Logo
  माघ २५, २०७९ बुधबार

पूर्वाञ्चल दैनिकको स्वर्ण महोत्सवः पत्रकार सम्मानित, पत्रिका रङ्गिन बनाउने घोषणा



बिर्तामोड, १८ फागुन । झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव सम्पन्न भएको छ । रजत महोत्सवमा पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरीले पूर्वाञ्चल दैनिकलाई रङ्गिन बनाउने घोषणा गरेका छन् ।

श्रीअन्तु प्रकाशन प्रा.लि. द्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत लोकार्पण गरिएको छ ।

प्रदेश नम्बर १ का प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ सहित २५ जना अतिथिले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे । मेची अञ्चलकै पत्रकारिताको इतिहास समेटेर पूर्वाञ्चलले तयार गरेको पुस्तकको लोकार्पण गर्दै प्रदेश प्रमुख प्यासीले जस्तोसुकै कठिन परिस्थितिमा पनि सञ्चार जगतले लोकतन्त्र र मानवअधिकारको पक्षमा खबरदारी गरिरहेको बताए ।

सञ्चार जगतले हिजोका दिनमा पञ्चायती व्यवस्थाको अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै लोकतन्त्रको रक्षार्थ सदैव सञ्चारकर्मीलाई क्रियाशील हुन आग्रह गरे । प्रदेश प्रमुख प्यासीले पत्रकारिता गर्न आफैमा कठिन हुने बताउँदै सफल पत्रकारिताका लागि सम्प्रेषण, व्यवस्थापन, सम्पादन, वितरण सबै पक्षको सन्तुलन हुनु पर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष टोरुप प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०७५ बाट अग्रज पत्रकार नकुल काजी र नेपाल पत्रकार महासंघ संस्थापक महासचिव चन्द्र भण्डारी तथा पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट चिन्तामणि दाहाल र लीला बराललाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै उत्कृष्ट पत्रकार सम्मान पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल, उत्कृष्ट व्यवस्थापक सम्मान चन्द्रकान्त ढकाल, उत्कृष्ट स्तम्भकार सम्मान अधिकारकर्मी विष्णुप्रसाद खरेल, उत्कृष्ट व्यङ्ग चित्रकार सम्मान प्राज्ञ पवन राजवंशी र उत्कृष्ट फोटो पत्रकार सम्मान कमलप्रसाद पाण्डे ‘विनोद’ लाई प्रदान गरिएको थियो । ढकाललाई प्रदान गरिएको उत्कृष्ट पत्रकार सम्मान ११ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।

पूर्वाञ्चल दैनिकका पूर्व सहकर्मी तथा कार्यरत पत्रकार, कर्मचारीलाई सम्मान गरेको छ । विशेषाङ्कलाई लेखरचना उपलब्ध गराउने लेखकलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा एभरेष्ट स्मार्ट एकाडेमी बुट्टाबारी र विर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमी, महेन्द्ररत्न मावि, चिल्ड्रेन इन्भारोमेन्ट स्कूल र वाल्मीकि एजुकेशन फाउण्डेशनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्