भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न मार्च २५ तारिकबाट लागू हुने गरी भारतभर लकडाउनको घोषणा गरे । मोदीले आकस्मिक रुपमा गरेको घोषणाबाटमानिसले खाद्य तथा औषधि व्यवस्थापन गर्न वा आफ्नो थातथलोमा फर्कने समयनै पाएनन् ।
मोदीले लकडाउन घोषणा गरेको तीन घण्टापछिबाट लागू भएकाले दैनिक किनी खाने वर्गले कुनै जोहो गर्न पाएनन् । न त उनीहरु आफ्नो पुरानो थातथलो फर्कन नै पाए । भारतमा शहरमा भएका लाखौँलाख मजदुर बिचल्लीमा परे । उनीहरुसँग काम र माम दुवै नभएपछि आआफ्नो थातथालोमा फर्कन लाखौँ लाख मजदुर सडकमा निस्किए ।
लकडाउनको दोस्रो दिनबाट राजधानी दिल्लीबाट उत्तरप्रदेश, बिहार, राजस्थान, हरियाणा लगायतका लागि सयौँ किलोमिटरको यात्रा गर्न मजदुर बालबच्चासहित सडकमा निस्किए । तेस्रो र चौथो दिन अझ लाखौँ लाख मजदुर दिल्लीको सडकमा गाउँ फर्कन निस्किए । तब, त्यो यात्रालाई रोक्ने प्रहरीले आँट गर्न सकेन ।
बिना तयारी वा कुनै अवसर नै नदिई आकस्मिक रुपमा गरिएको लकडाउनको परिणाम भएको भन्दै सोसल मिडिया र मूलधारका केही मिडियाले मोदी सरकार र दिल्लीको अरबिन्द केजरीवालसरकारको आलोचना गरे । प्रधानमन्त्री मोदीले त्यो घटनाप्रति रेडियो कार्यक्रमबाट माफी माग्नु पर्यो ।
मिडियामा कोरोना जेहादको फण्डा
दिल्लीका सडकमा लाखौँ लाख मजदुर उत्तरप्रदेश र बिहारको ११ सय किलोमिटरसम्मको पैदल यात्राको सोसल मिडिया, यूट्यूब, केही अनलाइन र टेलिभिजनमा व्यापकता पायो । भारतको मुख्य सञ्चार एजेण्डा मजदुरको पलायन बन्यो । तर, त्यो एजेण्डालाई मूलधारका अधिकांश मिडियाले मोदी सरकारको कमजोरीको रुपमा देखाएनन् । त्यो पीडालाई सामान्य रुपमा प्रस्तुत गरे । कतिपय मिडियाले दिल्ली सरकारको कमजोरीले गर्दा मजदुर सडकमा आएको टिप्पणी गरे ।
निर्वाचनपछि मोदी लाइनमा भएकाले मोदी समर्थक मिडियाले अहिले केजवरीवालको धेरै आलोचना गर्दैनन् । मजदुरको त्यो कहालीलाग्दो पलायनको एजेण्डालाई किनाराकृत गर्न भारतीय मिडियाले पाकिस्तानको फण्डा अघि सारियो । पाकिस्तानमा भारतको भन्दा धेरै मृत्यु भएको, मानिसको मृत्यु भएपनि इमरान खान सरकारले लकडाउन गर्न नसकेको, प्रधानमन्त्री इमरान खान लकडाउनविरोधी रहेको, गरिबलाई बाँडेको खाद्यान्न हिन्दुलाई नदिएको जस्ता अनर्गल प्रचार र आलोचना गरे ।
भारतका सडकमा सयौँ किलोमिटर पैदल यात्रा गर्ने हिन्दु मजदुर भोकै मर्दैछन्, तिनको पीडा नदेख्ने, मजदुर भोकभोकै पलायन भएको विषयमा मोदीलाई प्रश्न नगर्ने भन्दै सोसल मिडियाबाट तीव्र आलोचना भयो । लाखौँ मजदुरले कोरोना संक्रमण गराउने विषयमा भारतीय मिडियाले चिन्ता व्यक्त गरेका छन् तर खासै आलोचना गरेनन् । तर, निजामुद्दिनको विषयलाई राष्ट्रिय मुद्दा बनाएका छन् ।
