Logo
  माघ १५, २०७९ आईतबार

बोक्सीको बातले कवि बनायो !



बिर्तामोड, २० फागुन । बिहानै उठेर हतार–हतार नित्यकर्म सकेर भातभान्सामा लाग्नु मिनाको दैनिकी नै हो । बिर्तामोड नगरपालिका–४ कि मिना अधिकारी तिम्सिना पेशाले गृहिणी हुन् । गृहिणी मात्र उनको परिचय होईन, उनी एक कृषक पनि हुन् । पछिल्लो एक दशक यता उनले बनाएको अर्को परिचय कवि । मान्छे उमेर र परिवेश अनुसार फरक–फरक परिचय बनाउँदै जाने मिनाको बुझाई छ ।

जीवनका आरोह अवरोहहरु सँगै अगाडी बड्ने क्रममा मिनाका श्रीमान केदारप्रसाद तिम्सिनासँगै तरकारी खेति गर्दै आएकी छिन् । उनका दुई छोरा पुकार र क्षितिज छन् । एउटी छोरी पुजा । छोरीलाई बिवाह गरेर दिए पछि चार जनाको परिवार कृषि पेशाले नै मजाले चलिरहेको उनले बताइन् ।

सिचाइ निर्देशनालय तथा हुलाक निर्देशनालय कैलाली जिल्लामा टाइपिष्टको रुपमा लामो समय उनले काम गरिसकेकी छिन् । ‘इख बिनाको मान्छे र बिख बिनाको सर्प काम लाग्दैन’ भने जस्तै मिना इख कै कारण आज साहित्य क्षेत्रमा सक्रिय भएको बताउँछिन् ।

मिनाले न कहिल्यै साहित्यकार हुने सोचेकी थिइन्, न त कविता लेखौँला भन्ने सोचेकी थिइन् । तर, उनलाई एउटा नकारात्मक घटनाले कवि बनायो । त्यो घट्ना सम्झदै अत्यास र अपत्यारिलो लाग्ने बताउँछिन् । आफुले मानेकी छिमेकीले उनलाई बोक्सीको वात लगाउने घट्ना उनी सोच्न पनि सक्दिनन् । २०६३ सालमा उनलाई छिमेकीले बोक्सीको आरोप लगाइन् । ‘म छाँगाबट झरे जस्तै भएँ, म माथि पहाड नै खसेजस्तै भयो ।’ उनले बिगतका दिन सम्झिदै भनिन्, ‘छिमेकी दिदीले कर्नि (राजमिस्त्रीले काममा प्रयोग गर्ने सामान) माग्नु भएको थियो र दिएकी थिए । त्यो चलाए पछि बिरामी पर्नुभयो रे ! अनि मलाई बोक्सीको आरोप लगाइयो ।’

मिनाले भनिन्, ‘दुई तीन दिन पछि श्रीमान् र म दुवैजना भएको बेला उहाँ आएर तपाईको श्रीमती त बोक्सी रैछिन् ! मैले कर्नी लगेर चलाको बिरामी परे ! भन्दै सुनाउनुभयो ।’ ‘श्रीमान्ले यसले कर्नी दिनु नै गल्ति गरी, तर यो बोक्सी चाहीँ होइन भनेर सम्झाउनु भयो ।’

‘मलाई प्रत्येक रात निन्द्रा पर्न छोड्यो, म पुरै डिप्रेसनमा जान थाले । मध्यरातमा उठेर आफुलाई भएको पीडा कपिमा कोर्न थालेँ । राती उठेर लेख्दा लेख्दै कविता लेख्न थाले ।’ उनले भनीन्, ‘अरुले जस्तो सानैबाट कहिल्यै लेखिँन मैले, जब आफुलाई पीडा भयो अनि मात्र मैले लेख्न थालेकी हूँ ।’

मैले आफुलाई पीडा भएपछि २०६४ सालमा पहिलो पटक कविता लेखेको सम्झँदै उनले भनीन्, ‘कविता लेखेर पहिलो पल्ट कंचनजञ्घा एफएममा गएर चन्द्र भण्डारीलाई कविता देखाएँ । रेडियोमा त्यो कविता तीन दिनसम्म बज्यो । जब रेडियोमा सुनेँ मेरो खुशीको सीमा नै रहेन ।’

