Logo

कोरोनाले मिडियामा ल्याउने सम्भावित संकट



एक्काइसौँ शताब्दीको आरम्भसँगै विकास भएको अत्याधुनिक सूचना प्रविधि र सोसल मिडियाले परम्परागत मिडिया (पत्रिका, रेडियो र टेलिभिजन)लाई चुनौती दिएको छ । परम्परागत मिडियाको विकल्पमा सोसल मिडिया स्थापित भएको छ । सोसल मिडियाको एक दशक यताको विकासको प्रभावले परम्परागत मिडिया रक्षात्मक मात्र भएको छैन, प्रभाव र अस्तित्वनै धरापमा परेको छ ।

नागरिक परम्परागत मिडियामा मात्र भरपर्ने दिन लगभग अन्त्य भएको छ । सोसल मिडियाको प्रयोग गरी नागरिक आफैँ सूचना संकलन, प्रशोधन र प्रवाहमा सक्रिय छन् । नागरिक पत्रकारिता प्रभावशाली बनेको छ । र, सोसल मिडियाले मूलधारका मिडियालाई नियन्त्रण र निर्देशित गर्न थालेका छन् ।

परम्परागत मिडिया मात्र होइन, न्यु मिडिया भनिएको अनलाइन न्युज पोर्टललाई पनि सोसल मिडियाले चुनौती दिएको छ । सबैभन्दा बढी पत्रिकाको अवस्था नाजुक देखिएको छ । रेडियो र टेलिभिजन प्रभाव र विज्ञापनको बजारका हिसाबले कमजोर भएका छन् ।

सोसल मिडियाले परम्परागत मिडियालाई धक्का दिइरहेका बेला संसारमा कोरोना भाइरसको महामारी सुरु भएको छ । कोरोनाको उपचारजस्तै भएको छ लकडाउन । संसारका वैज्ञानिकले कोरोनाको खोप आविष्कार नगरेसम्म सबैभन्दा अचुक औषधि लकडाउन भएको छ । संसार आज बन्द जस्तै छ । सबै गतिविधि, कारोबार र प्रतिस्पर्धा रोकिएका छन् ।

नेपालमा लकडाउन घोषणा गरिएको छ । लकडाउनले संसारको जनस्वास्थ्य र आर्थिक अवस्था नराम्ररी प्रभावित भएको छ । नेपाल पनि त्यसबाट प्रभावित नहुने कुरै भएन । यस आलेखको उद्देश्य जनस्वास्थ्यको भन्दा मिडियामा कोरोना र आर्थिक मन्दीले के प्रभाव पार्ला भन्ने समीक्षा गर्नु हो ।

कोरोना नियन्त्रणका लागि नेपालमा पनि चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको छ । लकडाउन पछि राजधानीका केही बाहेक देशका प्रायःसबै पत्रिका बन्द भए। लकडाउन घोषणा हुनु अघिनै कयौँ पत्रिका बन्द भएका थिए ।

लकडाउनपछि पत्रिका मात्र होइन, कयौँ रेडियो पनि बन्द भएका छन् । सूचना संकलनमा समस्या नभएको होइन, छ । पत्रिकाको वितरण र कागज खरिदमा समस्या त थियो नै तर त्योभन्दा ठूलो आर्थिक संकट नै हो ।

सूचना प्रविधि र सोसल मिडियाको विकासले परम्परागत मिडियामा गहिरो संकट ल्याएकै थियो । त्यसमा कोरोनामहामारीले विश्वव्यापी आर्थिक मन्दी र जनस्वास्थ्यको कमजोर अवस्थाले संसार नै नयाँ संकटमा छ । कारोबार ठप्प छन् । संसारस्थिर हुँदा अन्य क्षेत्र जस्तै मिडिया पनि प्रभावित छन् । त्यसमा पत्रिका, रेडियो र टेलिभिजनजस्ता परम्परागत मिडिया बढी प्रभावित छन् ।

कोरोना संक्रमणको महामारी लम्बिए र आर्थिक महामन्दीको अवस्थामा मिडिया क्षेत्रमाकस्तो प्रभाव होला ? मिडियाको आउने भविष्य कस्तो होला ? वा मिडियाले अब कुन बाटो लेला ? भन्ने समीक्षा गर्ने प्रयास गरिएको हो ।

