Logo
  माघ २५, २०७९ बुधबार

कवि गोष्ठीमा ‘जूम’को स्वाद



प्रविधिको नयाँ प्रयोग गरेर भर्चुअल कविगोष्ठीमा सहभागी भइयो । कवि केशव आचार्यको सम्पर्कबाट नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले आयोजना गर्नुभएको ‘मेची गुञ्जन’ कार्यक्रममा १७ जनाको सहभागितामा भएको गोष्ठीको नयाँ आस्वाद पाइयो ।

‘जूम’ एप रहेछ यो व्यवस्था गर्न सहयोग गर्ने मोवाइल वा ल्यापटपमा । सोमबार २ः३० बजेबाट प्रविधिमा जोडिँदै मिलाउँदा मिलाउँदै झण्डै ४५ मिनट बित्यो । ३ः०० बजे सुरु गर्ने योजना थियो तर ३ः१५ बजे सुरुभयो ।

अध्यक्ष विधान आचार्यले संयोजन गर्नुभएको गोष्ठीमा इलामका विमल वैद्य, पुष्पा खनाल, शिशिर भट्टराई, पाँचथरका प्रेम ओझा, झापाका केशव आचार्य, पुण्यप्रसाद खरेल, प्रकाश बुढाथोकी, लीला अनमोल, मुनाराज सेर्मा, गणेश निरौला, खगिन्द्रा खुसी, टङ्क विकल्प, सन्देश सुब्बा, शिव रेग्मी, मधु केरुङ तथा काठमाडौंबाट दीपक लोहनी सहभागी हुनुहुन्थ्यो ।

उसै त इलामकै सुन्दर कुरुप, अमेरिकामा बस्तै गरेकी सीता पाण्डे, झापाकै मायामितु, काठमाडौंका राजेन्द्र सुवेदीलाई पनि अनुरोध गरिएको थियो भनेर संयोजकले भन्नुभयो ।

संयोजक विधान आचार्यज्यूले ‘आजको मान्छे’ शीर्षकको कविताको अंश सुनाएर कविता वाचन सुरु गर्नुभयो । अन्य कविका वाचित रचनाहरुमा खगिन्द्र खुसीले ‘भुवा’ शीर्षकको गजल सुनाउनुभयो । मैले आफ्नो मोवाइल मिलाउने ध्याउन्नामा राम्ररी सुन्न पाइनँ ।

त्यसपछि केशव आचार्यज्यूले ‘उनको रुपरङले मोहित भएको होइन म’ शीर्षकको कवितामा कवि सृजनाकी स्रोत, कविभावनामा लिप्त पार्ने, कवित्वको आराध्यदेवीमा मोहित भएको कविता सुनाउनुभयो ।

शिशिर भट्टराईले जून बेच्न चाहन्छन्, मेचीकाली बेच्न चाहन्छन्, रारा, नारा, सारा बेच्न चाहन्छन् भन्ने बुझिने गजल सुनाउनुभयो । गजलले हाम्रा आजसम्मको राजनीतिक नेतृत्व भरपर्दो नभएको, विश्वासलाग्दो नभएको, देशभक्त नभएकोमा दुःख पोखेको थियो ।

शिव रेग्मी ‘प्रणत’ले ‘मूर्दा शान्ति’ शीर्षकको कविता सुनाउनु भयो । कविताले अहिले कोरोनाले पारेको हाम्रो सामाजिक स्थितिको चित्र प्रस्तुत गथ्र्यो ।

पल्लाघरमा मृत्यु खस्ता वल्लाघरकाले सुनेको नसुन्यै बस्नुपर्ने स्थिति छ । आँतको एउटा साथी विमारी हुन्छ, हेर्न अर्को साथी जाँदैन । मरेको लासलाई जेसीपीको बकेटमा उठाएर लगेर जेसीपीले खाडल खनेर पुर्नुपर्ने स्थिति छ । अझ पुर्ने खाडल पनि यहाँ हुँदैन र त्यहाँ हुँदैन भनेर चिहान नपाउने स्थिति देखिन्छ । त्यस्तो मूर्दा शान्ति झैं छ वर्तमान भन्ने देखाउँथ्यो कविताले ।

