Logo

सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने मन्त्री भुसालकाे घाेषणा



काठमाडौँ, ४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने घोषणा गरेकी छन् ।

मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने लक्ष्य लिएको बताइन् ।

शुक्रवारदेखि काठमाडौँमा सुरु भएको नेपाल हस्तकला महासङ्घको ४१ औँ वार्षिक साधारण सभामा बोल्दै उनले भनिन्, ‘कृषिमा आत्मनिर्भर बन्नका लागि गएको मङ्सिर १ गतेदेखि सिँचाइमा खपत हुने बिजुलीको मूल्य ५० प्रतिशतले घटाएको छ । मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउने रहेको छ ।’

कार्यक्रममा मन्त्री भुसालले नेपालमा उत्पादित हुने वस्तुहरू आयात नगर्न पनि व्यवसायीहरूलाई आग्रह गरिन् । उनले नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरू आयात गर्ने काम व्यवसायीहरूले गर्न नहुने धारणा राखिन् । उद्योगीहरूले देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउने खालका वस्तुहरूको उत्पादन र बिक्रीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्