नेकपाको आन्तरिक शक्ति संघर्षले नयाँ मोड लिएको छ । तत्कालीन नेकपा एमालेमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल समूहबीच अन्तरसंघर्ष थियो । पार्टी एकीकरणपछि नेकपामा त्रिकोणात्मक अन्तरसंघर्ष भएको हो । पार्टी एकता, सांगठनिक संरचना, नेतृत्व छनोटमा समेत तीन समूहको प्रत्यक्ष प्रभाव देखिएको छ ।
पार्टी एकतासँगै प्रचण्डले नेपालसँग समदुरी र ओलीलाई सघाउने रणनीति लिए । पार्टी एकता अघिको आधा–आधा कार्यकाल पनि ओलीसँगको जनमत, प्रभाव र दबाबले प्रचण्ड त्याग्न बाध्य भए । प्रधानमन्त्री दाबी गर्दा अलोकप्रिय हुइने भएपछि कार्यकारी अध्यक्ष हुने लोभमा प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको आधा कार्यकाल समपर्ण गरेका हुन् ।
प्रचण्डलाई धोका
ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष त भने तर झन् निरीह जस्ता भए । ओलीले माधव नेपाललाई कर्नरमा पारेका थिए नै प्रचण्डलाई समेत निरीह बनाए । पार्टी एकता गर्दाको भन्दा भिन्न पुरानो शैलीबाट ओली सञ्चालित हुन थाले । ओलीले ओके नगरेसम्म प्रचण्ड पार्टी बैठकपनि बोलाउन नसक्ने भए । प्रचण्डलाई देखाइदिने रणनीति ओलीले लिए । प्रचण्ड एक प्रकारले आत्मग्लानी र हिनताबोध महसुग गर्न थाले ।
पार्टी एकता भएपनि पार्टी कामले गति लिन सकेन । न पार्टीले गति लियो, न सरकारसँग नागरिक सन्तुष्ट हुन सके । ओलीले सरकार राम्ररी चलाउने कुरामा एकपछि अर्को गरी विवादमा फस्दै गए । ओम्नी काण्ड, यति समूहको प्रकरण, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्ड, सचिवालयबाट हुने दादागिरीले प्रचण्ड पनि आजित भइसकेका थिए ।
प्रधानमन्त्री ओली पार्टीमा सरकारका कामको समीक्षा गर्न चाहँदैनथे । र, पार्टी नेताले गर्ने आलोचनालाई सरकार विरोधी चलखेलका रुपमा बुझ्दथे । प्रचण्ड र ओलीबीच पार्टी र सरकारका कामका सम्बन्धमा जे सल्लाह हुन्थ्यो, त्योभन्दा भिन्न ढङ्गले काम हुन्थ्यो ।
प्रचण्ड र ओलीबीचको छलफल सकारात्मक भएपनि परिणाम नकारात्मक हुने कुराले आजित भएका थिए । प्रचण्डले ओलीलाई साथदिँदा नेपाल समूह कमजोर भएको थियो, त्यसपछि भने प्रचण्डमाथि नै ओलीले दबाब बनाउन थालेका थिए ।
नेपाल, खनाल र गौतमको अपमान
पार्टी एकतापछि नेपाल र खनालको वरिष्ठता पालोगरी–गरी खोसिएको थियो । पहिले झलनाथ खनालको, पछि नेपालको वरियता खोस्ने कुराले दुवै जनाले अपमान महसुस गरेका थिए । स्वास्थ्यलाभको कामना गर्दा अस्वीकार गरेर ओलीले आफ्नो अपमान गरेको नेताले महसुस गरेका थिए ।
ओली निकटका व्यक्तिको छुद्र आलोचना र टिप्पणीले प्रचण्ड मात्र होइन, नेपालपनि आजित भएका थिए । दुवै नेताले त्यो अपमान सहेका थिए । ओलीले त्यस्तो आलोचना रोक्न कुनै प्रयास नगरेको नेताहरुको बुझाई छ ।
संसदीय दलको नेता बनाए पार्टी अध्यक्ष बनाउँछु भनेर कसम खाएका ओलीले वामदेव गौतमलाई थाङ्नामा सुताएको बिर्सेका थिएनन् । त्यसमा पार्टीले राष्ट्रिय सभा सदस्य बनाउने भनेको निर्णय कार्यान्वयन हुन नदिएको अपमान गौतमले महसुस गरेका थिए । पार्टी पहिलो तहका मात्र होइन, दोस्रो तहका नेताले पनि ओली र उनको समूहबाट पटक–पटक अपमान बेहोर्नु परेको थियो ।
ओलीविरुद्ध मोर्चाबन्दी
पार्टीका आन्तरिक जीवनमा अपमान भएपनि प्रचण्ड, नेपाल, खनाल, गौतम लगायतका नेताले सरकारको खुल्ला आलोचना गरेका थिएनन् । तर, पार्टी र सरकारमा ओलीको दादागिरीले नेकपामा भुसकोे आगो सल्किएको थियो ।
