Logo
  माघ १७, २०७९ मंगलबार

कोरोनासँगै अंग्रेजी भाषाको संक्रमण



चीन वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणसंसारभर फैलिएको छ । संसार कोरोनाविरुद्ध युद्धरत छ । कोरोना भाइरससँगै अंग्रेजीका केही शब्दको पनि फैलावट भएको छ । क्वारेन्टाइन, आइसोलेसन, लकडाउन, थ्रोड स्वाब जस्ता शब्द चल्तीमा छन् ।

सामान्य नागरिकका लागि मात्र होइन, पढे–लेखेकाका नागरिकका लागि पनि यी अंग्रेजी शब्दको उच्चारण गर्न गाह्रो हन्छ । स्वास्थ्य क्षेत्रमा प्रयोग हुने यी शब्द सञ्चारमाध्यम र पत्रकारले सबैभन्दा बढी प्रयोग गर्न थालेका छन् । प्रयोग र चल्तीमा नआएका यीअंग्रेजी शब्द नेपालीको जनजिब्रोले उच्चाराण र कण्ठ पार्नु पर्ने बाध्यता आएको छ ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न चैत ११ गतेबाट लकडाउन घोषणा गरेपछि माथिका अंग्रेजी शब्द नेपालीले कण्ठ नपारी नहुने भएको हो । प्रयोगमा आएको यस्ता अंग्रेजी शब्दको नेपाली अर्थ नखोजेर सोझै अंग्रेजी शब्द प्रयोगमा आएका छन् ।

सरकार र सञ्चारमाध्यमले त नेपाली शब्द खोज्ने प्रयास नै गरेनन्, भाषा र व्याकरण विज्ञले त्यस्ता अंग्रेजी शब्दको नेपाली अर्थ खोज्ने प्रयास गरेको पाइएन । नेपाली भाषाको विद्यार्थी नभए पनि भाषा शुद्धीकरणका पक्षमा भएकाले यो टिप्पणी लेख्ने प्रयास गरिएको हो ।

नेपाली शब्द नहुँदा आयातित शब्दलाई जस्ताको तस्तै प्रयोग अन्यथा हुँदैन । भाषाका दृष्टिकोणले पनि जायज हुन्छ । र, त्यस्ता शब्दको नेपालीकरण गर्नु स्वभाविक हुन्छ । तर, नेपाली शब्द हुँदाहुँदै सरकारी निकाय, नीतिगत निर्णयकर्ता र सञ्चारमाध्यमले अंग्रेजी मोह देखाउनु भाषाको अपमान हो । भाषा स्वभाविक रुपमा गतिशील भएपनि बिगार्ने र गिजोल्ने अधिकार कसैलाई हुँदैन ।

सरकारी निकाय वा त्यहाँ कार्यरत व्यक्तिले अशुद्ध, गलत अर्थ दिने भाषा र शब्द प्रयोग गर्नु हुँदैन । गलत भाषा र शब्द प्रयोग गर्ने कार्य दण्डनीय हुनुपर्ने हो । तर, हामीकहाँ त्यसमा कुनै अफ्ठ्यारो नमानी अशुद्ध भाषा वा शब्दको प्रयोग हुने गर्दछ । राज्यका निकायबाट हुने यस्ता कार्यले भाषाको शुद्धता र अस्तित्व बचाउन सकिन्न ।

नेकपाका नेता भीम रावललाई आफ्ना एक मतदाताले फोनमा गरेका प्रश्नले भाषामा हाम्रो हविगत के रहेछ भन्ने छर्लङ्ग पार्छ । सामान्य नागरिकका लागि आयातित भाषा र शब्दको प्रयोगले कति सकस पार्छ भन्ने नेता रावलसँगको सम्वादबाट बुझ्न सकिन्छ । नेपाल र भारतमा लकडाउन भएसँगैभारतबाट हजारौँ नेपाली सुदूरपश्चिमका नाकाबाट घर फर्किए । उनीहरुलाई प्रशासनले क्वारेन्टाइनमा राख्यो ।

