Logo
  माघ १६, २०७९ सोमबार

‘भोजराज सर’ साना नानीका ‘सरबुबा’



झापा, २३ माघ । गौरादहको शिक्षा विकासमायोगदान पु¥याउने मध्ये अग्रपङ्तिमा आउने नाम हो, भोजराज दाहाल । गौरादह बहुमुखी क्याम्पसमा २७ वर्ष अध्यापनबाट निवृत्तदाहालले ‘भोजराज सर’को उपमा पाएका छन् । उनलाई सबैले भोजराज सरबाट सम्बोधन गर्दछन् । गौरादह क्याम्पसमा अध्ययन गर्ने हजारौँ विद्यार्थीमात्र होइन, अभिभावक र स्थानीयका नजरमा पनि उनी भोजराज सर नै हुन् ।‘भोजराज सर’ उनको पहिचान बनेको छ ।

विक्रम सम्वत २०४६ सालमा गौरादह बहुमुखी क्याम्पसको संस्थापकमध्येका एक हुन् । उनले त्रिवि इन्जिनियरिङ क्याम्पस पुलचोकको अंग्रेजी विषयको प्राध्यापन कार्य छाडेर गौरादह बहुमुखी क्याम्पसको प्रमुख भएका थिए । गाउँमा शिक्षाको विकास गर्ने सोँचले गौरादह फर्किएको उनी बताउँछन् । उनले दुई पटकमा १४ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाले । २०६८ सालमा आफ्नै पूर्व विद्यार्थी हिन्दबहादुर दाहाललाई क्याम्पस प्रमुख हस्तान्तरण गरी २०७३ बाट क्याम्पसको अध्यापना कार्यबाट बिदा लिए ।

गौरादह क्याम्पसको २७ वर्षे अध्यापन कार्यबाट बिदा लिएका दाहाल शिक्षा क्षेत्रभन्दा टाढा हुनै नसकेको बताउँछन् । अध्यापन कार्यबाट बिदा लिएका उनी अहिले पनि विद्यार्थीसँगै छन् । फरक यत्ति हो, हिजो क्याम्पसका उमेर पुगेका विद्यार्थीलाई पढाए, आज साना नानीहरुसँग रमाउँदैछन् । उनी अहले साना नानीहरुलाई शिक्षा बाँडिरहेका छन् । साना नानीलाई शिक्षा बाँड्ने नयाँ कार्यले भोजराज सरको पहिचान बिस्तारै बदलिँदैछ ।

गौरादह बजार नजिकै निवाससँगै जोडेर उनले सात वर्षअघि सुरज शिक्षा प्रतिष्ठान स्थापना गरेका थिए । क्याम्पस छाडेपनि मन्टेश्वरी पद्धतिको विद्यालयमा उनी साना नानीसँग रमाइरहेका छन् । उनको दैनिकी भनेकै साना नानीका कुरा सुन्नु, उनीहरुका गुनासा र उजुरीको समाधान गर्नु हो ।

प्रतिष्ठानमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म मन्टेश्वरी पद्धतिबाट पढाई हुने गर्दछ । खेल्दै र प्रयोगात्मक विधिबाट विद्यार्थीले अध्ययन गर्दछन् ।विद्यार्थीको दिवा खाजा विद्यालयमै हुन्छ । विद्यालयमा मात्र होइन, अभिभावकले घरमा पनि नानीहरुलाई तपाई भनेर सम्बोधन गर्नु पर्दछ ।

विद्यालयमा शिक्षकले विद्यार्थीलाई तँ होइन, तिमी पनि भन्न पाइँदैन, तपाईं भनेर सम्बोधन गर्नु पर्दछ । विद्यालयमा मात्र होइन, घरमासमेत साना नानीलाई तपाईँ भन्न सिकाइएको छ ।

विद्यार्थीले दाहाललाई ‘सर बुबा’ भनेर सम्बोधन गर्दछन् । गीता दाहाल, उनकी श्रीमती हुन् । उनी पनि विद्यालय सक्रिय छिन् । उनलाई ‘गीता आमा’ भनेर सम्बोधन गर्दछन् । विद्यालयका सबै शिक्षक, शिक्षिका र कर्मचारीलाई कुनै न कुनै साइनो लगाएर साना नानीले सम्बोधन गर्दछन् । कसैलाई माइजु, कसैलाई फुपू, आमा, दिदी, सर, म्याडम भन्ने गर्दछन् । माथिल्लो कक्षाका विद्यार्थीले सर, म्याडम, मिस भनेपनि साना नानीले नेपालीपनको साइनो लगाउने दाहालले बताए ।

विद्यालयमा विद्यार्थीलाई पढाउने होइन, विद्यार्थीको सिकाई व्यवहारलाई शिक्षकले अध्ययन गर्नु पर्दछ विद्यालयका संस्थापक अध्यक्ष दाहाल भन्छन्, पुरानो पढाउने तरिकाभन्दा अहिलेको शिक्षा पद्धतिमा ठुलो अन्तर छ । दाहालका अनुसार हिजोको शिक्षा पद्धतिभन्दा आजको शिक्षाको सिकाइ र बुझाइमा ठूलो अन्तर रहेको बताउँछन् ।

शिक्षामा नयाँ पद्धतिअनुसार हिजोको शिक्षक हातमा लौरो लिएर कक्षा कोठामा पस्दथे,विद्यार्थीले गल्ती गरे पिट्दथे ।शिक्षकले विद्यार्थी हप्काउने, दप्काउने, तर्साउने कुरा सामान्य जस्तै हुन्थ्यो । तर, आजको शिक्षामा विद्यार्थी माया, स्नेह, प्रेम दिइन्छ ।
अध्यक्ष दाहाल आफूले मन्टेश्वरी पद्धतिबाट नयाँ कुरा सिक्ने अवसर पाएको बताउँछन् । हिजोको भन्दा आजको शिक्षा दिने पद्धति ठिक विपरीत रहेको उनको ठम्याइ छ ।

हिजो शिक्षालयमाविद्यार्थीले गल्ती गर्दा शारीरिक तथा याताना दिइन्थ्यो, त्यो पद्धति अझै हटी सकेको छैन । तर, आज त्यसको ठिक विपरीत हुन्छ । गल्ती गर्ने विद्यार्थीलाई सजाय होइन, गल्ती नगर्न सुझाव दिइन्छ । विद्यार्थी बीच झगडा भए दुईलाई सम्झाई बुझाई गरिन्छ, अध्यक्ष दाहाल विद्यार्थीलाई यातना दिने र तर्साउने कुराको कुनै कुरै हुँदैन ।

पुरानो पद्धतिमा विद्यार्थी स्कुल जान नपरे हुन्थ्यो भन्ने ठान्दछन् तर आजको पद्धतिमा विद्यार्थी स्कुल जान्न भनेको विद्यार्थीको विद्यालयमा के समस्या छ भनेर खोजिन्छ दाहालले भने, पुरानो र नयाँ शिक्षा पद्धतिमा भिन्नत नै यही हो ।

मन्टेश्वरी पद्धतिको विद्यालय सञ्चालन गर्न पाएकोमा दाहाल पुलकित छन् । उनले रिटायरको समयमा नयाँ कुरा शिक्ने र जान्ने अवसर पाएको बताए । नाफाभन्दा पनि सेवागर्न पाएकोमा उनी खुसी छन् । प्रतिष्ठानमा शिक्षक, शिक्षिका र कर्मचारीसहित ३० जनाले रोजगारी पाएका छन् ।

तस्वीरमा

प्रतिक्रिया दिनुहोस्