आर्थिक मन्दी
कोरोना भाइरसको महामारीले शक्तिशाली भनिएका पुँजीवादी देश र तिनका आर्थिक संरचना कमजोर सावित भएका छन् ।संसारका अब्बल र भूस्वर्ग मानिएका अमेरिका, अस्ट्रेलिया रयुरोपेली देशको जनस्वास्थ्य मात्र होइन, आर्थिक जगपनि धर्मराएको छ ।

फ्रान्स लगायतका कतिपय युरोपेली मुलुकले कोरोना महामारीका कारण दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खराब आर्थिक अवस्था भएको स्वीकार गरिसकेका छन् । नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण लामो समयजाँदा समग्र अर्थतन्त्र प्रभावित भएको स्वीकार गरिसकेका छन् ।

खाडी मुलुक, युरोप, अमेरिका र अस्ट्रेलिया लगायतका देशबाट लाखौँ नेपाली स्वदेश फर्कन तयार भएका छन् । धनी रसम्पन्न भएका देशको आर्थिक जगमा धाँजा पर्नु र श्रमका लागि विदेश गएका नेपाली फर्कनु पर्ने अवस्थाले नेपालको रेमिट्यान्स प्रभावित हुन थालेको छ । यसले नेपालको समग्र अर्थतन्त्र धरासायी हुने अवस्था आउन सक्छ । देशको अर्थतन्त्र कमजोर हुँदा मिडियाको अवस्था सबल हुने अपेक्षा गर्न सकिन्न ।

विज्ञापनमा प्रभाव
मिडिया सञ्चालन गर्ने मुख्य आधार विज्ञापन हो । नेपालका मिडिया आर्थिक रुपले सधैँ कमजोर छन् । विज्ञापनको बजार पनि सानो छ । भूगोल, जनसंख्या, विज्ञापन बजारका आधारमा नेपालमा मिडियाको संख्या धेरै मानिन्छ । त्यसमा पनि गुणभन्दा संख्या बढी हुँदा नेपालको मिडियाको बजार फराकिलो हुन नसकेको हो ।

अर्थतन्त्र कमजोर हुँदा सबै क्षेत्र प्रभावित हुन्छ । त्यसले मिडिया प्रभावित नहुने कुरै भएन । नेपालमा केहीबाहेक अधिकांश मिडियाको आर्थिक संकट सदाबहार समस्या हो । कोरोना महामारीले संसारनै आर्थिक महामन्दीमा फस्यो भने त्यसको क्षति नेपाली मिडयाले पनि बेहोर्नु पर्ने हुन्छ ।

कोरोना नियन्त्रणका लागिसरकारले गरेको लकडाउनले नेपाली मिडियाको विज्ञापन बजार खुम्चिएको छ । लकडाउन घोषणापछि प्रकाशन÷प्रसारण भएका अधिकांश विज्ञापन बन्द भएका छन् । विज्ञापन दाताले विज्ञापन बन्द गर्न सूचित गरेका छन् । कयौँ रेडियो र टेलिभिजनले निःशुल्क विज्ञापन बजाएका छन् ।

सरकार कारोडौँ करोड खर्च गरेर गर्नुपर्ने चेतनामूलक विज्ञापन सोसल मिडियामा सित्तैमा भएको छ । व्यावसायिक मिडियामा प्रवाह हुने करोडौँको विज्ञापन सोसल मिडियाले निःशुल्क प्रवाह गरिरहेको छ ।

कयौँ विज्ञापनदाताले सोसल मिडियामा नागरिक केन्द्रित भएको मौकामा परम्परागत मिडियाको विज्ञापन कटौती गरेर सोसल मिडियामा दिन थालेका छन् । सोसल मिडियामा विज्ञापन दिने आदत बढ्दै गए, अवस्था सामान्य हुँदापनि परम्परागत मिडियाका लागि विज्ञापनको बजार खुम्चिने निश्चत छ ।