मधु केरुङले ‘यो शताब्दीको मानिस’ शीर्षकको कविता सुनाउनुभयो । सायद अघिल्लो ‘मूर्दा शान्ति’लाई यस कविताले जवाफ दिन चाहन्थ्यो । मान्छे अदम्य शक्ति भएको, हरेक अप्ठेरामा विजय प्राप्त गर्न सक्ने ताकत राख्ने हो, हरेक विकटलाई समाधान दिन सक्ने हो भनेर कवि मान्छेलाई जिउँदो मान्छे भन्दै थिए कवितामा ।

लीला अनमोलले ‘देश भनेको के हो?’ भन्ने शीर्षकको आफ्नी सानी छोरीले सोधेको प्रश्नमा मथिंगल ख्याएको कविता सुनाउनुभयो । वर्तमानका अप्ठेराहरु, विकृतिहरु, बिसङ्गतिहरु, भ्रष्टाचार, पापाचार, कमिशनखोरी मात्र हो त देश ? भन्दै कवितामा कि छोरीले उन्मुक्त र सुरक्षित खेल्न पाउने, हाम्रा तरुनी तन्नेरीले उन्मुक्त धान नाच्न पाउने पनि हो देश ? भनेर प्रश्न गर्नुभयो ।

विवेक निशानीले ‘याद’ शीर्षकको कवितामा एउटा विद्यार्थीका उमेरको व्यक्तिले क्याम्पसे जीवनमा आफ्नी प्रेमिकालाई पहिलो दृष्टि देखेदेखि उनको रुपमा, चालढालमा मोहित भएको, लहसिएको र उनीसँग सम्पर्कित, सम्बन्धित हुँदाको यादलाई कवितामा उतार्नुभयो । कवितामा भरिएको कलात्मकता र वाचनमा देखिएको कवितात्मकताले कविमा राम्रो कवि बन्ने छाँट व्यक्तिन्थ्यो ।

सन्देश सुब्बाले ‘याङ्देने कान्छीको झोंक’ शीर्षकको कविता सुनाउनु भयो । कवितामा याङ्देनकी एउटी लिम्बुकेटी जसका आफ्ना तन्देरी छन्, तिसँग मायाँ छ, प्रेम छ, उ पैकारी गर्छे, आफैं रक्सी पार्छे, आफैं भाती जाँड बनाउँछे र बटुवाहरुलाई बेचेर, तन्नेरीसँग राम रउस गर्दै आफ्नो जीवन नाउ चलाउँछे । तर उसको त्यो पेसालाई नै हस्तक्षेप हुनेगरी ‘गाउँमा रक्सी पार्न पाइँदैन’ भनेर उसको पेसामा कसैले औंलो ठड्यायो भने उसलाई झोंक चल्छ भन्ने कुरा कविताले देखाउँछ ।

टङ्क विकल्पले ‘जय राष्ट्रवाद’ शीर्षकको कविता सुनाउनुभयो । प्राविधिक गड्बडीले राम्ररी बुझिएन तर पनि कविताले ‘व्यर्थैमा कुचेष्टा नगरे हुन्छ, स्वाभिमानले उठेको मेरो देश झुक्तैन’ भनेर सीमा मिचिएकोमा जङ्गिएको देशभक्त नेपालीको आवाज बोलेको जस्तो बुझिन्थ्यो ।

प्रेम ओझाले ‘प्यारो धर्ती’ शीर्षकको कवितामा साँच्चै पाँचथर, ताप्लेजुङतिरका सबै डाँडाकाँडा, खोला कन्दरा, हिमाल र टाकुरा तथा त्यहाँका सुन्दर प्राकृतिक दृश्यहरुको कवितामा चित्र उतार्नुभयो साथै त्यस्तो सुन्दर धर्तीमा जनता भने खान, लाउनबाट ठगिएका, न्याय नपाएका, हेपिएका जस्ता देखिएको विडम्वनायुक्त बिसङ्गत वर्तमान देखाउनुभयो ।

