काठमाडौँ, १६ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा कृषिलाई छुट्याइएको बजेट सुनेर कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल निराश थिए । मन्त्री भुसालको अनुहारमा कुनै चमक थिएन । बजेट भाषणपछि कृषि विज्ञ र आफ्ना सहयोगीसँग उनले सरकारले कृषि क्रान्तिको अवसर गुमाएको प्रतिक्रिया दिए ।
मन्त्री भुसालले अघि सारेको ‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने कार्यक्रम नै कटौतीमा परेपछि उनी निराश भएका हुन् । उनले पालिकालाई कृषिको डाइनामिक सेलको रुपमा विकास गर्ने रणनीति बनाएका थिए । जसमा कृषि बजार, भण्डारण, कृषि सामग्री र आधारभूत आवश्यकता सम्बोधन गर्ने कार्यक्रम बनाइएको थियो । मूलभूत रुपमा कृषिको यो कार्यक्रम काटिएको छ ।
यसैगरी कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने नीति बनाएका थिए । अहिले तीन प्रतिशतसम्ममा कृषकले ऋण पाउँछन् । तर, यस्तो ऋण साना कृषकले भन्दा ठूला फार्मले पाउने गरेकाले सहुलियत ऋण वास्तविक किसानले पाउने कार्यक्रम पनि सम्बोधन हुन सकेको छैन ।
कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारबाट फर्किएका लागि रोजगारमुखी कार्यक्रम बनाएका थिए । सरकारले यस अघि पन वैदेशिक राजगारबाट फर्किएका लागि कार्यक्रम बनाए पनि त्यो प्रभावकारी हुन सकेको थिएन । मन्त्री भुसालको त्यसलाई प्रभावकारी बनाउने रणनीति बनउनका लागि नयाँ बजेटको प्रस्ताव थियो ।
कोरोना महामारीमा कृषि देशको उत्पादन र राजगारका लागि एक मात्र विकल्प ठानिएको थियो । कृषिका विज्ञ, राजनीतिज्ञ र अर्थशास्त्रीले कृषि नै एक मात्र विकल्प भएकाले कृषिमा क्रािन्तकारी परिवर्तनको आवश्यक्ता भएको सुझाव दिएका थिए ।
अर्थमन्त्री खतिवडाले बजेटमा बिगतमा भन्दा कृषिमा बढी भएपनि कृषिलाई समग्र सम्बोधन गर्न नसकेको आरोप लागेको छ । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७७/०७८का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमा चालु आर्थिक वर्षभन्दा ६ अर्ब ६० करोड बढी छ ।
चालु आर्थिक वर्षमा ३४ अर्ब ८० करोड रहेकोमा यस वर्ष ४१ अर्ब ४० करोड विनियोजन भएको छ । यद्धपि मन्त्री भुसालले प्रस्ताव गरेको महत्वपूर्ण कार्यक्रम स्वीकृत हुन सकेको छैन ।
ओलीका आलोचक मन्त्री भुसाल
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीका आलोचकको रुपमा छवि बनाएका छन् मन्त्री भुसालले । तत्कालिन नेकपा एमाले हुँदा पनि उनी पार्टी नेतृत्वको गैरमाक्र्सवादी कार्यशैली र पार्टीका गलत निर्णयको खुलेर आलोचना गर्दथे । पार्टी एकता भएपनि भुसालको यो शैली निरन्तर थियो । २०७६ साल मंसिर ५ गते कृषि तथा पशुपंक्षी मन्त्रीमा नियुक्तिले धेरैलाई आश्चर्यमा पा¥यो ।
भुसाल मन्त्री हुँदा अधिकांशको दुई निष्कर्ष थियो । पहिलो ः आलोचकको घेरा साँघुरो बनाउन प्रधानमन्त्री ओलीले भुसाललाई मन्त्री बनाएका हुन् । दोस्रोः भुसाल मन्त्री भएपछि कृषिमा केही गर्न सक्तैनन्, काम गर्न नसकेपछि उनको लोकप्रियता सकिन्छ, प्रधानमन्त्री ओलीले काम नलाग्ने मन्त्रालय दिएर भुसाललाई सक्ने योजना बनाएका हुन् भन्ने बुझाई थियो । प्रधानमन्त्री ओलीले बजेट नदिएर भुसाललाई सक्छन् भन्ने निकटका व्यक्तिले प्रतिक्रिया दिएका थिए ।