विज्ञापनको सानो बजारमा प्रतिस्पर्धा गरिरहेका नेपालका टेलिभिजनले लामो समय विज्ञापन नपाउँदा टेलिभिजन कहिलेसम्म सञ्चालन गर्ने भन्ने प्रश्न उठ्न सक्छ । अदृश्य स्रोत भएका सञ्चालकले चलाउलान् तर विज्ञापनको आम्दानीले चल्ने टेलिभिजनले अब महासंकट व्यहोर्नु पर्ने हुन्छ ।

रेडियोको अवस्था पत्रिकार टेलिभिजनको भन्दा भिन्न छैन । स्थानीय रेडियोमा बज्ने व्यावसायिक विज्ञापन लगभग बन्द भएका छन् । अधिकांश रेडियोले मासिक खर्च धान्न सक्ने अवस्था कमजोर हुँदै गएको छ ।

परम्पारगत मिडियाले एकै पटक दुई वटा कुरा गुमाउँदैछ । एक पाठक, दर्शक र स्रोता, दोस्रो विज्ञापन बजार । यस्तो अवस्थामा नेपालमा सरकारले मिडियाको आर्थिक संकटमोचनको राहत प्याकेज ल्याउने सम्भावना पनि छैन ।

काठमाडौँबाट गाउँ फर्किएका मजदुरलाई गन्तव्यमा पु¥याउन र खानानखुवाउनेसरकारले नेपालको मिडिया जोगाउन ठुलो धनरासी खर्च गर्ने अपेक्षागर्न सकिन्न । मिडिया सरकारको प्राथमिकताको क्षेत्र पनि होइन । बरु टाउको दुखाईको विषय बनेको मिडिया बन्दहुँदा सरकारलाई हाई सन्चो हुन्छ । बरु सरकारले ‘कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडायो’ भन्ठान्ला ।

नयाँ सामाजिक अभ्यास
कोरोना भाइरस संक्रमणले आर्थिक, जनस्वास्थ्य, राजनीतिमा मात्र होइन, सामाजिक सम्बन्धमा पनि परिवर्तन आउन थालेको छ । कोरोना भाइरस मानिसबाट मानिसमा मात्र होइन, कागजबाट पनि सर्न सक्ने विज्ञले बताएका छन् ।

पत्रिकाका लागि विज्ञापनको बजार नराम्ररी खुम्चिएका बेला कागजबाट कोरोना सर्ने भयले मानिसले पत्रिका पढ्न छाडेका छन् । संसारभर धेरै पत्रिका बन्द भएका छन् बन्द नभएकाले आफ्नो संख्या घटाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि कोरोना महामारी तत्काल अन्त्य हुने अवस्था नभएको प्रतिक्रिया दिइरहेको छ । खोप तयार नभएसम्म कोरोना महामारीको अन्त्य हुन नसक्ने डब्लुएचओ लगायतका विज्ञले निष्कर्ष निकालेका छन् ।

खोप तयार भएपनि संसारभर निमिट्यान्न पार्न केही वर्ष पर्खनु पर्ने हुन्छ । अमेरिकाको हार्वड विश्वविद्यालयले कोरोना संक्रमणका कारण सन् २०२४ सम्म मानिसबीच भौतिक दुरी कायम राख्नु पर्ने निष्कर्ष निकालेको छ ।

अन्य कयौँ चिकित्सा क्षेत्रका विज्ञ र संस्थाले कोरोना संक्रमणको अन्त्य तत्काल हुन नसक्ने निष्कर्ष निकालेका छन् । जसका कारण मानिसले एकअर्कामा हात मिलाउने, अंकमाल गर्ने, चुम्बन गर्ने, सँगै बस्ने कार्य मात्र छाडेनन्, मृत्य संस्कार पनि बदलिएको छ ।

यदि दुई चार वर्ष कोरोनाको प्रभाव र त्रास कायम रह्यो भने मानिसको पत्रिका पढ्ने आदत नै बदलिने छ । सूचना प्रविधि र सोसल मिडियाको दबाबमा परेको पत्रिकाले पाठक नपाएर पुनःप्रकाशन गर्ने हिम्मत नगर्न सक्छन् ।

नेपालमा सरकारले दिने लोककल्याणकारी विज्ञापनका लागि प्रकाशित भएका पत्रिका घिटिकघिटिक भएर बाँचेका छन् । लकडाउन वा आर्थिक कारोबार लगातार छ महिना वा त्योभन्दा बढी भएको अवस्थामा बन्द भएका पत्रिका पुनः प्रकाशन सम्भव छ ? पुनः प्रकाशन भए तिनले आफ्नो पुरानो प्रभाव कायम राख्न सक्लान् ?

