Logo
  जेष्ठ ८, २०७९ आईतबार

राजनीतिक संकटको भुमरीमा पाकिस्तान



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावलाई तुहाउँन संसद नै भङ्ग गराइदिएका छन् । संसदमा मतदान गराइएका खण्डमा निश्चित रूपमा पारित हुने ठानिएको सो अविश्वासको प्रस्तावमाथि छलफल र मतदान गराउँन इमरानकै पार्टीका सांसद र सभामुखको कार्यभार सम्हालिरहेका उपसभामुख काशिम सुरीले ठाडै इन्कार गरिदिएका थिए ।

जाहेर छ, उनले प्रम खानको इशारामा सो अवैधानिक कदम चालेका हुन् ।उपसभामुख काशिम सुरीले सो अविश्वासको प्रस्ताव संविधानको धारा ५८ को मर्म विपरीत आएको भन्दै त्यसलाई मतदानमा लैजान इन्कार गरिदिए । त्यसको लगत्तै प्रधानमन्त्री खानले राष्ट्रपति आरिफ अल्वीसमक्ष संसद भङ्ग गरि ताजा जनादेशका लागि चुनावको घोषणा गर्न अनुरोध गरेका थिए ।

प्रम खानको पार्टी तेहरिक-ए-इन्साफकै टिकटमा चुनाव लडी देशको राष्ट्रपति बनेका आरिफ अल्वीले उनको अनुरोधलाई एक मिनेट पनि ढिलो नगरी अनुमोदन गरिदिएका थिए । राष्ट्रपति अल्वीको घोषणा अनुसार अब पाकिस्तानमा आजको मितिदेखि ९० दिनभित्र नेशनल एसेम्ब्ली लगायत अन्य सबै खाले विधायिकाहरूका लागि चुनाव गराइने छ ।

प्रम इमरान खानको यो पछिल्लो राजनीतिक कदमको देशैभरि कडा विरोध भएको छ । पाकिस्तान पिपल्स पार्टी र पाकिस्तानी मुस्लिम लीगजस्ता मुख्य विपक्षी दलका नेताहरूले इमरान खानमाथि व्यक्तिगत लाभहानी हेरेर देशको संविधान र लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको आरोप लगाएका छन् । खानको पार्टीभित्रको असन्तुष्ट समूहका केही नेताहरू पनि उनको विरोधमा खुलेरै देखा परेका छन् ।

खानले चालेको संसद भङ्ग गर्ने यो निर्णय विरुद्ध विपक्षी दलका नेताहरूले सर्वोच्च अदालतमा रिट निवेदन पनि हालेका छन् । विपक्षी नेताहरूका दृष्टिमा इमरान खानले चालेको यो कदमले देशको संविधानको मर्ममा प्रहार गर्दछ त्यसैले यो देशद्रोह नै हो । सर्वोच्च अदालतले पनि यो गम्भीर राजनीतिक मुद्दाको तुरुन्ता तुरुन्त सुनुवाइ शुरू गराएको छ ।

इमरान खानले आफू विरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावलाई विदेशी तागतको षडयन्त्रको उपज भनेका छन् । उनले महाशक्ति राष्ट्र अमेरिकाले आफूलाई अपदस्थ गर्न खोजेको भन्ने आरोप पनि लगाएका छन् । तर उनले लगाएको यो आरोपको पुष्टि गर्ने कुनै ठोस प्रमाण भने दिन सकेका छैनन् । खानले लगाएको यस प्रकारको आधारहीन आरोपले उनको डग्मगाएको आत्मविश्वासको पोल खोलेको छ भन्न सकिन्छ ।

वास्तवमा संसद भङ्ग गरेर उनले आफूलाई एक कमजोर दिमाग मामूली तानाशाहका रूपमा पाकिस्तानी जनताका सामु नङ्ग्याएका छन् । सन् २०१८ को संसदीय चुनावमा उनीमाथि भरोसा र विश्वास गर्दै उनको पार्टी तेहरिक( ए( इन्साफलाई सत्तामा पुर्‍याउँने पाकिस्तानी अवाम (जनता) माथि इमरान खानले गरेको विश्वासघात हो संसद भङ्ग गरेको यो घटना ।

सन् २०१८ को संसदीय चुनाव ताका इमरान खानको चेहरा बेदाग थियो।यिनको बोलीमा एक प्रकारको इमानदारी र दृढता झल्किन्थ्यो । आर्थिक रूपले सम्पन्न व्यक्ति भएकाले यिनले भ्रष्टाचार गर्दैनन् भन्ने कुरामा विश्वास गर्न पाकिस्तानी जनतालाई खासै गार्‍हो पनि थिएन । यिनको अभ्युदय भन्दा धेरै अगाडिदेखि नै पाकिस्तानको राजनीतिक परिदृश्य समस्याग्रस्त रहँदै आएको थियो ।

