Logo
  मंसिर २०, २०७९ मंगलबार

एमाले प्रवेश गर्ने लहर चलेको छ: ओली



विराटनगर, १५ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रस्ट पारेका हुन् ।

अध्यक्ष ओलीले भने, “निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन, म्याराथन दौडिने पार्टी हो ।”

उनले ‘यो ढोडको लौरो टेक्ने पार्टी होइन, आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी’ भएकाले आसन्न निर्वाचनमा बहुमत ल्याउने जिकिर गरेका थिए ।

अध्यक्ष ओलीले एमालेको एजेन्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा केही सिटमा अरू विचार मिल्ने पार्टीसँग सहमति कायम हुने सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्