Logo
  माघ २२, २०७९ आईतबार

म प्रधानमन्त्री भएँ भने !



नेपाली जनताको संघर्षबाट लोकतन्त्र र गणतन्त्र आएको छ । दर्जनौ प्रधानमन्त्री फेरिए तर प्रधानमन्त्रीको चरित्र फेरिएन भन्ने व्यंगात्क भावमा साहित्यकार पुण्य खरेलले २०५९ सालमा लेख्नु भएको “म प्रधानमन्त्री भएँ भने ?” भन्ने शीर्षकको निबन्ध आजका दिनमा पनि सान्दर्भिक भएकाले प्रकाशन गरिएको छ ।

मुलुकको प्रधानमन्त्री हुने कुरा ख्यालख्यालको कुरा होइन तथापि राणा शासनलाई ढाले पछि नेपाली जनताका छोराहरू पनि मौका–बेमौका प्रधानमन्त्री हुन पाइरहेकै छन् । हो आजसम्म नेपालमा कुनै पनि जनताकी छोरीले भने प्रधानमन्त्रीको कुर्सीमा बस्न पाएकी छैनन् नै । बीचमा एउटा लामो कालखण्ड राजाकै आशिर्वादले मात्रै प्रधानमन्त्री बन्ने स्थितिमा ब्यतित भयो । अब फेरि पनि त्यो स्थिति दोहोरिने छाँट छ ।

जेजस्तो स्थिति होस् म जस्तो मान्छेले प्रधानमन्त्री बन्ने औसर आउला र राष्ट्रका लागि केही गर्न पाउँला भन्ने त गोेरुका पछि लागेको स्यालकै कथा होला । जेहोस् प्रधानमन्त्री भैयोस् या नभैयोस्, कथं कदाचित प्रधानमन्त्री भैयो नै भने यो गर्थें वा ऊ गर्नेथें भनेर कल्पनाको दाँदे नै कुदाउन त छेकिने केले र ?

प्रधानमन्त्रीको कुरा गर्ने बित्तिकै मेरो मनमा बाह्रबजेका मौरीले घार रनघन पारेझैं रनघन पारेर पन्चायतकालका प्रधानमन्त्रीहरूको रूप आइहाल्छ । गाई काण्ड, गधा काण्ड, चरेश काण्ड, साँपको छाला काण्ड जस्ता के–के काण्डदेखि जनमत संग्रह गर्दाताका मुलुक भरिको ‘नेपालको धन हरियो बन’नै लुँड्याएर निर्दल जिताएको काण्ड आँखाभरि आउँछ ।

इतिहासको किताब पल्टाएर प्रधानमन्त्रीहरूका बहादुरी टिप्न बलगर्छु ता कि म पनि त्यस्तै गर्न सकुँ, त्यहाँ मुलुकको भूभाग अंग्रेजलाई दिंदै आफ्नो तानाशाही कसेको पढ्छु । मुलुकका नदीको पानी जति छिमेकी देशलाई बेच्तै प्रजातन्त्र बचाएको देख्छु ।

जंगबहादुर देखि मोहन शमशेरसम्म बी.पी.कोइराला देखि जी.पी.कोइरालासम्म आलोपालो नेपाली डाँडाकाँडा वा नदीनाला बिदेशलाई कोसेली दिंदै आफूलाई मजबुत पारेको पढ्छु । राष्ट्रियताको पक्षमा उँभिंदा जेलमा कोचिएर आत्महत्या गर्नुपरेको पढ्छु । त्यसैले अकमक्क पर्छु र गम्छु के गर्छु होला म यदि प्रधानमन्त्री भएँ भने ?

प्रजातन्त्र प्राप्त भयो । १०/१२ बर्ष प्रजातन्त्रको जिन्दावाद गायौं । यसबेला पनि तुलसीन्युरान जस्तो नेपाली शिरमा भारतीय सेनाले आफ्ना बुट पड्काएर हामीलाई किचिरहेछ । राष्ट्रियताको नाममा भीमसेन थापासँगसँगै झ्यालखानमा थुनिएको मेरो देशको स्वाभिमान जेलमै आत्महत्या गरेर लासलाई स्याल र गिद्धको खान्की बनाइएको छ ।

यस्तो बेलामा म प्रधानमन्त्री भएँ भने ‘ती नेपालको शिरमा बुट बजार्ने अतिक्रमणकारी भारतीय फौजलाई महाकाली कटाउँथें’ भनेर मैले भनें भने तपाईंहरू ओठ लेप्राएर ‘खुट्टी देख्तै थाहा पाएँ’ भनेर फिस्स हाँस्नुहोला । त्यसैले म अकमक्क पर्छु र गम्छु के गर्छु यदि म प्रधानमन्त्री भएँ नै भने ?

