Logo
  माघ १७, २०७९ मंगलबार

के हो लेनिनवादी संगठनात्कम सिद्धान्त ?



नेकपामा प्रचण्ड-माधव नेपाल र पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहबीच अन्तरसंघर्ष र ध्रुबीकरण तीव्र रुपमा अघि बढेको छ । प्रचण्ड-माधव समूहले ओली र उनको समूह पार्टी पद्धती र सांगठानिक सिद्धान्त बिपरित चलेको आरोप लगाएका छन् । प्रचण्डले पार्टीमा औपचारिक रुपमा आरोप पत्र दर्ता गरेपछि नेकपाको अन्तरसंघर्ष पेचिलो बनेको हो ।

सन् १९१७ मा लेनिनको नेतृत्वमा सोभियत रुसमा बोल्सिेभिक क्रान्ति सम्पन्न भएसँगै लेनिनवादको विकास भएको हो । संसारका कयौँ कम्युनिष्ट पार्टीले लेनिनवाद स्वीकार नगरेपनि लेनिनवादी संगठनात्कम सिद्धिान्तलाई स्वीकार गरेका छन् । कम्युनिष्ट पार्टीले मात्र होइन, पुँजिवादी र गैरकम्युनिष्ट पार्टीले पनि लेनिनको संगठनात्मक सिद्धान्तलाई स्वीकाररेका छन् वा त्यसै सिद्धान्तको पेरिफेरीमा पार्टी संचालन विधि अपनाएका छन् । संसारका राजनीतिक दलमात्र होइन, संघ संस्थाले पनि लेनिनको संगठनात्मक सिद्धान्त स्वीकार गरेका छन् ।

नेकपाको अन्तरसंघर्ष जतिजति चर्कदैँ जान्छ, त्यति त्यति लेनिनवादी संगठनात्मक सिद्धान्तमाथिको बहसपनि हुने गरेको छ । कम्युनिष्ट पार्टी संचालनको विधि के हो भन्ने बुझ्न लेनिनवादी संगठानात्मक सिद्धान्त नबुझि हुँदैछ । अतः लेनिनवादी संगठनात्मक सिद्धान्त के हो ? भन्ने बुझ्नलाई महेन्द्र भट्टराई फेसबुक बालमा पोस्ट भएको यो टिप्पणी सान्दर्भिक भएकाले प्रकाशन गरिएको छ ।

कम्युनिष्ट पार्टी संचालनको नीति तथा सिद्धान्तको महान नेता भ्लादिमिर लेनिनले प्रतिपादन गरेका थिए । आजसम्म त्यसै सिद्धान्तको आधारमा हरेक कम्युनिष्ट पार्टीहरु सञ्चालित, परिचालित हुने गरेका छन् । त्यही संगठनात्मक सिद्धान्त वा विधिलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिन्छ ।

त्यतिबेला लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्तको आजसम्म पनि त्यतिकै महत्व रहेको छ । यो सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यतामा जोड दिएको छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयताका विषयहरुको व्याख्या सहित कडाइका साथ कार्यान्वयनमा जोड दिन्छ । यसलाई कडा अनुशासनको रुपमा समेत हेर्ने गरिएको पाइन्छ । अतः लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताका अनुसार निम्न कुराहरु रहेका छन् ।

१ व्यक्ति संगठनको अधिनस्थ हुन्छ ।
२ अल्पमत बहुमतको अधिनस्थ हुन्छ ।
३ तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ
४ पार्टीका सम्पूणृ कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन् ।
५ केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ ।
६ महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ ।

लेनिनले संगठनात्मक सिद्धान्तका रुपमा कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरु तोकेका छन् । कडा तथा फलामे अनुशासनमा रहने भएकाले लेनिनको पार्टीलाई बोल्सेभिक पार्टी भनिन्थ्यो ।

कम्युनिष्ट पार्टीको सदस्यका लागि न्युनतम् शर्तहरु यस्ता रहेका छन् । यि शर्तहरुको कार्यान्वयको प्रश्न अनुशासनसँग समेत जोडिन्छ ।