यस्तै मुनाराज सेर्माले ‘हजारौं प्रेमीहरुसँगको आत्मासँगको सम्वादमा’ शीर्षकको कविता भर्खरै रुकुममा घटेको एउटा विश्वकर्मा युवक र माथिल्लो जातकी भनिएकी युवतीसँगको प्रेम भई युवक युवतीलाई लिन साथीहरुसहित जाँदा तथाकथित माथिल्लो जातिका हौं भन्नेहरुले युवाहरुलाई कुटपीट गरी ज्यानै समेत लिएको घटनाबाट बिथोलिएर ‘नवराजप्रति समर्पित’ कविता सुनाउनु भयो । कविता राम्रो थियो ।

प्रकाश बुढाथोकीले ‘भाग्यमानी’ शीर्षकको कविता सुनाउनु भयो । त्यो कविताको पात्र हरेक अप्ठेरालाई सजिलो पार्न सक्ने, काँडामा पनि हिड्न सक्ने र दूरदर्शीतापूर्ण थियो । हुनै नसक्ने जस्ता र फस्र्याउन नसक्ने वा असम्भव जस्ता लाग्ने काम पनि पार लाउँथ्यो । त्यसलाई भाग्यमानी मानिएको कविता सुनाउनु भयो ।

गणेश निरौलाले ‘मेरो कोठेवारी’ शीर्षकको कविता सुनाउनु भयो । उहाँले आफ्नो गाउँ, समाज, देशलाई कोठेवारी पारेर यहाँका विद्यालयलाई चराका गुँड सम्झँदै त्यहाँबाट निस्कने चराहरु अचेल माथिमाथि उड्न थाले, गुँड बिर्सन थाले, टाढाटाढा पुग्न थाले, फर्केर आउन छाडे भनेर विदेशिएका नेपाली र यहाँ आफ्नो गाउँ बृद्धाश्रम जस्तो मात्र बन्न पुगेको स्थिति दर्शिने कविता सुनाउनु भयो ।

विमल वैद्यले ‘तिमी नहुँदा’ शीर्षकमा एउटी घरकी गृहलक्ष्मी नहुँदा फूल वैलिने, कुचो नलाग्ने, सबैथोक बेथान्का हुने, चुरा नबजेको भान्सा पनि बेस्वादिलो हुने आदि वडो मार्मिक रुपमा चित्रण भएको कविता सुनाउनु भयो ।

कतै यो कविता हाम्रा गृहलक्ष्मीहरुले पढ्दा उनीहरुले आफूलाई सुसारे मात्रै, कुशल दासी मात्रै पो रहेछौं कि भनेर व्यङ्ग्य सम्झने हुन् कि भन्ने मात्र । तर कविता सुन्दा अत्यन्तै भावुक हुइने किसिमको थियो ।

त्यसपछि नेपाल स्रष्टा समाजका महासचि पुष्पा खनालको गीत प्रस्तुत भयो । उनले केही वर्ष पहिलो बित्नुभएकी आफ्नी पूज्यआमा सम्झँदै उहाँको महानताको चित्रण सहित उहाँप्रति श्रद्धाका शब्द पनि गाउनुभयो ।

त्यसपछि दीपक लोहनीज्यूले पनि केही शब्दसहित कविता वाचन गर्नुभयो । मैले उहाँको कवितामा भने ध्यान पुर्याउन सकिनछु । मलाई विधानज्यूले वाचित कविताका वारेमा केही शब्द भन्न लगाउनु भएकाले सुनेका भरमा यति मैले टिप्पणी गर्न सकें । (यो सामग्री साहित्यकार खरेलको फेसबुक वालबाट लिइएको हो)

प्रतिक्रिया दिनुहोस्