कोरोना महामारीसँगै सोसल मिडिया झन् प्रभावशाली देखिएको छ । कोरोनाका नियन्त्रणमा र लकडाउनमा एकअर्कालाई जोड्न सोसल मिडिया आधार सावित भएको छ । मानिस भर्चुअल सम्वाद र छलफलमा सक्रिय बनेको छ ।

सोसल मिडिया लकडाउनको लामो समय काट्ने साधन मात्र भएन, ज्ञानबद्र्धक अस्त्र पनि बन्यो । कोरोना नियन्त्रणका लागि व्यक्ति, कलाकार, चिकित्सक लगायतले लेखेर वा भिडियो सन्देश जारी गरेका छन् । लकडाउनमा मासिन होमक्वारेन्टाइनमा भएपनि उसका लागि सोसल मिडिया भरपर्दो साथी भएको छ । सूचना, ज्ञान, विज्ञान सबैको आधार भएको छ ।

होमक्वारेन्टाइनमा भएका व्यक्ति सोसल मिडियामा आफूले प्रवाह गरेका सामग्री भाइरल भएर सेलिब्रेटी पनि भएका छन् । सोसल मिडियाका कारण मानिसको सोच्ने तरिका प्रतिदिन बदलिँदै गएको छ । कोरोना महामारीको लामो कालखण्डबाट बाहिर निस्किएको अवस्थामा मानिस पहिलाको भन्दा भिन्न हुन सक्छ, अहिलेको भन्दा भौतिक दुरी कायम राखेर काम गर्न सक्छ ।

प्रविधिको प्रभाव
अत्याधुनिक सूचना प्रविधिर सोसल मिडियाले थिलथिलो भएको परम्परागत मिडियामध्ये पत्रिका थला परिसकेको छ । रेडियो र टेलिभिजन सोसल मिडियाको भरमा आफ्नो प्रभाव कायम राख्नु पर्ने अवस्थामा छन् । रेडियो र टेलिभिजनलाई सोसल मिडिया प्रयोग गर्ने सुविधा भएपनि त्यसैमा मात्र निर्भर हुन सक्ने अवस्था छैन ।

सरकारले करोडौँ खर्च गरेर तयार गरेको भिडियो कन्फ्रेन्सको संरचना वा टेलिभिजनको स्टुडियो जस्तो नभएपनि विभिन्न व्यक्ति, समूह, संघ संस्थाले ग्रुप र जुम जस्ता एप प्रयोग गरेर भिडियो कन्फ्रन्सको अभ्यास गरे । लकडाउनमा बैठक, भेला र छलफल गर्न नपाएका नेपाली र संघ संस्थाले भिडियो कन्पे्रmन्सको राम्रो अभ्यास गरे ।

टेलिभिजनका पर्दामा देखिएको सामुहिक छलफल र बहस सोसल मिडियामा मजाले उपयोग भएको छ । मानिस बीच भर्चुअल (अभौतिक) सम्वाद अझ घनिभूत भएको छ । लकडाउनमा भएको भर्चुअल अभ्यासमा अझ अभ्यस्त हुँदै जाने सम्भावना छ ।

मानिस जति भर्चुअल मिडिायामा भर पर्छन, त्यतिनै व्यावसायिक मिडियाको प्रभाव कमजोर हुनसक्छ । सोसल मिडियामा भएको भर्चुअल सम्वादले टेलिभिजनले आफ्ना दर्शक गुमाएको छ । त्यसको प्रभाव अहिले नदेखिएपनि कोरोना पछि राम्ररी देखिन सक्छ ।