मूलधारका मिडियाले पाकिस्तानी एजेण्डाले काम नगरेपछि लगत्तै चिनियाँ एजेण्डा सतहमा आयो । मोदी निकटका पत्रिका र टेलिभिजन च्यानलले चीनले संसार खत्तम पार्न कोरोना नामको जैविक हतियार फैलाएको आरोप लगाए । सुपर पावर हुन चीनले षड्यन्त्र गरेको, कोरोना संक्रमणपछि अमेरिकाजस्ता शक्तिशाली देश खोपको अनुसन्धानमा लागे ।
तर, चीन मास्क, पीपीइ, किटबक्स, भेन्टिलेटरको व्यापार गर्न थाल्यो भनेर फण्डा निकाले । चीनले उत्पादन गरेको कारोना भाइरस टेस्ट गर्ने किटले काम नगरेको भन्ने अमेरिका लगायतका केही पश्चिमा देशले गरेको आलोचनालाई भारतीय मिडियाले पनि पछ्याए ।
भारतीय मिडियाले विश्व स्वास्थ्य संगठन (WHO) चीनले गरेका गल्ती लुकाउन लागेको आरोप लगाए । चीनले कोरोना संक्रमण फैलाउन गरेको काममा ध्ज्इ साक्षी बनेको जस्तो तल्लो स्तरको आरोप लगाए ।
मूलधारका अधिकांश मिडियामा हिन्दु मुस्लिम, भारत चीन वा भारत पाकिस्तान नियमित एजेण्डा हुन् । त्यसमा हिन्दु मुस्लिम स्थायी एजेण्डा हो । फण्डाका कुनै एजेण्डा कति टिक्छ भन्ने कुरा सोसल मिडियाले निर्धारण गर्न थालेको छ । मोदी समर्थक मिडियाले उठाएका एजेण्डा सोसल मिडियामा टिकाउ भए, त्यसले निरन्तरता पाउँछ । आलोचना भए एजेण्डा बदलिन्छ ।
पाकिस्तान, चीन, WHO को फण्डाले पनि दिल्लीका सडकबाट पलायन भएका मजदुरको मुद्दा उठ्न नछाडेपछि मंगलबारबाट नयाँ फण्डा सुरु भएको छ । दिल्लीको निजामुद्दीनमा १६ देशका मुस्लिम समुदायको अन्तर्राष्ट्रिय धार्मिक भेला । मार्च १३ देखि २२ तारिखसम्म निजामुद्दीनमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय धार्मिक भेला भएको थियो । त्यहाँ लगभग तीन हजार मुस्लिम समुदायका मानिस सहभागी थिए ।
दिल्ली सरकारले मार्च १६ तारिखमा ५० भन्दा बढी भेला हुन नपाउने भनेर प्रतिबन्ध लगाएपनि निजामुद्दीनको सभा भने निर्बाध रुपले सञ्चालन भएको थियो । जब त्यसमा सहभागी तेलंगनाका एकको मृत्यु भयो, तब मुस्लिमविरुद्ध भारतीय मिडियाले आगो ओकल्न थाले । १९ गतेसम्ममा तेलंगनाका ७ र कस्मीरका १ गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताइउको छ । सहभागी सयौँलाई क्वारेन्टाइनमा राखिएको छ ।
मोदी समर्थक मिडियालाई यो विषय अहिले हटकेक भएको छ । मिडियाका लागि यो घटना हटकेक हुने विषय हुँदै हो । तर, मुस्लिम देशले कोरोना जेहाद सुरु गरेका हुन् । भारतलाई समाप्त पार्ने मुस्लिम देशले षड्यन्त्रको रुपमा तर्क मिडिया र सोसल मिडियामा अफवहा फैलिएको छ । ट्वीटरमा कोरोना जेहाद ट्रेन्ड भएको छ । वाट्सेपमा कोरोना जेहाद ट्रेन्डिङ भएको छ । एउटा धार्मिक संस्थाले गरेको कमजोरीलाई हिन्दु–मुस्लिमको लेपन लगाउनु भारतीय मिडियाले पुरानै रोग दोहोर्याएका छन् ।