म बाटो हिड्दा पनि मलाई राम्रो व्यवहार हुदैँन थियो । मान्छे खाना खादैँ गर्दा पुगे भने कुदेर भित्र पिस्थे सबै । मलाई असाध्यै पीडाबोध हुन्यो । मिनाले भनिन्, ‘जब रेडियोबाट सबैले मेरो कविता सुने त्यस पछि मलाई हेर्ने नजर नै परिवर्तन हुन थाल्यो ।’

मिना बाेक्सीको आरोप लगाउने छिमेकीलाई धन्यवाद दिन्छिन् । ‘उहाँले मलाई त्यति नभनिदिएको भए आज म सामान्य खेति किसानमा मात्र सीमित हुन्थे होला । तर, आज म कविता लेख्न सक्ने भएकी छु । यो ठाउँमा हुनु नै मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा हो ।’ उनले थपिन्, ‘म सन्तुष्ट छु । हामी बिच अहिले एकदम राम्रो सम्बन्ध छ । म उहाँलाई अहिले भगवान मान्छु । ’

बिर्तामोडको अतिथि सदनमा साहित्यिक पुस्तक प्रदर्शनि २०७४ सालमा कस्तो रहेछ भनेर गएकी थिए । त्यहा पुगेर मैले सबै किताबहरु किनेर ल्याए । उनले भनिन्, ‘ति किताब सबै पढेपछि मलाई अझ धेरै हौसला र प्रेरणा मिलेको र संग्रह नै निकाल्न योग्य भएकी हुँ । ’

मिनाले अहिलेसम्म दुई वटा कविता संग्रह प्रकाशित गरिसकेकी छिन् । उनले २०७४ सालमा पहिलो कविता संग्रह ‘सम्झनाका शृङ्खलाहरु संस्मरण संग्रह’ र २०७६ सालमा ‘मनका तरङ्गहरु’ प्रकाशित गरेकी छिन् । ‘मनका तरङ्गहरु’ कविता संग्रहमा ४९ वटा कविताहरु समावेश गरिएका छन् । मिना छन्द रसमा कविता लेख्न रुचाउँछिन् । उनले शार्दूलविक्रीडित, भुजङ्गप्रयात लगायतका लयमा कविता लेखेकी छन् ।

कामको सिलसिलामा कैलाली पुगेकी मिनाले १९ वर्ष विभिन्न संस्थामा रहेर टाइपिष्टको काम गरिन् । २०६२ सालमा बसाई सरेर झापा आइपुगेर अहिलेसम्म अग्र्यानिक तरकारी उत्पादन गर्दै आएकी छिन् । २०७४ सालदेखि बिर्तामोडमा रहेको परोपकार समाज उद्यमी संस्थामा मार्केंटिङको काम गर्दै आएकी छिन् । मिना घरको काम सकेर झोलामा अचारका बट्टा राखेर घर, बजारमा लिएर हिड्छिन् । आफुलाई केही खर्च गर्न सहज भएकाले मार्केटिङमा हिडेको उनले सुनाइन् ।

साहित्यिक क्षेत्रमा आएका धेरै सर्जकहरु बाल्यकालदेखि नै साहित्यमा रुचि भएका हुन्छन् । तर, मिना अधिकारी भने जीवनको उत्तरार्धमा साहित्यिक क्षेत्रमा प्रवेश गरेकी छन् । जिन्दगीलाई अगाडी बढाउने क्रममा हरेक व्यक्तिले उत्तारचडाव व्यहोरेका हुन्छन् । धेरै मान्छे विभिन्न समस्या र चुनौतीका कारण मृत्युको मुखमा समेत पुगेका घटनाहरु हाम्रो समाजमा धेरै छन् । तर, मिनाले आफ्ना समस्य र चुनौतिलाई यसरी समाधान गरिन कि उनी एक सर्जक बनिन् । त्यसले उनलाई सम्मान योग्य जीवन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्