एउटा प्रधानमन्त्री सम्झन्छु उसले गरीब गुर्बाजति सबैलाई शत्रु ठान्यो । उसले कुनाकाप्चा, खुँजका सबैलाई शत्रु ठान्यो । गाउँ खाने कथाको उत्तर भन्नेले ‘शहर बजार जति सबैमेरा लाटा–लठ्यौरा जति सबैतेरा’ भनेजस्तो पाराले शहर बजार राजधानी जति उसले आफ्नो ठान्यो ।

अड्डा अदालत जति आफ्नो ठान्यो । नपाउनेले भेट्ता बोक्रैसँग खाए झैं छोरा–छोरी बिदेशिएका थिए भने उनीहरूलाई पनि बोेलाएर राजधानीमा बसाएर देशको भोज लगायो । लाउडा खायो, धमीजा लायो, महाकाली नदी बिदेश पठायो । अर्थात एउटा ‘जिउँदो मान्छे’को कथामा भएको जिउँदो मान्छेले जस्तो पाराले उसले देशलाई ‘अन्धेर नगरी चौपट राजा’ जस्तै बनायो ।

अर्को प्रधानमन्त्री सम्झन्छु उसले त झन् त्यो पहिलोलाई पनि जित्ने सुरल्यायो । आफूमात्रै मुलुक लुँड्याउने होइन, लोग्नेमान्छे मन्त्रीहरूलाई समेत घरी सुत्केरी पारेर सुत्केरी औषधी खुवायो, घरी दर्जन–दर्जन मन्त्रीहरूलाई एकैचोटी झाडाबान्ता गराएर एकैचोटी बैंकक औषधी गर्न पठायो ।

‘न्याय नपाए गोर्खा जानू’ भन्ने उखानलाई उसले ‘न्याय नपाए जङ्गल जानू’ भन्ने नयाँ सन्देश देशभरि मच्चायो । यस्ता यस्ता प्रधानमन्त्री देख्ता म अलमल्ल गोत्राय हुन्छु र गम्छु के गर्छु होला म प्रधानमन्त्री भएँ भने ?

के म प्रधानमन्त्री भएँ भने कांग्रेसजतिका हातखुट्टा गिंडाउँछु ? हातखुट्टाका जोर्नीलाई अचानोमा राखेर बञ्चराका पासाले हानेर थिलिपित्तिली पार्न लाउँछु ? के म एमाले–माले जति सबैलाई छानी छानी समातेर खाडलमा जिउँदै पुराउँछु या अपहरण गराएर गायब पारिदिन्छु अनि हप्तादिन या महिनादिन पछि सफाया गरियो भनिदिन्छु ? के रा.प्र.पा.–सद्भावना जतिका कार्यकर्तालाई म सिध्याइदिन लाउँछु ? के शिक्षक विद्यार्थी सबैलाई म देख्नै सहन्न ?

साँच्चो प्रजातन्त्र यै हो भनेर अनि त्यतिबेला बम्किन्छु ? कि म प्रधानमन्त्री भएँ भने माओवादीको आरोपमा, आतङ्ककारीको आरोपमा शिक्षक–प्राध्यापक वा पत्रकार वा जुनसुकै पार्टीका कार्यकर्ता–नेता वा कुनै स्वाभिमानी जतिलाई वा मेरो शासनमा अवरोध पुग्ने जुनसुकै व्यक्तित्वलाई सफाचट पार्दै जान्छु कि के गर्छु ? के गर्छु होला म यदि प्रधानमन्त्री भएँ भने ?

कि म अमेरिकी सेना भित्र्याउँदै, राती आँखा देख्ने रसियन या बेलायती हेलिकोप्टर ल्याउँदै बिरोधी जतिको आवाजै समाप्त पार्दै जान्छु कि ? कि अटलबिहारी महामहिमसँग हात मिलाएर म आफूलाई ल्हेन्डुप दोर्जेको पदको नियुक्ति पत्र माग्छु ? चाहे पूर्णागिरीको बाँधको कुराहोस् या लक्ष्मणपुर बाँध होस्, चाहे खुर्दलोटन बाँध होस् या लुम्बिनी डुबाउँने भारतीय योजना होस् या अहिले महली बाँध होस् म त भारतलाई कुनै बिघ्न बाधाबिना ती बाँध बाँध्न सहयोग गर्छु कि ?