१ पार्टीको नीति तथा कार्यक्रम मान्ने ।
२ पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने ।
३ पार्टीलाई नियमित लेबि तिर्ने ।

लेनिनले प्रतिपादन गरेका संगठनात्मक सिद्धान्तका तीन आधारहरुः

जनवादी केन्द्रीयताः यो लेनिनवादी संगठनात्मक सिद्धान्तको पहिलो सर्त हो । यसमा मुख्य दुई वटा कुराहरु रहेका छन्, जनवाद र केन्द्रीयता । यस सिद्धान्तले जनवादविना केन्द्रीयता निरंकुश हुने र केन्द्रीयताबिना जनवाद अराजकतावादमा जाने विषयमा जोड दिन्छ । यसरी कम्युनिष्ट पार्टीको संगठनमा यि दुबै सिद्धान्तको समान महत्व हुन्छ भन्नेमा यस सिद्धान्तले व्याख्या गर्दछ ।

केन्द्रीयताबिना पार्टी संगठनहरु ठिक रुपमा परिचालित हुँदैनन्, किनकी केन्द्रीयता भनेको कम्युनिष्ट पार्टीको अनुशासन पनि हो । त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ, भने केन्द्रीयताको प्रश्नमा जनवादको प्रयोग जरुरी हुन्छ । त्यसैले कम्युनिष्ट पार्टीमा व्यक्ति सधैं संगठनको मातहतमा रहन्छ भने बहुमतको निर्णय विनाशर्त अल्पमत भएपनि लागु गरिन्छ ।

२. आत्मालोचना र आलोचनाको सिद्धान्तः कम्युनिष्ट पार्टीमा पार्टी सदस्यहरुले आफ्ना कमजोरी र समस्याहरुको आफैले समिक्षा गरेर बैठकमा बताउँने विधिलाई आत्मालोचनाको सिद्धान्त भनिन्छ । आफ्ना कमजोरीहरु बताएपछि फेरी त्यस्तो कमजोरी नदोहोर्याउने र असल कम्युनिष्ट सदस्यको रुपमा अघि बढ्ने प्रतिवद्धता गर्नु यो मान्यताले जोड दिन्छ ।

त्यसेगरी पार्टी संगठन र नेता, कार्यकर्ताहरुको कमजोरी आलोचनाको विधिबाट सुधार्न सकिन्छ भन्ने मान्नेतामा यसले जोड दिन्छ । आलोचना गर्दा डाहा र प्रतिशोधपूर्ण रुपमा होईन कमजोरी सुधार्नका लागि उत्प्रेरणा बढाउनमा ध्यान दिनुपर्छ ।

३. असल नेता चुन्ने विधिः हरेक कम्युनिष्ट पार्टीका सदस्यहरुले संगठनत्मक सिद्धान्तको पालना गर्नुपर्छ । त्यसमा असल नेता छान्ने विधि समेत पर्दछ । असल, मर्यादीत र सभ्य समाज निर्माण गर्नका लागि पार्टी संगठनमा असल सोच र आचरण भएका नेताहरु चयन हुनुपर्छ भन्ने यस सिद्धान्तको मूख्य जोड हो ।

पार्टी संगठनमा नेतृत्व चयन गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।
१ इमान्दारीता
२ सक्रियता वा निरन्तरता
३ समर्पित भावना
४ रचनात्मक क्षमता वा कार्य दक्षता

तसर्थ, लेनिनवादी संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता, आलोचना र आत्मालोचना, नेतृत्व चयनको विधिको सन्तुलनकारी भूमिका रहन्छ भन्ने कुरा बुझ्नु पर्दछ । लेनिनवादी संगठनात्मक सिद्धान्त बिना कुनैपनि कम्युनिष्ट पार्टीलाई प्रजातान्त्रिक र अनुशासित बनाउन सक्दैन भन्नेमा यसले जोड दिन्छ ।

प्रतिक्रिया दिनुहोस्