियम अनुसार नबस्ने गरेको उनले बताए । हामी कैदी हौँ र, कैदी जस्तो व्यवहार ? भन्दछन्, आचार्यले भने, ‘कतिपय व्यक्तिले ढोकामा लात्तलेसम्म हान्ने व्यावहार गरे, कोही झ्यालबाटै हाम फाल्न थाले ।’
क्वारेन्टाइनमा भन्दा होम क्वारेन्टाइनलाई प्रोत्साहित गर्दा पनि छिमेकमा जाने, छिमेकी पनि आउने जस्ता व्यावहार भएपछि घरमा रातो क्रस लगाउनु परेको नगर प्रमुख आचार्यको भनाई छ । घरमा लगाउने क्रसले व्यक्ति र परिवारको गोपनियता भङ्ग भएपनि सचेत गारउन सहयोग पुगेको आचार्यले बताए ।
मेचीनगर नगरपालिकाले लगाएको क्रम चिन्ह व्यक्तिको व्यक्तिगत गोपनीयता भङ्ग भएपनि स्थानीय सरकारले गरेको निर्णयले संक्रमण रोक्न सघाउन पुग्ने झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । तर, कतिपय व्यक्ति र जनप्रतिनिधिले सामाजिक सञ्जालका माध्यमबाट क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्तिको नाम सार्वजनिक गर्ने गरेका छन् । सञ्चारमाध्यममा भन्दा सामाजिक सञ्जालमा होम क्वारेन्टाइन, क्वारेन्टाइन र आइसोलेसनमा बसेका शंकास्पद व्यक्तिका नाम सार्वजनिक हुने गरेको छ ।
सरकारले व्यक्तिको गोपनियता भङ्ग गर्न नहुने निर्देशन दिएको छ । १८ वर्ष उमेर पूरा भएको स्वयम् व्यक्तिले अनुमति दिएको अवस्थाा बाहेक बिरामीको बिवरण सार्वजनिक गर्नु हुँदैन । तर, अहिले बिरामीको नाम, थर, ठेगाना सार्वजनिक हुँदै आएको छ ।
भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले आइतवार होम क्वारेन्टाइनमा बसेका व्यक्तिको तस्वीर र नाम सार्वजनिक गरेकी छन् । यसले व्यक्तिको गाोपनियता भङ्ग हुने कुरामा सचेत भएको पाइदैन । कतिपय अन्य सोसल मिडिया प्रयोगकर्ताले पनि बिवरण सार्वजनिक गर्दै आएका छन् ।