माक्र्सवादी अध्ययेता भुसाललाई कृषि मन्त्रीको प्रस्ताव आउँदा कतिपय शुभचिन्तकले कृषिमा जान नहुने सुझाव समेत दिएका थिए । तर, भुसालको भने आफ्नै बुझाई थियो । निकटका सहयोगीसँग भुसालले चुनौतीसँग जुझ्नु पर्ने प्रतिक्रिया दिएका थिए । कृषिमा केही गरेर देखाउने उपयुक्त अवसर हो भनेका थिए ।
देशको विकास गर्ने हो भने कृषिमा परिवर्तन नगरी सम्भव नहुने उनको बुझाई र निष्कर्ष थियो । उनले कृषिमा रोजगार र उत्पादनमा बृद्धि सम्भव छ भन्ने बुझेका थिए । कृषिको आधुनिकीकरण, बजारीकरण र विचौलियाको समाप्ति अनिवार्य छ भन्ने उनको निष्कर्ष थियो । उनले मन्त्री पदको सपथग्रहण गरेपछि निकटस्थसँग केही गर्न सकिन भने पनि दलालसँग नबिक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेकपा स्थायी समिति सदस्यसमेत रहेका भुसाल मिडियामैत्री नेताका रुपमा स्थापित छन् । राष्ट्रिय होस् वा पार्टीका मुद्दा हुन्, उनी मिडिया आइरहने नेता हुन् । तर, मन्त्री भएको लगभग चार महिना उनी भूमिगत जस्तै भए । कुनै सार्वजनिक कार्यक्रममा गएनन् । भेटघाट पनि अरु मन्त्रीको जस्तो गरेनन् । मन्त्रालयका कर्मचारी र विज्ञसँग बैठक र छलफलमा निरन्तर लागे ।
कृषि मन्त्रीको अध्ययन, योजना, छलफल देखेर मन्त्रालयका विज्ञपनि दङ्ग थिए । कृषिले बल्ल गतिलो मन्त्री पायो भन्ने प्रतिक्रिया दिन थालेका थिए । कृषिका समस्याको पहिचान र गर्न सकिने रणनीति बनाए । पुँजीवादको जालोमा बेरिएको कृषिलाई समाजवादी बाटोमा हिँडाउने गोरेटो खोल्ने रणनीति बनाए । र, उनले आफ्ना योजना र रणनीति सार्वजनिक गरे ।
देलान् त राजीनामा भुसालले ?
मन्त्री भुसालले कोरोना संक्रमणभन्दा अघि कृषि कार्यक्रम र राणनीति सार्वजनिक गरेका थिए । उनले कृषि रणनीति सार्वजनिक गर्दा निकटस्तले प्रश्न गरेका थिए, तपाईको यो कार्यक्रम लागू गर्न प्रधानमन्त्रीले बजेट देलान् त ? त्यस बेला भुसालको जवाफ थियो, कृषि कार्यक्रम र मेरो राजीनामा प्रधानमन्त्रीलाई एकैसाथ दिन्छु, छनोट गर्ने अवसर उहाँको हो ।
बजेट भाषणले मन्त्री भुसालको कार्यक्रम र योजनालाई पूर्ण सम्बोधन गरेको छैन । बजेट भाषण लगत्तै मन्त्री भुषालले निकटस्तसँग गरेको छलफलमा बजेटमा २५ प्रतिशित योजना कटौती भएको र अरु कार्यक्रमको पूर्ण विवरण हेरेर धारणा बनाउनु उपयुक्त हुने बताएका छन् ।
मन्त्री भुसालले अघि सारेको ‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने कार्यक्रम नै कटौतीमा परेपछि उनी निराश भएका हुन् । उनले पालिकालाई कृषिको डाइनामिक सेलको रुपमा विकास गर्ने रणनीति बनाएका थिए । जसमा कृषि बजार, भण्डारण, कृषि सामग्री र आधारभूत आवश्यकता सम्बोधन गर्ने कार्यक्रम बनाइएको थियो । मूलभूत रुपमा कृषिको यो कार्यक्रम काटिएको छ ।