Logo

निर्वाचन सफल बनाउन प्रजिअ दाहालको निर्देशन



मोरङ, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित भएर मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भएको छ ।

बैठकमा निर्वाचन आचारसंहिता तथा मतदातादेखि राष्ट्रसेवक कर्मचारीहरूले पनि पालना गर्नुपर्ने भएकाले सबैले आचारसंहिता पालना गर्नुपर्ने, मतदान स्थल वा केन्द्रमा खानेपानी, विद्युत्, सुरक्षाका निम्ति घेरबेरा, सीसी क्यामेरा, शौचालय एवं फर्निचरको उचित प्रबन्ध मिलाउनुपर्ने र यसका लागि प्रशासकीय अधिकृतहरूले सहयोग गर्नुपर्ने, निर्वाचनमा खटिने सवारी साधनहरू दुरुस्त बनाएर राख्नुपर्ने, केही दुःख गरेर भए पनि निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रसेवक कर्मचारीहरू तयार रहनुपर्ने, जटिल अवस्थामा रहेका मतदान स्थललाई सहज बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी दाहालबाट निर्देशन भएको छ ।

उनले निर्देशनको क्रममा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको सबै प्रबन्ध मिलाएको जानकारी दिँदै कुनै पनि बहानामा निर्वाचनमा अवरोध हुने किसिमको गतिविधि सह्य नहुने बताए । उनले सुरक्षा निकायसहितको टोलीले मोरङको प्रत्येक निर्वाचन केन्द्र र मतदान स्थल अनुगमन गरिरहेको प्रसङ्ग उल्लेख गर्दै अनुगमनका क्रममा कुनै त्रुटि वा समस्या देखिएमा तुरुन्त प्रशासकीय अधिकृतले समाधान गर्नुपर्ने थप निर्देशन दिए ।

सो अवरमा जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृत भरत लाम्सालले निर्वाचनलाई सहज वातावरणमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले सबै तिर निर्वाचनको वातावरण तयार भइरहेको अवस्थामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा तुरुन्त सूचना दिन आग्रह गरेका थिए ।

विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत उमेश बस्नेतले विराटनगर क्षेत्रभरिमा हुने निर्वाचनका लागि तोकिएको मतदान स्थलमा आफू पनि अनुगमन गर्ने र तत्काल गर्नुपर्ने आवश्यकता देखिएमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

केराबारी गाउँपालिकाका प्रशासकीय अधिकृत भरतकुमार न्यौपानेले आफ्ना पालिकामा निर्वाचनमा कुनै पनि समस्या आउन नदिन चनाखो भएर काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्