भारतका मिडिया हेर्दा लाग्छ, मोदी मुस्लिमले फैलाएको कोरोनाका विरुद्ध युद्ध गर्दैछन् । जनताले यो युद्ध जित्न साथ दिनु पर्छ । पाकिस्तान, चीन र धजय बिरुद्धका एजेण्डा विकाउ नभएपछि अहिले कोरोना जेहाद चल्न थालेको छ । यो एजेण्डामा मोदी समर्थकले मात्र होइन, अन्यले पनि संस्थाको कमजोरीलाई समुदायको अपराधको रुपमा चित्रण गरिएको छ ।
मिडियामा निजामुद्दीनको धार्मिक भेलालाई तालिवानी हमला भनेर टिप्पणी गरेका छन् । मिडिया र बिजेपी नेताको आलोचना र घृणाले निजामुद्दीनको धार्मिक भेला विषयमा सोसल मिडियामा पनि आलोचना भएको छ । सत्ताधारी पार्टीले धार्मिक सहिष्णुताभन्दा घृणा ओकल्ने काममा घिउ थपेको छ ।
मुस्लिम समुदायमा घृणा र आक्रोश व्यक्त गर्ने राम्रो मसला भएको छ । कोरोना जेहाद भारतका मिडियामा केही सातासम्म चल्नेछ । जनसमर्थन पाएको कोरोना जेहाद फण्डाले मोदीका पक्षमा अर्को दर्बिलो एजेण्डा नपाउन्जेल भारतीय मिडियाले विश्रामलिने छाँट छैन ।
सरकारले लकडाउन गर्नुभन्दा अघिनै आयोजना गरिएको कार्यक्रममा बिरामी देखिनु कुनै धार्मिक अपराध थिएन । तर, अहिले भारतमा निजामुद्दीनमा भएको धार्मिक सभा मुस्लिम समुदायप्रति घृणा व्यक्त गर्ने साधन बनेको छ । मिडिया र राजनीतिक पार्टीले कुनै सम्यमता देखाएका छैनन् । आलोचनाबाट बच्न भारतीय राष्ट्रिय कँग्रेसले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।
यद्धपि, एकखाले बुद्धिजीवीले कमजोरी गर्ने पक्षलाई कानुनी कारवाही गर्नुको सट्टा मुस्लिम धर्म र समुदायलाई आरोपित गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै आलोचना गरेका छन् । धार्मिक सभा मुस्लिमको मात्र होइन, तिरुपति मन्दिर जस्ता एक दिन लाखौँको भिड लाग्ने मन्दिर पनि बन्द नभएकाले पनिनिजामुद्दीमको घटनालाई हिन्दु मुस्लिमको रुपमा हेर्न नहुने भन्दै आएका छन् । आयोजकको लापरवाही भएपनि त्यसलाई धार्मिक रङ दिनु नहुने विचार व्यक्त गरेका छन् । कोरोनाले कुनै जात, धर्म, वर्ण वा लिङ्ग भन्दैन ।
तर, निजामुद्दीनको धार्मिक सभा भारतमा मुस्लिम समुदायलाई तह लगाउने नयाँ हतियार बनेको छ । नागरिकता कानुनको विरोधमा साहिनबाग कब्जा गरेर मुस्लिम समुदायले गरेको प्रतिरोधको मिडिया, सरकार र बिजेपीले बदला लिने काम गरेका छन् । सत्तामा बसेर अल्पसंख्यकप्रति अनुदार हुने बिजेपीको चरित्रले भारतमा राजनीतिक हिंसा र घृणालाई मलजल पुगेको छ ।