Logo
  माघ १७, २०७९ मंगलबार

कोरोना संघर्षमा स्वास्थ्यकर्मीको कथा



स्वास्थ्यकर्मीहरु कोरोना विरुद्धको लडाँइमा अग्रपंक्तिका सिपाही हुन् । हालै गरिएको एक अनुसन्धानले नेपालमा कोरोना भाइरस रोग (कोभिड १९) को उपचारमा अग्रपंक्तिमा खटिएका डाक्टर, नर्स, प्रयोगशालाकर्मी लगायत स्वास्थ्यकर्मी मानशिक तनावमा रहेको देखाएको छ । लामो समयको खटाई, व्यक्तिगत सुरक्षा सामग्रीको अभाव, कोरोना भाइरस संक्रमणको डर, घर–समाजको असहयोगले उनीहरुको मानशिक स्वास्थ्यमा असर देखिएको छ ।

कोरोनाको उपचारमा खटिएकै कारण रोग सार्ने आरोपमा घरबेटीले कोठा सर्न दबाब दिएको तथा समुदायको अपहेलना सहन बाध्य भएका स्वास्थ्यकर्मीको हिस्सा ५३.७ प्रतिशत छ । र, उनीहरुमा नै धेरै एन्जाइटी, डिप्रेशन र अनिद्राको समस्या रहेको छ ।

म पनि एक स्वस्थ्यकर्मी हुँ । म जस्ता धेरै स्वास्थ्यकर्मीलाई डर लागे पनि ड्युटीमा खटिएका छन् । हाम्रो पनि परिवार छ, हामीलाई कोरोना पोजेटिभ देखियो भने अस्पतालमा बसौला तर घरमा भएका परिवारलाई लाग्यो भने कहाँ राख्ने ? कसरी राख्ने ? चिन्ता हुन्छ । तरपनि हामीले काम गर्न छोडेका छैनौं । हाम्रो लागि काम नै पुजा हो । बिरामीको सेवा नै धर्म हो । त्यही सोचेर बिरामीको सेवामा खटिएको छौं ।

अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी पिसाब च्यापेर, पसिनाले भिजेर त्यही बिरामीको सेवामा रात दिन, १२–१४ घण्टा खटिरहन्छन् । जसले आफ्नो ज्यान दाउमा राखेर सेवा गरिरहेको छ, उसको घर घेराउमा पर्नुपर्ने ! जो अहोरात्र सेवामा तल्लीन उसलाई टोलबाट निकाल्नु पर्ने ! अस्पतालमा काम गर्नेले यो विषम परिस्थितिमा अपराध होइन, सेवा दिईरहेका छन् ।

तर, किन यस्तो व्यवहार ? कुन अपराधको सजाय हो ? वर्ततमान समयमा घर, टोल र समाजबाट बहिस्कार गरे यही समाजको मान्छे बिरामी पर्दा कहाँ जाने ? एकातर्फ बिरामीको सम्पर्कमा रहदा कोरोना सर्ने डर र अर्को झन भयानक डर त समाजले गर्ने दूर्व्यवहारको ।

घर र समुदायबाट सहयोग नपाउँदा, पीपीइ नहुँदा आफैलाई संक्रमण हुने र आफुले घरमा रहेकालाई कोरोना सार्ने डरले धेरै नर्समा डिप्रसन र एन्जाइटीको समस्या देखिएको छ । म कार्यरत अस्पतालमा पनि कोरोना पोजेटिभको केस आएको थियो । जुन केसको अपरेशन गरेर घर गैसकेपछि रिपोर्ट आयो पोजेटिभ । अब यस्तो अवस्थामा जो बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आएको थियो उनीहरु सबैको पीसीआर गर्नु पर्यो ।

अप्रेशन गर्ने डाक्टर होम क्वारेन्टिनमा बस्नु पर्यो । अरुले निरन्तर ड्युटी गर्नु पर्यो । सबै जनाको रिपोर्ट नेगेटिभ आयो । आफू सुरक्षित् भएर काम गर्ने हो भने कोरोना नि नलाग्ने रहेछ । लगातार बिरामी चाप कहिले घटेन । हस्पिटल कहिले बन्द हुँदैन । लकडाउन नि चली राखेका थियो । पुनः काम गर्दै जाँदा उपत्यका बाहिरका पनि बिरामी थिए । ती बिरामीको प्रत्यक्ष सम्पर्कमा थिए मँ । बिरामी आइसोलेसनमा बस्नु पर्यो र त्यसमा म पनि परेको थिए ।