नेता रावल प्रतिनिधिसभामा अछामबाट निर्वाचित सांसद हुन्, उनीसँग एकजना मतदाताले गरेको मोवाइल सम्वाद रोचक मात्र होइन, अंग्रेजी भाषाका कारण सामान्य नागरिकलाई परेको अफ्ठ्यारो बुझ्न सकिन्छ । रावललाई उनले सोधेछन् ‘लडकाउन’,‘कानटिनटिन’, ‘आइपोछन’, ‘ सोचेर डिस्हान्छन्’, ‘स्वाप्प’ भनेको के हो भनेर ।

जवाफमा नेता रावलले लडकाउनको अर्थ लकडाउन, कानटिनटिन नभएर क्वारेन्टाइन, आइपोछन् होइन, आइसोलेसन हो र स्वाप्प नभएर स्वाब हो भनेछन ्। उनले यी अंग्रेजी शब्द हुन् भन्दै सबैको नेपाली अर्थ लगाइदिए छन् । यसले नेपाली नागरिकका लागि अंग्रेजी शब्द प्रयोगले कति कठिन बनाएको छ भन्ने बुझ्न सकिन्छ ।

लकडाउन घोषणा हुँदा र त्यसको केही दिनसम्म सरकारी कागजातमा र सञ्चारमाध्यममा लकडाउन अंग्रेजी शब्दनै प्रयोग भयो । अहिले पनि धेरै सञ्चारमाध्यमले लकडाउन शब्दनै प्रयोग गरेका छन् । सरकारी सञ्चारमाध्यम र सरकारले भाषा सुधार्ने नाममा पछिल्ला दिनमा लकडाउनको अर्थ बन्दाबन्दी शब्दको प्रयोग गरेका छन् । सरकार र सरकारी सञ्चारमाध्यमले लकडाउनलाई बन्दाबन्दी लेखेका छन् ।

अंग्रेजी लकडाउनको नेपाली अर्थ बन्दाबन्दी होइन, नेपाली अर्थ तालाबन्दी हुन्छ । तर, हाम्रामा तालाबन्दी यति बिक्रित भएको छ कि तालाबन्दी भन्दा सत्ता र सरकारका विरुद्ध हुने भएकाले त्यो शब्दको प्रयोग गरिएन ।

बन्दाबन्दीको अर्थ सबैतिर बन्द भन्ने हुन्छ । लकडाउन सबैतिर बन्द भएको छैन । मानिस घरमा ताला लगाएर बसेका छैनन् । अस्पताल खुल्ला छन् । सुरक्षाकर्मी सडकमा छन् । अनुमति पाएका सावरी हिँडिरहेका छन् । पत्रकारलाई हिँड्न अवरोध छैन । त्यसैले लकडाउन चौतर्फी बन्द होइन । बन्दाबन्दीको अर्थ सबैतिर बन्द हुन्छ । बन्दाबन्दीले लकडाउनको अर्थ बोक्दैन ।

सरकार, सत्ता वा कुनै कार्यालयमा बिरोध स्वरुप वा आफ्ना माग पूरा गर्न लगाइने ताला भन्ने अर्थ बुझिन्छ । एक प्रकारको हड्ताल भन्ने बुझ्छौँ । हाम्रो मन मस्तिष्कमा त्यही सोँचले भरिएको छ । जसका कारण लकडाउनको अर्थ तालाबन्दी हुँदाहुँदै सरकार र सरकारी सञ्चारमाध्यमले बन्दाबन्दी भन्ने शब्दको प्रयोग गरे । हुन त तालाबन्दीले पनि जताततै ताला लागेको अर्थ दिन्छ । तर, अंग्रेजी भाषाको एउटा शब्द प्रयोग भएपछि त्यसलाई नेपाली अर्थ लगाउने नाममा गलत शब्दको छनोट गर्नु हुँदैन ।

भारतीय सञ्चारमाध्यममा पनि लकडाउन शब्द प्रयोग नभएको होइन । उनीहरुले कि लकडाउन शब्द प्रयोग गरेका छन्, कि तालाबन्दी नै भनेका छन् । बन्दाबन्दी भन्नुभन्दा लकडाउन नै उत्तम हुन्छ । किनकि यो अंग्रेजी शब्द हो । नेपाली शब्दकोषमा लकडाउनले आयातित शब्दको मान्यता त पाउँछ । बन्दाबन्दी बोलीचालीको शब्द हो । भावमा बुझिन्छ तर त्यसको शब्दमा अर्थ भेटिँदैन । जस्तै यताउति, एसोउसो, छेउटुप्पो, खासखुस, चाँजोपाँजो जस्ता शब्द कथ्यमा प्रयोग हुन्छ । तर, लेख्यमा खासै प्रयोग हुँदैनन् । तर, लकडाउनको अर्थनै नदिने बन्दाबन्दी शब्द प्रयोग गर्नु उचित हुँदैन ।

