Logo
  माघ २५, २०७९ बुधबार

जनप्रतिनिधिलाई सुझाव: जागिर खान मात्रै हाे भने किन दाेहाेरिने?



काठमाडौँ, १३ चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरूलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पूरा हुने, नहुने विचार गर्न आग्रह गरेका छन् ।

आइतवार गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आयोजना गरेको गाउँ सभा/नगर सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियासम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरूले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए ।

पदमा दोहोरिने भन्दा पनि आउँदा दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्त्वपूर्ण भएको उनले बताए । जनप्रतिनिधिले किन र केका लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘‘राजनीति गर्ने मान्छे म यो जिम्मेवारीमा जान चाहन्छु भन्ने हुन्छ । कर्मचारी पनि माथिल्लो जिम्मेवारीमा जान चाहन्छु या कुनै क्षेत्रमा जान चाहने एउटा कुरा हो । चाहना हुन्छ जागिर खाएर केही गरौँ भन्ने । तर त्यो सँगसँगै त्यतिमात्रैमा सीमित रहेर यो देशको आवश्यकता, आम नागरिकको आवश्यकता पूरा हुँदैन कि? मेरो विनम्र अनुरोध छ, यहाँहरू दोहोरिन चाहनुहुन्छ, केका लागि? एक पटक मैले अहिले अनुभव गरेँ । तर मैले गर्ने काम बाँकी रहे । म यो समाजलाई, मेरो पालिकालाई यस्तो बनाउँछु भन्छु अठोट गर्ने कि नगर्ने? नत्र के अर्थ हुन्छ दोहोरिएर?’

अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए । आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरूको जीवनस्तर उकास्नका लागि नेताहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्