संसारका स्थापित विज्ञ, बुद्धिजीवी, विचारक र विश्लेषकले संसार अब कोरोना अघि र कोरोना पछि भन्ने अवस्थामा पुग्ने विश्लेषण गर्न थालेका छन् । अर्थात, कोरोनाको अन्त्य पछि संसार सबै कुरामा बदलिनेछ । त्यसबेला संसार बदल्ने साधन भनेको सूचना प्र्रविधि मुख्य हुने अनुमान गर्न थालिएको छ ।

सूचना प्रविधिमा पाँचौँ पुस्ताको इन्टरनेट विकास गर्नेमा चीन सबैभन्दा अघि छ । चीन र अमेरिकाको यही विषयमा व्यापारिक युद्ध चल्दै आएको छ । कोरोना महामारीबाट चीन जोगियो र अमेरिका कमजोर भए संसारको महाशक्ति चीन हुने अनुमान गरिएको छ । त्यसबेला फाइभ जीले झन्तीव्रता पाउँछ । र, चीनले विकास गरेको सूचना प्रविधि संसारमा हावी हुनेछ ।

फाइभ जीको विस्तारमा चीनलाई अमेरिकाले अवरोध गरेपछि दुई देशबीच व्यापारिक युद्ध चलेको छ । तर, कोरोना महामारीले युद्धविराम भएको छ । अहिले अमेरिका संसारकै सबैभन्दा बढी मृत्यु र संक्रमित हुने देशमा छ भने चीनले कोरोना नियन्त्रण गरेको अवस्था छ ।

चीन अहिले संसारलाई स्वास्थ्य सामग्री बिक्री गर्ने दौडमा छ । अरु देश कोरोना नियन्त्रण गर्ने युद्ध मोर्चामा होमिएका छन् । कोरोनासँग संघर्षरत देशले कहिले विजय पाउँछन्, केही भन्न सक्ने अवस्था छैन । अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्रका जानकारले कोरोना युद्धलाई तेस्रो विश्वयुद्धको रुपमा परिभाषित गरेका छन् ।

दोस्रो विश्वयुद्धबाट अमेरिका सुपरपावर भएजस्तै कोरोना युद्धबाट चीन महाशक्तिको रुपमा उदय हुने आँकलन गरिँदैछ । यदि चीन सुपर पावर भएमा उसले विकास गरेको इन्टरनेटको पाँचौँ पुस्ता (फाइभ जी)ले संसारमा झन छिटो प्रवेश पाउँछ । यसका केही कारण छन् ।

पहिलोः कोरोनाले थिलथिलो भएका देशलाई नयाँ प्रगतिका लागि चीनले फाइभ जीको व्यापार गर्न सक्छ । चीनले अमेरिका लगायतका आफूविरुद्धका देश कमजोर भएका समयमा फाइभ जीको व्यापार बढाउनु । जसले संसारमा चाँडो फाइभ जी भित्रने सम्भावना हुन्छ ।

दोस्रोः कोरोनाले अझै केही महिना निरन्तरता पायो भने संसारको आर्थिक अवस्था नाजुक मात्र हुँदैन, कयौँ देश टाँट पल्टन्छन् भन्ने अनुमान गरिँदैछ । त्यतिमात्र होइन, सामाजिक रुपमा मानिस मानिस बीचको सम्बन्धमै संकट आउनेछ । मानिस बीचको सम्बन्धमै परिवर्तन आउने संकेत देखिएको छ ।

मानिस एकअर्कामा नजिक हुने कार्य अत्यन्त न्युन हुनेछ । मानिस मानिस बचिको निकटता र सम्बन्ध सूचना प्रविधिले मात्र गर्ने अवस्था आउँछ । यस्तो अवस्थामा आजको मूलधारका मिडिया पनि यथा अवस्थामा रहन सक्ने हुँदैनन् । त्यसमा परम्परागत मिडिया झन् बढी चापमा पर्नेछन् ।

हाम्रो अहिलेको मिडियाको स्वरुप बदलिन सक्छ । यति धेरै संख्यामा नियन्त्रण हुन सक्छ । पत्रकारको संख्या सानो हुन सक्छ । मानिसले पत्रकार बिनाको समाजको कल्पना र अभ्यास गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्