मेचीको केही सय बिघा भारतमा परे पनि, सुस्ता या माने भञ्ज्याङ्को जग्गा भारतमा गाभे पनि यदि भारत नेपालको राजनीतिक समस्यामा मलाई सहयोग गरेझैं गर्छ भने म त सहर्ष सहेर प्रधानमन्त्री निष्कण्टक चलाउँछु कि ? प्रजातन्त्रलाई एउटा दामी झोलामा हालेर चेनसेन लगाएर दरबारको ढोकाबाट भित्र फ्याँकिदिन्छु कि ?

ब्यारेकबाट सेनालाई आधुनिक हतियारसँग बाहिरतिर मार्च गराएर कर्णाली न गण्डकीलाई म रातो–रातो पानी बगेको जस्तो खुनै खुनको नदी बनाएर बगाउन सक्छु कि ? गम्छु म के गर्छु होला यदि प्रधानमन्त्री भएँ भने ?

के म यदि पार्टीको प्रमुख छैन र प्रधानमन्त्री भएँ भने आफ्ना भाञ्जा भाञ्जी, साला, साली, ज्वाइँ, मावली भाइ, साढुहरूको लिस्ट बनाएर प्राथमिकता क्रममा मन्त्री, सहायक मन्त्री, सल्लाहकार, राजदूत, संस्थानका हाकिम आदिको नियुक्तिमा क्रम मिलाउँछु कि ?

यदि पार्टीको प्रमुख छु भने चाहिं त्यही नाताभित्रकोे पार्टीभित्रका आफ्ना गुटकालाई, नातेदारलाई पहिलो प्राथमिकता, पार्टी बाहिरका नातेदारलाई दोस्रो प्रथमिकता अनि क्रमशः गर्दै नियुक्ति तिर लाग्छु कि ? गम्छु के गर्छु होला यदि म प्रधानमन्त्री भएँ भने ?

मुलुकका नेपाली बीज्ञ तथा बिशेषज्ञहरूको गुण स्तरका आधारमा कसले मुलुकलाई निस्वार्थ योगदान गर्छन् ? को नेपाली जनता र नेपाली राष्ट्रको हितका निमित्त आफूलाई उत्सर्ग गर्न तयार छन् ? त्यो त अहिलेसम्म नामावली नै तयार छैन होला । के त्यो नामावली तयार पारेर तिनको सहयोगमा मुलुकलाई अगाडि बढाउन म कोशिसमा लाग्छु ?

के कृषि क्षेत्रमा होस् या शिक्षा वा स्वास्थ्यको क्षेत्रमा म के दश बर्षमा मुलुकलाई स्वावलम्बी बनाउने, बीज्ञहरूबाट आत्म निर्भर बनाउने योजना बनाएर अनि मुलुकलाई अगाडि बढाउँछु ? के मनमोहन अधिकारीले बुहारीको कुरा नै नसुनेझैं नातापाताको कुरा गर्ने जतिलाई तुरुन्त कार्यवाही अगाडि बढाउँदै राष्ट्रका होनहार युवाशक्ति वा जनशक्तिलाई म निष्पक्ष रूपमा मुलुकको हितमा लगाउन त्यस्ता नागरिक छानेर मुलुकको बागडोर त्यस्ताका हातमा पार्छु र ऐतिहासिक प्रधानमन्त्री हुन सक्छु ?

भीमसेन थापा र गञ्जुलामाको मर्यादा बचाउन, भीमदत्त पन्त या एकदेव आलेको जस्तो खुन बचाउन एक इञ्ची नेपाली भूमिका लागि आफ्नो प्राण किञ्चित पर्वाह नगरी लड्ने नागरिकको सच्चा नेता हुन्छु म ? गम्छु के गर्छु यदि म प्रधानमन्त्री भएँ भने ?

दरबारलाई आफ्नो ठाउँमा बस्न विवश पारेर सच्चा जनताको प्रजातन्त्र निम्ति आफ्नो कुनै स्वार्थलाई तिलाञ्जली दिएर म राष्ट्रलाई नेपाली जनतालाई हित हुने कुनै पनि कुराका निम्ति निर्भिक भएर उँभिने ऐतिहासिक प्रधानमन्त्री हुनसक्छु ? गम्छु के गर्छु म प्रधानमन्त्री भएँ भने ?
२०५९/१२/९मा

प्रतिक्रिया दिनुहोस्