Logo

छिटो पासपाेर्ट बनाइदिने भन्दै ठग्ने र सरकारी छाप किर्ते गर्ने पक्राउ



काठमाडौँ, २ चैत । छिटो राहदानी(पासपोर्ट) बनाइदिने भन्दै सेवाग्राही ठग्ने र सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ परेका छन् ।

राहदानी विभाग त्रिपुरेश्वरमा राहदानी बनाउन लाइन बसेका सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै रकम लिइरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको माडीका अमृत थापा र प्रज्वल खड्का, बाग्लुङका रञ्जित कार्की, म्याग्दीका रामजी परियार, ललितपुरका गोमा बजगाइँ र रमेश बजगाइँ, रामेछापका रिठे मगर, पाल्पाका जीवनकुमार श्रेष्ठ, काभ्रेका सन्दीप मैनाली, सिन्धुलीका अभिषेक मगर, दैलेखका निरञ्जन तिवारी र धादिङका मदन तामाङ रहेका छन् ।

उनीहरूले प्रहरी चारित्रिक प्रमाणपत्र, कोरोनाविरुद्धको खोप लगाएको कार्ड र विद्युतीय राहदानी फारममा नक्कली सरकारी छाप बनाएर किर्ते गरेको प्रहरीले जनाएको छ ।

राहदानीको कामलाई सरकारले व्यवस्थित र छिटो छरितो गर्न नसक्दा दैनिक हजारौँले सास्ती भोग्दै आएका छन् । सरकारी कमजोरीको फाइदा उठाउँदै ठगहरू सक्रिय भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्