आइसोलेसनको नेपाली अर्थ अलग गर्नु, अलग्गै बस्नु वा अलगथलग भन्ने हुन्छ । कसैलाई नछोइ अलग्गै बस्नु भनेको हो । सरकारी कामकाज र सरकारी मिडियाले आइसोलेसनलाई एकान्तबास भनेका छन् । यसको अर्थ भने सही हुन्छ । सुरुमा आइसोलेसनलाई गुप्तवास भने पनि त्यसको त्यो सही अर्थ हुँदैन । गुप्तवास कसैले नदेख्ने गरी बस्नु हो । तर, एकान्तवास अरुले देख्ने गरी अलग्गै बस्ने हो ।

क्वारेन्टाइन पनि पर्याप्त प्रयोग हुने शब्द हो । यसको नेपाली अर्थ निगरानीमा बस्नु भन्ने भएपनि यो शब्दको प्रयोग हुँदैन । सरकारले नै अग्रेजी शब्दको प्रयोग गरेपनि नागरिक र सञ्चारमााध्यमले प्रयोग गर्नुलाई अन्यथा मान्न सकिन्न । निगरानी भन्ने सजिलै बुझ्न सकिने शब्द हुँदा हुँदै क्वारेन्टाइन शब्दको प्रयोग भाषाप्रतिको खेलवाड हो ।

सञ्चारमाध्यममा अधिक प्रयोग हुने अर्को शब्द हो पिपिई (पर्सनल प्रोटेक्टिभ इक्युवमेन्ट) । यसको नेपालीमा सरल शब्द र अर्थ भएपनि हामीले प्रयोग गर्दैनौँ । पिपिईको नेपाली अर्थ व्यक्तिगत सुरक्षा उपकरण जस्तो सरल अर्थ र वाक्य हुँदापनि प्रयोग गर्दैनौँ । यसले के देखाउँछ भने सरकार, नेता, कर्मचारी, सञ्चारमाध्यम, पत्रकार लगायतलाई अंग्रेजी मोहले नराम्ररी गाँजेको छ ।

कोरोना परीक्षणका लागि लिइने थ्रोड स्वाब शब्द पनि प्रयोगमा छ । यसको अर्थ घाँटीको र्याल हो । अर्थात् घाँटीको र्याल परीक्षण गर्ने नभनेर थ्रोड स्वाब परीक्षण लेख्दछौँ । रयाल परीक्षण गर्ने भन्दा हुनेमा थ्रोड स्वाब टेस्ट लेख्छौँ ।

कोरोना भाइरस लेख्न त अभ्यस्त जस्तै भइसके । भाइरस भनेको जीवाणु हो भन्ने कमैलाई थाहाहुने अवस्था भइसक्यो । भाइरस शब्द यस अघि पनि पर्याप्त चिकित्सा क्षेत्रमा प्रयोग हुने शब्द हो । नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भनिएपनि सरकारको लापरवाहीले अंग्रेजी भाषाको आक्रमण बढ्दो छ । सरकारले गठन गरेको कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले नै अंग्रजी भाषाको प्रयोग गरेको छ ।

नेपाली अर्थ र शब्द हुँदाहुँदै अंग्रेजी शब्दको प्रयोग हुँदा भाषा र व्याकरणका जानकारले प्रतिवाद र आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने हो । अन्य भाषाका शब्दको निरन्तर प्रयोगले नेपाली भाषाका शब्द लोप हुँदा पनि केही नभए जसरी हामी मौन छौँ ।

भाषा व्याकरणका जानकारले टिप्पणी, आलोचना वा धारणा सार्वजनिक गर्नु पर्ने हो, त्यो पर्याप्त हुन सकेको छैन । हाम्रो भाषा र व्याकरणका विज्ञले खासै प्रतिक्रिया दिएका छैनन् । जे जस्तो शब्दको प्रयोग भएपनि मौनता साँध्नु आफैँप्रतिको अपमान हो ।

