रुकुम (पूर्व), २८ फागुन । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय गरिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा बिहीबार फेला परेका सकेट बम आज शुक्रबार दिउँसो सेनाले निष्क्रिय गरेको हो ।
ड्रमबाहिर दुई वटा र ड्रमभित्र अनुमानित आठ गरी करिब १० वटा सकेट बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो । शुक्रबार बिहान जिल्लाबाट गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमलाई निष्क्रिय गरेका हुन् ।
दस वर्षे सशस्त्र जनयुद्ध क्रममा तत्कालीन नेकपा माओवादीका लडाकुले उक्त सकेट बम युद्धकालमा त्यहाँ छोडेको हुन सक्ने वडाध्यक्ष केसीले बताए । सेनानी बाबुलाल जिसी नेतृत्वको ११ को टोलीले बम निष्क्रिय गरेको प्रहरीले जनाएको छ । निष्क्रिय गर्दा ठूलो आवाजमा बम पड्किएको थियो । दुई चरणमा गरी सबै बम निष्क्रिय गरिएको हो ।