Logo

आज २०७९ वैशाख ३ गतेको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नुहोला । छटपटी र असन्तुष्टि बढ्नसक्ने समय हो, मानसिक र शारीरिक शक्तिमा कमी आउने छ, सानो भुलचुकका कारण हातैमा आएको अवसर पनि उम्कन सक्छ । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

एकअर्काको मनोभाव बुझी काम गर्नसके आपसी सम्बन्धमा बढी प्रगाढता छाउने छ । आफ्ना असन्तुष्टि र निराशाका बारेमा खुलेर छलफल गर्नु राम्रो हुन्छ । सन्तान वा भाइबहिनीको करियर सम्बन्धी कुनै समस्या आइपरेमा विशेष व्यक्तिबाट उचित सल्लाह र सहयोग मिल्नेछ, जसबाट तपाईको तनाव पनि हट्नसक्छ । युवाहरू आफ्नो करियरमा केन्द्रित हुनेछन् । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराश हुनुपर्छ, सचेत हुनुपर्छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुहोला । करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । अल्छी गरेर बस्ने हुँदा व्यक्तित्वमा आँच आउने वा भविष्यमा धोका हुनसक्ने दिन छ । सँगीसाथीसँग अलमलिंदा वा आफ्नै काममा व्यस्त रहनाले भेटघाटको अनुकूलता मिल्दैन, तर यथासम्भव तालमेल मिलाउनु राम्रो हुन्छ । सम्पत्ति लगायतका काममा आउने बाधा हट्नेछ । कुनै उदारमना वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुने परिस्थिति छ । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्नेछन् । आजको प्रयासले भाग्य र भविष्य सपार्ने समय हो । बोलीमा विशेष बल देखिन्छ । अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल बन्न सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

प्राय: सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनुपर्ने हुन्छ । उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्नसक्छ, सचेत हुनुपर्छ । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मन भावुक र चञ्चल बन्नसक्छ, दिनभरि कार्यक्षेत्रमा व्यस्त हुनुपर्ने भएकाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन छ । गरिआएको काम वा व्यापारिक गतिविधिमा कुनै पनि प्रकारको परिवर्तन ल्याउने प्रयास नगर्नुहोस्, वर्तमान परिस्थितिमा मात्र ध्यान दिनु बेस हुनेछ । दौडधूप गर्ने काम वा मार्केटिङमा राम्रो छ, अरूको जिम्मामा काम छाड्नुभन्दा पनि आफ्नो उपस्थितिलाई प्राथमिकता दिनुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने, प्रशासनिक तौरतरिका बुझ्ने र प्रयास गर्ने समय आएको छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

जस्तै बाधाअड्चन र विघ्न पनि दूर गरी अघि बढ्ने समय हो, विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नुपर्ने दिन छ । कार्यक्षेत्र वा व्यवसायबाट पनि सामान्यतया लाभ नै हुनेछ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो मिहिनेत गर्ने दिन हो, अन्त्यसम्म व्यस्त रहनु पर्नेछ । सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

प्रतिकूल परिस्थिति भए पनि अचानक अनुभवी र जानकार व्यक्तिको सहयोग मिल्नेछ र समस्या समाधान गर्न मद्दत पुग्नेछ । इष्टमित्र र आफन्तसँग भेटघाट र उठबस हुनसक्ने समय हो । जग्गाजमिन, निर्माण सामाग्री, खनिज र काष्ठ व्यवसायीले लाभ पाउने समय हो, कारोबारका अतिरिक्त धार्मिक/पारम्परिक काममा संलग्न हुने दिन हो । घरपरिवारका सदस्यहरुसँग पूर्ण समय हर्षोल्लासका साथमा बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो ।  मित्र र सहयोगीले बाचा पूरा गर्ने छैनन् र एैनमौकामा बन्नै लागेको काम बिग्रने सम्भावनासमेत देखिन्छ । त्यसैले कार्यक्षेत्रमा आफैं तन्मय भएर खट्नु बेस हुनेछ । कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ  ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

उपहार, चिट्ठा, पुरस्कार आदिबाट धनमाल प्राप्त हुने समय छ । भावनात्मक क्रियाकलापमा पनि आजको समय व्यतीत हुनेछ । आनन्द, मौजमज्जा र रमझमको तिर्सना जाग्नेछ । मन हलुका र शरीर तन्दुरुस्त रहने दिन हो, तर रामरमाइलो त्यागेर आफ्नो काम र प्राथमिकताउपर ध्यान दिनुहोला । कामकाजको चाप र घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन छ ।

प्रतिक्रिया दिनुहोस्