कुनै गलत कुरालाई सच्याउनु गलत हुँदैन । कोरोना संक्रमण फैलन नदिन विश्व स्वास्थ्य संगठनले मानिसलाई सोसल डिस्टेन्स राखेर व्यवहार गर्नु भन्यो । अहिले त्यो शब्द सच्याएर फिजिकल डिस्टेन्स भनेको छ । सोसल डिस्टेन्सको अर्थमानिस एकअर्कामा टाढा हुनु भन्ने अर्थ निस्कियो । इन्टरनेट वा अभौतिक सम्वाद गर्ननहुने अर्थ निस्किएपछि आलोचना र टिप्पणी भयो ।

विश्व स्वास्थ्य संगठनले सोसल डिस्टेन्सको ठाउँमा फिजिकल डिस्टेन्स अर्थात भौतिक दुरी भन्ने शब्दको प्रयोग गरेको हो । विश्व स्वास्थ्य संगठनले भाषा सच्याउन हुन्छ भने हामीले किन नहुने ?

अंग्रेजी भाषाको पनि गलत अर्थ दिने वा त्यस्तो अंग्रेजी भाषाको नेपाली अर्थ हुँदाहुँदै नेपाली भाषा र शब्द सञ्चारमाध्यमा प्रयोगलाई भाषाका जानकारले खबरदारी गर्नुपर्ने हो । तर, त्यो नहुँदा नेपाली भाषा न अंग्रेजी जस्तो, न नेपाली जस्तो हुने भएको छ ।

प्रयोगमाआएका अंग्रेजी शब्दको नेपाली शब्द वा नेपालीमा बुझिने शब्दको प्रयोग गर्ने र सच्याउने समय छ । यी शब्द स्थापित भएपछि सच्याउन सकिन्न । जस्तो सरकारी निकायले कुनै समय खानेपानी भन्ने शब्द प्रयोग ग¥यो । जुन आजपनि खानेपानी भनेरै प्रयोग हुन्छ । तर, यसको शुद्ध शब्द पिउने पानी हुनुपर्ने हो ।
सरकारले पनि पिउने पानीलाई खोनपानी भनेर सच्याउने आँट गरेको छैन । अहिले प्रयोग भएका शब्दको पनि भविष्यमा त्यस्तै गलत अर्थ निस्कन सक्छ ।

कोरोना भाइरससँगै नेपाली भाषा र शब्दमा पनि अंग्रेजी शब्दको संक्रमण भएकाले त्यसलाई सच्याउनु पर्दछ । अंग्रेजीको नेपाली अर्थ निकाल्ने नाममा बेअर्थी शब्दको प्रयोग गर्नु हुँदैन । नेपाली भाषालाई अंग्रेजीकरण गर्ने नाममा ‘कोक्टेल’ बनाउनु हुँदैन । सरकार, भाषा व्याकरणका जानकार र सञ्चारमाध्यमले नेपाली भाषामा प्रयोग भएका पछिल्ला शब्दलाई सम्भव भएसम्म सच्याउनु पर्छ ।

सरकार र सञ्चारमाध्यमले सावधानी नअपनाउँदा कोरोना संक्रमणमा भाषिक आक्रमण र संक्रमण नजानिँदो तरिकाबाट हुँदो रहेछ । अन्य भाषाको नेपालीमा अर्थ र शब्दको रोजी नगर्दा गलत भाषा वा शब्दको प्रयोग हुँदो रहेछ । एउटा कुनै खास घटनामा कयौँ नेपाली शब्द हराउने र अंग्रेजी शब्द स्थापित हुने कुराले भाषमा संकट ल्याउन सक्छ ।

गलत भाषा वा शब्दको प्रयोगहुँदा प्रज्ञा प्रतिष्ठान, भाषाविद्, व्याकरणविद् जरुक्क उठ्नु पर्ने हो । सरोकारवाला चुप हुँदा अंग्रेजी भाषाको जथाभावी प्रयोग गर्ने प्रयोग गर्ने अधिकार सरकारी निकाय र सञ्चारमाध्यमलाई भए जस्तो भएको छ । भाषाको खबरदारी आवश्यक भएको छ ।

प्रतिक्रिया दिनुहोस्