ओली सरकारका एकपछि अर्को निर्णय विवादित हुनु, सञ्चारमन्त्री गोकुल बाँस्कोटा भ्रष्टाचारमा मुछिनु, स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल कमिशनको विवादमा पर्नु, प्रधानमन्त्रीको सचिवालयले गरेका विवादित काम, मन्त्रीका दम्भ, अहंकार र छुद्र वचन, त्यसमा प्रधानमन्त्री ओलीको साथले सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भएको थियो । तर, ओलीले मिडियामा भएको विरोध आफ्नो कमजोरीले भन्दा प्रचण्ड र नेपालले मिडिया प्रयोग गरेको निष्कर्ष निकाले ।
अध्यादेश काण्डमा आइपुग्दा पाटीभित्र र बाहिर विस्फोट भएको हो । लामो समयदेखिको ओलीको पेलान, अटेरी प्रवृत्तिले ओली आफैँ खाल्डामा परेका हुन् । सबै काण्डका दोषी प्रचण्ड वा नेपाल होइनन्, ओली र उनको समूह स्वयम् हो ।
काण्डै काण्डले पार्टीको पोजिसननै धरापमा पर्ने भएपछि प्रचण्डमा दबाब परेको हो । पूर्व माओवादी समूहले पार्टीमा यसरी टुलटुली हेरेर बस्न नहुने भनेर प्रचण्डमाथि दबाब दिइरहेका थिए । त्यही बेला प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि सोसल मिडिया, मिडिया र पार्टीभित्र विष्फोट भएको हो ।
ओलीको लामो समयदेखिपेलान खेप्तै आएको नेपाल समूह आजित भएको थियो । पार्टी र सरकारमा सिनियरलाई पाखा लागाउने र गुटका नाममा जुनियरको दादागिरी सहेकै थिए । तर, सरकार गरेका काण्डैकाण्डको अपजसको भारी सिंगो पार्टीलेबोक्नु पर्ने भएपछि प्रचण्ड, नेपाल, खनाल र गौतम एक ठाउँमा उभिएका हुन् ।
मदन भण्डारीको अवसानपछि शक्ति आर्जन गरेका ओलीले नेतृत्वमा रहेका नेपाललाई लामो समय दबाब र प्रभाव पारे । वामदेव गौतमको समूह एमालेमा फर्किएपछि ओली र नेपालबीचको दुरी बढेको हो । झलनाथ खनालको सानो समूह छ, त्यो सदा नेपालको पक्षमा उभिने गरेको छ ।
वामदेवको पनि सानो समूह छ, त्यो पनि ओलीलाईसंसदीय दलको नेता बनाउनेबाहेक लगभग नेपालनिकट छन् ।प्रचण्ड, नेपाल, खनाल र गौतमको हितचित्त पनि मिल्लने गरेको छ ।
ओलीको विकल्पमा नेपाल
अध्यादेश काण्डसम्म आइपुग्दा नेकपाको तीनमध्ये प्रचण्ड र नेपाल समूह एक ठाउँमा उभिएका छन् । खनाल र गौतमको उपसमूह प्रचण्ड र नेपालसँग मिसिएको छ । प्रचण्ड अर्थात् पूर्वमाओवादी समूह ओली र नेपाल समूहलाई सन्तुलनमा राख्नसक्ने अवस्थामा थियो । तर, अब भने ओली समूह बाहेक सबै एक ठाउँमा उभिँदा ओली समूह र सरकार धरापमा परेको हो । त्यसमा पनि नेपालले प्रचण्डको बलियोसाथ पाउँदा उनी ओलीको विकल्पमा उभिएका छन् ।
ओलीले कुनै रणनीति, तिकडम वा सहमतिबाट संकट टार्न सक्छन् । तर, उनी अब पहिलाका जस्ता पेल्न सक्ने बलवान अध्यक्ष वा प्रधानमन्त्री हुन सक्तैनन् । पार्टीका हरेक बैठकमा उनी, उनका सरकार र मन्त्रीले गरेका काममाथि प्रश्न उठ्नेछ, आलोचना हुनेछ, जुन विषय बाहिर सहजै आउँछ र ओलीको आलोचनाले निरन्तरता पाउँछ ।
पार्टीमा निरन्तर आलोचन भएपछि उनको सरकारले प्रभावकारी काम गर्न सक्षम हुँदैन । यसै त ओली सरकारले केही गर्ला भन्ने अपेक्षा अब सकिएको छ, त्यसमा पार्टीको बलियो समर्थन भएको सरकारले गर्ला भन्ने अपेक्षागर्न सकिन्न ।
पार्टीमा ओली कमजोर हुँदा भने प्रचण्डभन्दा नेपाल समूह बलियो भएको छ ।
ओलीको विकल्प प्रचण्ड ठानिएकोमा अहिले घटनाक्रमले माधव नेपाललाई बनाउँदै लगेको छ । प्रचण्ड दोस्रो नभएर तेस्रो पोजिसनमा पुगेका छन् । सरकार र पार्टीमा ओली भएपनि अब उनीमाथि प्रचण्ड होइन, नेपाल हाबी हुनेछन् । नेकपामा नयाँ शक्तिसन्तुलन स्थापित हुने अवस्था उत्पन्न भएको छ ।