Logo
  माघ १६, २०७९ सोमबार

कान्तिपुरको सहप्रकाशन बन्द गर्ने निर्णयको प्रभाव



कान्तिपुर मिडिया ग्रुपले कोरोना संक्रमणको महामारीको कारण देखाउँदै नेपाल, नारी र साप्ताहिक अखबार बन्द गर्ने निर्णय औपचारिक रुपमा सार्वजनिक गरेको छ । कान्तिपुर जस्तो स्थापित, व्यावसायिक र आर्थिक रुपले सवल मिडिया ग्रुपको तीनवटा सहप्रकाशन बन्द गर्ने निर्णयले नेपाली मिडियाको भविष्यका बारेमा प्रतिक्रिया र बहस सार्वजनिक हुन थालेका छन् । अतः सञ्चार विज्ञ भानुभक्त आचार्यको सामाजिक सञ्जलाबाट यो टिप्पणी लिइएको हो ।

देशकै सबैभन्दा आशलाग्दो र लोकतन्त्रका लागि राम्रै योगदान गरेको मिडियाका प्रकाशनहरु बन्द हुँदा पाठकको नाताले सबैलाई दुःख लाग्ने नै भो । उबेला किलोका किलो सुन बाड्ने कान्तिपुर अहिले लसुन समेत पैँचो माग्नु पर्ने अवस्थामा आएकै हो तरु विश्वास गर्न गाह्रो छ ।

मलाई लाग्छ मालिकहरुले आफुसँग भएको संरक्षित सम्पति यस्तो महामारीका बेला प्रयोग गर्न चाहेनन् । यसले कुनै बेला आठौं दल भनिएको कान्तिपुर मिडिया हाउसको “लोकतन्त्रप्रतिको निष्ठा” व्यापार गर्ने उद्देश्यका लागि मात्रै थियो कि भन्ने शंका उब्जाउँछ ।

नेपालमा दुई प्रकारका मिडिया हाबी थिए । एउटा साहुजीमुखी अर्को नेतामुखी । यी दुवै समाप्त नभइकन साँच्चिकै जनमुखी मिडिया आउन कठिन थियो । अब त्यो समय आयो जहाँ श्रमजीवी पत्रकारहरु मिलेर सहकारी मोडेलमा मिडिया चलाउन् । एउटै मिडियामा क्षमतावान् सयौं पत्रकारहरु जोडिउन् ।

पत्रकारिताका श्वाशत मान्यता र आचारसंहितालाई परिपालन गरुन् । नेताजीहरुको मुख नताकुन् । गुटगत राजनीति र व्यापारीको मुखपत्र नबनुन् । आफुखुशी मान्छेपिच्छेका अनलाइन नचलाउन् ।

पूरै देश ढाक्ने पत्रकारहरुको सञ्जाल बनाएर आफ्नै किसिमको पब्लिक मिडिया चलाउन्, जसमा रेडियो, टेलिभिजन, अखबार, अनलाइन, समाचार एजेन्सी सबै होस् । तब यो देशको पत्रकारिता मात्रै होइन, राजनीति र अर्थतन्त्र पनि सुध्रिन्छ ।

भ्रष्टाचार र राजनीतिक खिचातानीको चक्रव्यूहमा फँसेको नेकपाको सरकार आफैं आइसोलेसनमा छ । यसलाई आलोचक मिडिया जति धेरै बन्द भयो उति हाइसञ्चो हुन्छ । सरकारका आफ्नै अखबार, रेडियो, टेलिभिजन, समाचार समिति एवम् सरकारी प्रोपगन्डालाई मलजल गर्ने केही अनलाइनहरु छन् ।

तसर्थ, यसले मिडियालाई कोल्याप्स हुन नदिन कुनै कार्यक्रम ल्याउँने छैन । नेपालको पत्रकारिताको जग जनताको चाहना हो, सरकारको इच्छा होइन । त्यसैले सरकारबाट धेरै आश नगरौं ।

क्षमतावान् पत्रकारले आफ्ना पँखेटामा विश्वास गर्ने हो, आफू अडिएको हाँगोमा होइन । हिजोको नेतामुखी वा साहुजीमुखी पत्रकारिता सुध्रने हो भने अब सुध्रिन्छ । तर त्यसको जग पैसा होइन, पेसागत इमान्दारिता र पत्रकारिताका मूल्यमान्यताहरुप्रतिको प्रतिबद्धता हो ।

सहकारी मोडेलमा जाऔं । सबै पत्रकार सबै सेयर लगानीकर्ता बन्ने किसिमको वातावरण सिर्जना गरौं । यो महामारी पछि पत्रकारिता त फेरि पनि उठ्छ, तर साहुजीहरु कहिल्यै नउठ्न पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्