तर, म हस्पिटलमा बस्न सकिन । घरमा नै गएर होम आइशोलेसनमा बसे । आइशोलेसनमा बसेको पाँचौ दिनमा पीसीआर टेष्टको स्याम्पल लिइयो । म घरमै आएर बसे तर मलाई भित्र देखी धेरै डर लागेको थियो । यदि मलाई कोभिड–१९ पोजेटिभ आयो भने के गर्ने ? अति नै डर थियो मर्न सँग डर थिएँन तर आफ्नो घर परिवार प्रति डर थियो ।

आइसोलेसनमा छु भन्दा सँधै बोल्ने साथी हरु बोल्न छाडे । सँगै काम गर्ने साथीहरु कोरोना सर्छ भन्दै छेउमा आउन छाडे । अनि सोच्थे यो कस्तो रोग हो मान्छे बाट मान्छे टाँढा हुनु पर्ने आफ्नोहरु टाढा हुनुपर्ने घृणा गर्ने खालको क्वारेन्टाइनमा बस्दा अरुले भेट्न र देख्न नि नपाउने ।

अरुलाई हुँदा केही छैन, ठीक हुन्छ भन्ने हामी आफूलाई पर्दा गाह्रो हुँदो रहेछ । हस्पिटलमा बस्दा त जे खान दियो त्यही खानु पर्ने, बाहिर निस्किएर हिड्न नपाउने जेलको जस्तो सजाय भोग्नु पर्ने । सबै जना आतुर थिए कहिले रिपोर्ट आउँछ अनि घर जान पाउछ भनेर । आफ्नो परिवारबाट टाढा १४ दिन काट्नु १४ वर्ष जस्तो लाग्ने । तर, हामी सबै जनाको रिपोर्ट नेगेटिभ नै आयो । पुनः ड्युटी शुरु भयो सबैको ।

फेरी कति बेला कहाँ गैर पोजेटिभ हुने हो थाहा छैन । यसरी हामी आफ्नो वास्ता नगरी दिन रात नभनी सेवामा खटिने डाक्टर, नर्सलाई आज आएर समाजका मान्छेले राम्रो मान्दैन । मेरै कुरा गर्छु–त्यो हस्पिटलमा काम गर्छे त्योसँग बोल्नु हुँदैन कोरोना लिएर आउँछे भन्थे । म चुप बसे ।

तर, मेरो कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि भन्छन् –मलाई यो र त्यो समस्या भएछ, कहाँ जाने हस्पिटल लगेर चेक–अप गर्राई दिनु अनि औषधी ल्याई दिनु भन्छन होस्पिटल जान डर लाग्छ तपाइले ल्याई दिएको औषधीले ठीक हुन्छ । अनि म भन्छु मलाई कोरोना पोजेटिभ आउँला त्यसपछि… । अनि भन्छन सबैले मानेको कुरा मान्नु पर्यो नि ।

घृणा होइन, माया गर्नुस् । तपाईको जीवन रक्षकलाई सुरक्षित र मर्यादित रुपमा काम गर्न हौसला प्रदान गर्नुहोस् । कोरोना बिरुद्धको युध्दमा होमिएका अग्रपङ्तिका योध्दहरु अर्थात् डाक्टर, नर्स, सफाई गर्ने कर्मचारीलगायतलाई सम्मान गर्नुहोस् । सबै कोराना संक्रमितलाई घृण र बहिस्कार होइन, पोषिलो खानेकुराको साथमा मनोबल उच्च राख्न साथ हौसला, माया दिनुहोस । र, संक्रमितको नजिक जाँदा सावधानि अपनाएर जानुहोस । (लेखक दिर्घायु गुरु अस्पातल र रिसर्च सेन्टर काठमाडौँमा कार्यरत छिन्।)

प्रतिक्रिया दिनुहोस्