Logo
  आश्विन १६, २०७९ आईतबार

जापानद्वारा नेपाललाई करिब १६ अर्ब सहयोग



काठमाडौँ, ५ असोज । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुन:स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ ।

यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत व्याजदर रहेको सो सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ ।

नेपालकोतर्फबाट अर्थसचिव कष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा जापानकोतर्फबाट राजदूत किकुता युताका र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले आज अर्थ मन्त्रालयमा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा अर्थसचिव पुष्करले सम्झौताबमोजिमका आयोजना कार्यान्वयनबाट नेपालको सिँचाइ सुविधाको सुधार गर्न तथा विद्युत् आपूर्तिको विश्वसनियता बढाउन तथा प्रसारण चुहावट न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्नेछ भने । नेपालको सामाजिक-आर्थिक एवं मानवसंशाधन विकासमा जापान सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गर्दै उनले दुई देशबीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्