Logo
  श्रावण ३०, २०७९ सोमबार

सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने



इलाम, २१ साउन । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र यात्रु प्रतीक्षालय निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको जानकारी दिए ।

“विमानस्थल उद्घाटन त गरियो तर सुरक्षाको लागि केही पनि नभएकाले यो वर्ष घेराबार गर्ने तयारी छ”, निर्देशक भण्डारीले भने । बजेट पास भएर आएकाले अब दसैँ तिहारपछि काम अगाडि बढ्ने गरी योजना तयार हुँदै गरेको पनि उनले बताए ।

प्राधिकरणले समेत लगानी गर्ने गरी बजेट व्यवस्था गरेपछि बहुवर्षे ठेक्कामा भवन र टावर निर्माण गर्ने साथै घेराबारा गर्ने तयारी छ । यो वर्ष घेराबाराका लागि रु एक करोड र भवनसहित टावर निर्माणमा रु दुई करोड बजेट विनियोजन भएको भण्डारीले जानकारी दिए ।

विमानस्थलको धावनमार्ग दायाँबायाँको कच्ची भागलाई मर्मतसम्भार गरी नालीसमेत सरसफाइ गरिने विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताए ।

ओटासीलको केही भाग चर्किएको र त्यहाँसमेत प्राविधिक परीक्षण गर्दा ठूलो समस्या नदेखिएको निर्देशक भण्डारीको भनाइ छ । हाल सो विमानस्थलको धावन मार्ग चर्किएको छ । भर्नुपर्ने माटो भएकाले केही चर्किएको बताइएको छ । यहाँ ‘अटोमेटिक शिल’ गरेपछि पुनः माटो बस्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्