वास्तवमा त्यो इस्लामिक गणतन्त्र अस्तित्वमा आएका दिनदेखि नै अस्थिरता र अन्यौलको बिज आफूभित्र पालेर राख्दै आएको राष्ट्र हो । त्यसले राष्ट्रिय राजनीतिमाथि फौजीहरूद्वारा गरिएको बारम्बारको हस्तक्षेपलाई बेहोर्दै आएको छ । फौजी तानाशाही र धर्मान्ध अतिवादीहरूका बीचको अपवित्र साँठगाँठले निम्त्याएको बर्बादीको शिकार भएको दुखी राष्ट्र पनि हो पाकिस्तान ।

निकट छिमेकी राष्ट्रहरूसँग सुसम्बन्ध बनाएर पनि राजनीतिमा टिक्न सकिन्छ कि भन्ने कुरामा सन्धान नै गर्न नचाहने नेताहरूको बाहुल्य भएको देश पनि हो पाकिस्तान । रूढाग्रही परम्परा र स्त्रीजातिप्रतिको घृणास्पद हेयभावको व्यापक प्रभावका कारण राष्ट्रको आधा जनसंख्याले मानिस हुनुको अनुभूति नै गर्न नपाउँने विशाल खुल्ला कारागार पनि हो त्यो देश ।

राष्ट्रिय सेना अन्तर्गत र त्यसबाट परिचालित आईएसआई भन्ने जासूसी संस्था प्रधानमन्त्रीको कार्यालय र क्याबिनेटभन्दा पनि कति हो कति गुना बढी शक्तिशाली रहेको देश पनि हो त्यो इस्लामिक गणतन्त्र । यस्ता अप्ठ्यारा र नकारात्मक स्थिति-परिस्थितिमा राष्ट्रिय राजनीतिको फलकमा चम्किलो नक्षत्रझैं देखापरेका इमरानलाई पाकिस्तानी अवामले खुल्ला हृदयले स्वागत गर्नु स्वाभाविकै थियो ।

खेदको विषय, इमरान खानले आफूलाई योग्य राजनेता साबित गर्न सकेनन् । उनले अवामका सामु गरेका कबूलको हेक्का पनि राखेनन् । सबैभन्दा गम्भीर कुरो, उनले भ्रष्ट राजनीतिकर्मीहरू, फौजका ठूला अफिसरहरू, नोकरशाहीका ठूला हाकिम हुक्काम र धर्मका ठेकेदार कठमुल्लाहरूको स्वार्थकेन्द्रित अपवित्र सञ्जाललाई तोड्न सकेनन् ।

भ्रष्टाचारको मूल जरो त्यहीँ गाडिएकोले त्यसलाई नभत्काई लामो समयदेखि कुशासनको दुष्चक्रमा फसेको पाकिस्तानमासुशासनको जग हाल्न लगभग असम्भव थियो।ती पूर्व क्रिक्रेटर त्यही असम्भव स्थितिको शिकार भए ।

इमरान खानले पाकिस्तानको शासन सम्हाल्दा त्यस देशको अर्थव्यवस्था तहसनहस हुने बाटोमा थियो । राष्ट्रको ढुकुटी रित्तिदै जान लागेको थियो भने प्रशासन संयन्त्र विदेशी लगानी मैत्री नभएका कारणले त्यस देशमा लगानी गर्न विदेशका ठूला लगानीकर्ताहरू आउँने सम्भावना ज्यादै कम देखिन्थ्यो ।

आखिरमा भयो पनि त्यस्तै । इमरानले जति धेरै जोड गरे पनि पाकिस्तानले विदेशी लगानी बढाउँन सकेन । शुरूमा इमरानले सरकारी खर्च घटाउँन अनेक जुक्ति लगाएका पनि हुन् तर त्यस देशका सारा राजनीतिक, प्रशासनिक र आर्थिक संयन्त्रहरू यति बेकम्मा भइसकेका थिए इमरानको शैलीका सानातिना सुधारहरूले काम गर्ने अवस्था नै थिएन ।

यो सब देखेपछि नै हुनु पर्दछ, इमरानले पनि लत्तो छोडिदिए र तेस्रो विश्वका अधिकांश असफल नेताहरूले जस्तै जसरी हुन्छ सत्तामा टिकिरहने जुगाड गर्न थाले । आफू विरुद्ध आएको अविश्वासको प्रस्तावबाट भाग्न संसद नै भङ्ग गरिदिने जुक्तिलाई पनि इमरानको पराजित मानसिकताको प्रकटीकरण मान्न सकिन्छ ।

पाकिस्तानको सर्वोच्च अदालतले के निर्णय दिन्छ त्यसले लामो समयदेखि अस्थिर राजनीतिको अखाडा बनेको त्यस देशको भावी दशा र दिशा तय गर्नेछ ।आशा गरौँ, अदालतले संवैधानिक सर्वोच्चतालाई स्थापित गर्नेछ र प्रधानमन्त्री इमरान खानको राजनीतिक हैसियत संसदबाट तय हुनेछ ।

घटनाक्रमले जुन मोड लिए पनि संसद भङ्ग गरेर देशलाई थप राजनीतिक संकटको भुमरीमा जाकिदिएकोमा भने इमरान खानलाई पाकिस्तानी जनताले सराप दिइरहने छन् भन्दा अत्युक्ति हुने छैन । श्रोतः आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्