झापा, २ वैशाख । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको आज २३ औँ दिन हो । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो । तर, झापाका कृषकले उत्पादन गरेको नगदेवाली बिक्री गर्न नपाएर चिन्तित छन् ।
सरकारले घोषणा गर्ने भनेको राहत प्याकेजको अहिलेसम्म अत्तोपत्तो छैन । तर, कृषक भने लाखौँ ऋणको भारी बोक्नु पर्ने चिन्तामा छन् । कृषि उत्पादन बिक्री गर्न नपाएर कृषकले नोक्सानी व्यहोरेका छन् । त्यसमा न संघीय, न प्रदेश त, न स्थानीय सरकारले नै चासो व्यक्त गरेका छन् । गरिबलाई राहत बाँड्ने कार्यक्रम बनाएपनि तीनै तहका सरकारले कृषकका लागि कुनै योजना बनाएका छैनन् ।
झापाको बुद्धशानित गाउँपालिकाका कृषकले उत्पादन गरेको दूध बिक्री नभएपछि मोही बनाएर गाईलाई खुवाउनु परेको छ । बुद्धशान्तिको शान्तिनगर, मेचीनगरको बाहुनडाँगी लायतका क्षेत्रमा उत्पादित तरकारीले बजार पाउन सकेका छैनन् । तरकारी मात्र होइन, भद्रपुरका मनोज कोइरीका अनारस बजारसम्म पूर्याउन सकेनन् । कुहिने भएपछि कषक कोइरीले अनारस कौडीको मूल्यमा बिक्री गरे ।
झापाका मेची, कन्काई, बिरिङ, रतुवा लगायतका नदीका बगरमा व्यावसायिक खरबुजा खेती गरिआएका कृषक मर्कामा परेका छन् । बजार पूर्याउन नपाउँदा मेची नदीको बगरमा लागएको खरबुजाको क्रिी नभएर कुहिने अवस्था भएको छ ।
लकडाउनका कारण गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । गौरीगञ्ज गाउँपालिका–१ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान कैलाश राजवंशीले बताए ।
पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा एक्कासि यातायात र बजार बन्द हुँदा करिब रु १० लाख बराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने, “खरबुजा खेती गर्न बैंकबाट रु चार लाख ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खोला बगरमै कुहिने अवस्था आएको छ ।”
लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस परिवारको समेत बिल्लीबाठ हुने अवस्था आएको उनको दुःखेसो छ । उनले लकडाउन अझै थपिए आफूहरूले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गरे ।
लामो समय वैदेशिक रोजगारीमा विदेशको श्रम गरिआएका राजवंशीले विदेशमा गरिने मेहेनत आफ्नै देशमा त्यत्तिकै मेहेनत गर्दा विदेशको भन्दा राम्रो कमाई हुने आसले आयमूलक मौसमी खेती गरेको बताए ।
दुई वर्षदेखि मौसमी खेती गर्दै आएका उनले लकडाउन अझै थपियो भने बारीका सबै खरबुजा कुहिएर सखाप हुने अवस्था आउने बताए । पाकेर बारी लटरम्म हुँदा अब पनि बेच्न पाउने अवस्था नआए भोकै मर्नुपर्ने अवस्था आउने उनको गुनासो छ ।
राजवंशीजस्तै सोही स्थानका ३० भन्दा बढी युवाले खरबुजा र तरबुजाको व्यावसायिक खेती गर्दै आएका छन् । निकै राम्रो कमाइ हुने आसले घर छाडेर खेती गर्न उनी मोरङको जहदा गाउँपालिका–७ बाट गत कात्तिकमा नै कन्काई बगरमा आएका हुन् । उनीसँगै जहदाका ३० युवा मिलेर ठूलो परिमाणमा खरबुजा खेती हुँदै आएको छ ।
खरबुजा बेच्ने समयमा कोरोना भाइरसका कारण लकडाउन भएपछि एकाएक निरास भएका चौधरीले भने, “खरबुजा बिक्री नहुने सम्भावना बढेपछि मेहनत, परिश्रम र लगानी डुब्ला कि भन्ने त्रास बढेको छ ।”
प्रतिबिघा रु १० हजार भाडामा लिएर खेती गर्दै आएका किसान चौधरीले यो पटक खरबुजाबाट नाफा त परै जाओस् उल्टै रु १० लाख बढी घाटा हुने सम्भावना देखिएको बताए । कन्काई बगरमा ती युवाले रङ्गियाथानबाट हुलाकी सडक दक्षिणसम्म १०० बिघाभन्दा बढी जग्गामा खरबुजा र तरबुजा खेती गरेका छन् । सोही आसपासमा नै स्थानीय प्रकाश राजवंशी, जगन्नाथ राजवंशी, मनोज चौधरीलगायतले समेत खरबुजा र तरबुजा लगाएका छन् ।
उद्यमी प्रकाश राजवंशीका अनुसार भारतको बिहारबाट मेघना, माधुरी, अगस्ता र आस्ता जातका खरबुजाको बीउ खरिद गरेर पुस महिनामा बिरुवा रोपिएको हो । एक केजी बीउको नेपाली मूल्य रु ४० हजार पर्ने र एक केजी बीउबाट ४५ हजार बिरुवा निस्कने गरेको छ । बगरमा मात्र खेती हुने यस फलको बिक्री गर्ने समयमा भने एक्कासि बन्द हुँदा लाखौँ नोक्सानी हुने उनीको पनि गुनासो छ ।
गर्मी महिनामा खान उपयुक्त हुने पानीको मात्रा बढी भएको स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने खरबुजा पाकेपछि अन्य क्षेत्रबाट समेत बारीमा नै व्यापारीले खरिद गरी लैजाने गरेका छन् । यहाँका उत्पादित खरबुजा स्थानीय बजारसहित पूर्वका इटहरी, नारायणगढ, गोलबजार, जनकपुर, काठमाडौँसम्म पैठारी गरिआएको उद्यमी राजवंशी बताउँछन् । मलपानी राम्रो पुगेमा एउटा खरबुजा २० केजीसम्मको हुने र होलसेलमा प्रतिकेजी रु २० सम्ममा बिक्री हँुदै आएको उनको भनाइ छ ।
विदेश त्यागेर स्वदेशमा श्रम गरिआएका मेहनती युवाहरूले गरेको यस्ता आयमूलक कृषिकर्मलाई प्रोत्साहन गर्नुपर्ने गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । यहाँको खरबुजा स्थानीयस्तरमा खपतले मात्र नसकिने भएकाले अन्य क्षेत्रमा निर्यात गर्न सहयोग गर्न खाँचो रहेको उनको भनाइ थियो ।