Logo

लेटाङको अवस्था सामान्य बन्दै



फाइल तस्बिर

मोरङ, ८ चैत । मोरङको लेटाङको अवस्था सामान्य बन्दै गएको छ । लेटाङमा सोमबार बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ ।

स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अर्को आदेश नभएसम्मका लागि लेटाङमा कर्फ्यु लगाइएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अवस्था अहिलेको जस्तै सामान्य रहिरहे कर्फ्युलाई खुकुलो बनाउँदै लैजाने बताए । उनकाअनुसार घटनाको अनुसन्धानका गर्नका लागि २२ जनालाई पक्राउ गरिएको छ । तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो ।

आइतवार लेटाङ-५ को खेरुवामा रहेको विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो । गएको शुक्रवार होलीको दिन विद्यालयका शिक्षक मनोज पौडेलले एक छात्रालाई यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो ।

झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका थिए । यसअघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्