Logo
  माघ २२, २०७९ आईतबार

सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहीवार पनि हेर्दाहेर्दैमा



काठमाडौँ, १७ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधवारदेखि जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् ।

शुक्रवार पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलहरूले बहस गर्नेछन् ।

आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन् । उनले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरेकी थिइन् ।

उनले भन्नि, ‘हामीले पुरानै प्रमाणहरू पेस गर्‍यौँ । पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्ने कुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज, उनको संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट नाबालिग होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ ।’

सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस सुरु भए पनि क्रिकेटर लामिछाने पक्षबाट कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।

प्रतिक्रिया दिनुहोस्